युरोपमा श्रम सम्झौता बढाउँदै सरकार

काठमाडौं– मलेसिया र खाडी क्षेत्रका विभिन्न मुलुकसँग श्रमसम्झौता गरेको सरकारको ध्यान पछिल्लो समय युरोपेली मुलुक पर्न थालेका छन् । गत शुक्रबार रोमानियासँग श्रमसम्झौता गरेको सरकारले आगामी आइतबार अर्को युरोपेली मुलुक जर्मनीसँग गर्ने तयारी गरेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले आगामी आइतबार जर्मनीसँग श्रमसम्झौता गर्ने सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । ‘नेपाल र जर्मनीसँग आइतबार श्रमसम्झौता गर्ने गरी सम्पूर्ण तयारी गरिएको छ,’ घिमिरेले कारबोबारसँग भने, ‘नेपाली श्रमिकका लागि यो अर्को युरोपेली गन्तव्य हुनेछ ।’

जर्मनीमा निजी क्षेत्रले नेपाली श्रमिक पठाउने गरी सम्झौता हुनेछैन, सरकारी माध्यमबाट कामदार पठाउने गरी सम्झौता हुनेछ । ‘जर्मनीले निजी क्षेत्रबाट कामदार नलिने जनाएपछि जिटुजीमार्फत पठाउने गरी सम्झौता गर्ने तयारी गरिएको छ,’ प्रवक्ता घिमिरेले भने, ‘जर्मनीले कामदार छनोट र भर्नाका सबै प्रक्रिया अनलाइनबाट गर्नुपर्ने शर्त राखेका कारण सोहीअनुसार सम्झौता हुनेछ ।’

यसैगरी सरकारले यूरोपका अन्य मुलुक पोर्चुगल र फ्रान्ससँग पनि श्रमसम्झौता गर्ने तयारी गरेको छ । दुवै मुलुकसँग सम्झौता गर्न गृहकार्य भइरहेको छ । पोर्चुगल र फ्रान्समा कुन मोडालिटी अनुसार कामदार पठाउने भन्ने तय भइसकेको छैन । फ्रान्सको तुलनामा पोर्चुगल जाने नेपालीको संख्या बढी छ । निजी क्षेत्रले पोर्चुगलमा आफ्नै तरिकाले युवा पठाइरहेका छन् । यही कारण श्रमसम्झौताका लागि पोर्चुगललाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ । नेपालले हालैमात्र यूरोपियन यूनियनबाट अलग्गिएको यूकेमा नेपाली नर्स पठाउने सम्बन्धमा सम्झौता गरेको थियो ।

अहिलेसम्म सरकारले एक दर्जन मुलुकसँग श्रम समझदारी र सम्झौता गरेको छ । जबकी वैदैशिक रोजगारीका लागि करिब डेढ सय मुलुक खुला गरेको छ । नेपालबाट वैदेशिक रोजगारीका लागि यूरोपियन देशहरुमा जान युवा आकर्षित देखिन्छन् भने पछिल्ला दिनहरुमा त्यसतर्फ जानेको संख्या पनि बढेकोे छ । मलेसिया र खाडी मुलुकको तुलनामा हावापानीदेखि तलब र अन्य सेवासुविधा पनि युरोपका देशहरुमा बढी पाइन्छ । यही कारण यसतर्फ युवाको आकर्षण बढेको हो ।

युरोपियन मुलुकहरुमा नेपाली बढी जान थालेपछि वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सरकारले ती देशहरुसँग श्रमसम्झौता गर्ने तयारी गरेको हो । रोमानियासँग भने नेपालले शुक्रबार श्रमसम्झौता गरेको थियो । रोमानियसँगको सम्झौतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र रोमानियाका श्रम तथा सामाजिक ऐक्यबद्धता मन्त्री सिमोना बुकुरा–ओप्रेस्कुले हस्ताक्षर गरेका छन् ।

यसअघि उच्चस्तरीय द्विपक्षीय भेटवार्तापछि एमओयूमा हस्ताक्षर भएको हो । सम्झौतामा नेपाल–रोमानिया द्विपक्षीय सम्बन्ध, श्रम आप्रवासन, कानुनी आप्रवासनप्रति प्रतिबद्धता, कामदारको कल्याणकारी व्यवस्था, मर्यादित काम, सुरक्षा, र व्यावसायिक प्रशिक्षणका विषय उल्लेख गरिएको छ । रोमानियामा नेपालीलाई कानुनी रूपमा रोमानियाली नागरिक सरह समान अधिकारको प्रत्याभूति हुने उल्लेख छ । रोमानियाले विशेषगरी निर्माण, सेवा, आतिथ्य र कृषिको क्षेत्रमा नेपालीलाई रोजगारीमा प्राथमिकता दिने जनाएको छ ।

रोमानियामा हाल १५ हजार ५९० नेपाली कामदार कार्यरत रहेको मन्त्रालयले जनाएको छ । यो संख्या त्यहा रहेका गैर यूरोपियन देशका विदेशी श्रमिक बाहेक दोस्रो ठूलो संख्या हो । सम्झौताका क्रममा रोमानियाका निजी क्षेत्रमा कार्यरत नेपाली कामदारले भोग्नुपरेका समस्याका बारेमा छलफल भएको थियो । गत वर्ष रोजगारीका लागि रोमानिया जान १३ हजार १३७ नेपालीