रकेटले लाग्ला कि भन्‍ने डर छ इजरायल ताजा अवस्थाः राजदूत शाक्य [अन्तर्वार्ता]

प्यालेस्टाइनको गाजा क्षेत्रबाट हमास समूहले सोमबार राति इजरायलका विभिन्न सहरमा रकेट आक्रमण गरेपछि दुई मुलुक बीच द्वन्द्व बढेको छ । प्यालेस्टाइनविरुद्ध इजरायलले पनि कडा प्रतिक्रिया दिइरहेको छ । जसको कारणले गर्दा दुवैतर्फ मानवीय क्षति भएका छन् । दुई मुलुक बीचको द्वन्द्वका कारण इजरायलमा रहेका नेपालीहरुलाई अहिले दिनरात बिताउन गाह्रो भइरहेको छ ।

इजरायलका लागि नेपालकी राजदूत अन्जान शाक्यसँग अहिले दुई मुलुकबीच भइरहेको द्वन्द्व, इजरायलमा रहेका नेपालीको अवस्था र त्यहाँ भइरहेका स्थलगत घटनाबारे  जगदीश्वर पाण्डेले टेलिफोनमार्फत लिएको अन्तरवार्ताको सम्पादित अंश :

अहिले यहाँको अवस्था कस्तो छ ?

गाजा क्षेत्रबाट आएको रकेटले लाग्ला कि भन्ने डर छ । हमासले एकपछि अर्को गर्दै फालेको रकेटहरुलाई आइरन डोम (विपक्षीले प्रहार गरेको रकेटलाई माथि आकाशमै निस्क्रिय पारेर त्यसलाई धूलो बनाइने प्रविधि) ले निस्तेज पारिरहेको छ । तर त्यसबाट समेत चिप्लिएर जमिनमा खसेका रकेटका कारण अवस्था डरलाग्दो छ । यहाँ मैले सुनेअनुसार सन् २००० पछि पहिलो पटक हमासले यसरी लगातार रुपमा आक्रमण गरेको हो । त्यस बीचमा पनि गाजा क्षेत्रमा आक्रमण भएका थिए, तर इजरायलको दक्षिणी भेगमा मात्र यसले केही आक्रमण हुन्थ्यो । किनकि उक्त क्षेत्र गाजा नजिक थियो । तर यस पटक इजरायलका हरेक सहरमा आक्रमण भइरहेका छन् । सरकारको निर्देशनअनुसार घरमा बस्दा झ्यालका ढोकाहरु लगाएर बसिरहेका छौं । र, आवश्यक पर्नेबित्तिकै हामी बंकरमा गइहाल्छौं । इजरायलमा पहिलेदेखि नै लडाइँ भइरहेकोले यहाँ हरेक घरमा बंकर छन् । भवनको बनोटमा अरुले आक्रमण गर्दा समेत बच्ने किसिमले बनाइएको छ । नेपाली, इजरायली, विदेशी सम्पूर्ण नागरिकमा अहिले डरै–डर छ । किनकि कसको माथि कहिले आएर रकेट खस्छ भन्ने यकिन नै छैन । त्यसमाथि पनि आएका रकेडलाई आइरन डोमले निस्तेज पार्दा जमिनमा ठूलो भूकम्प आएजस्तै गरी भवननै हल्लिन्छ ।

गाजा क्षेत्रबाट हमासले इजरायलमा पहिलो पटक आक्रमण गर्दा सोमबार राति के गरिरहनु भएको थियो ? नेपालीहरुको अवस्था कस्तो छ ?

सोमबार राति आराम गरिरहेको बेलामा एक्कासी आफ्नै टाउको माथि केही आएर खसेको जस्तो भयो । निकै डर लाग्यो । त्यसपछि एकपछि अर्को गर्दै आवाज आउन थाले । त्यसपछि हामी बंकरमा छिर्‍यौ । लगत्तै मैले राजदूतावासका सम्पूर्ण सदस्यहरुको वाट्सएपमा ग्रुप बनाएर सबैको अवस्थाबारे बुझेँ । त्यसपछि इजरायलमा भएका सम्पूर्ण नेपालीहरुको अवस्था बुझ्नका लागि त्यहाँ रहेका संघ–संगठन र अन्य व्यक्तिहरुलाई सम्पर्क गरेँ । इजरायलमा अहिले २७ हजार कियरगिभर, ५०० जना कृषिमा पढ्न आएका र करिब १३ जना पीएचडी गर्न आएका नेपालीहरु छन् । उनीहरु पढ्ने विश्वविद्यालयमा सम्पर्क गरेर पनि उनीहरुको अवस्था बुझेँ । सम्पूर्ण नेपाली सुरक्षित रहेछन् ।दूतावासले साइरन बज्नासाथ घरभित्र भए भने बंकर, भर्‍याङ वा त्यस्तै सुरक्षित क्षेत्रमा जान, झ्याल नजिक नजान, यदि घरबाहिर बजार, सडक, फार्म वा अन्यत्र कतै भए भने पनि नजिकैको बंकरमा पुगिहाल्ने गरेको थियो । मंगलबार झ्यालमै बसेकी भारतीय एक नर्सको रकेटले लागेर दुर्घटना भएको थियो । त्यसैले झ्याल लगाएर बस्नको लागि जोड दिइएको हो ।

आफू भएको स्थानमा सुरक्षित हुने उपाय अपनाउन र कुनै समस्या परेमा दूतावास वा आफ्नो साथीभाइ वा इजरायलमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न समेत भनेका छौं । अहिले पनि रकेटहरु आइरहेकोले स्थिति डरलाग्दो नै छ । आइरन डोमले आएकामध्ये शक्तिशाली रकेटलाई पहिला निस्क्रिय पार्नेरहेछ । त्यसपछि खाली जमिनमा पुग्ने र पानीमा पुग्ने रकेटलाई पनि आइरन डोमले प्राथमिकतामा राख्दोरहेनछ । किनकि खाली स्थानमा पुग्दा मानवीय क्षति नहुने कारणले गर्दा उक्त प्रविधिलाई त्यहीअनुसार सेट गरिएको रहेछ ।

डरका कारण कुनै पनि मुलुकका प्रतिनिधिहरुले इजरायल छाडेका त छैनन् ?

छैनन् । अन्य देशका नागरिकहरु पनि इजरायलमै छन् । इजरायलले यसअघि कोरोना भाइरसको संक्रमण हुँदा पनि यहाँ रहेका सम्पूर्ण विदेशी नागरिकहरुलाई इजरायली जनताजस्तै गरी ट्रिट गरेको थियो । खोप पनि त्यही आधारमा निःशुल्क लगाइदियो । अहिले पनि इजरायल सरकारले सम्पूर्ण नागरिकलाई आफ्नो नागरिकलाई जस्तैगरी सुरक्षित राख्ने वाचा गरेको छ । त्यही भएर कुनै पनि मुलुकका नागरिक वा प्रतिनिधिले देश छाडेका छैनन् ।

त्यसोभए नेपालीहरुले पनि इजरायल छाड्नु नै पर्ने अवस्था आएको छैन ?

छैन । सबै नेपालीहरु सुरक्षित छन् । इजरायलले सुरक्षा दिन्छु नै भनेको छ । त्यसैले पनि सुरक्षित रहनेमा विश्वस्त छौं । त्यहाँको अवस्थाको बारेमा मैले परराष्ट्र मन्त्रालयमा पनि जानकारी दिइरहेको छु । समन्वय गरेर काम पनि भइरहेका छन् ।

परराष्ट्र मन्त्रालयले इजरायल र प्यालेस्टाइनको समस्यालाई लिएर शान्तिपूर्ण वार्ता गरे भन्ने भनाइ बाहिर ल्याएको थियो । त्यहाँबाट अहिलेको घटनालाई कसरी हेर्नु हुन्छ ?

नेपालको चाहना इजरायल र प्लेस्टाइन बीचमा युद्धविराम होस् । कतै पनि मानवीय क्षति नहोस् भन्ने हो । हमासले आक्रमण गरेपछि त्यो क्षेत्रबाट केन्द्रविन्दु बनाएर इजरायलले पनि प्रतिकार गरिरहेको छ । हामी शान्ति चाहन्छौं । दुवै मिलेर शान्तिपूर्ण बाटो अपनाउन् भन्ने मेरो विचार हो । किनकि यहाँ इजरायली र प्यालेस्टनीहरु मिलेर काम गरेको मैले देखेको छु । दुवै मुलुकका नयाँपुस्ताहरु अब युद्ध होइन, शान्तिपूर्ण रुपमा अघि बढ्नु पर्छ भनिरहेका छन् ।

अहिले त्यहाँको दैनिक कस्तो चलिरहेको छ ?

आकाशमा एकपछि अर्को गर्दै रकेट आइरहेका हुन्छन् । आइरन डोमले त्यसलाई निस्तेज पार्दा भूकम्पजस्तै गरी तल हल्लिन्छ र ठूलो आवाज आइरहेको छ । शान्तसँग बस्न, सुत्न र यात्रा गर्न पनि सहज छैन । म बसेको स्थानबाट राजदूतावास पुग्न करिब ३५ मिनेट लाग्छ, त्यो अवधिमै केही हुन्छ कि भन्ने डर पनि हुन्छ । हाम्रो केयरगिभरहरु अधिकांश घरमै काम गर्न आएका कारणले उनीहरु सुरक्षित अवस्थामा छन् । बाहिर काम गर्ने र हिँड्डुल गर्नेलाई बढी डर हुन्छ ।

fromekantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *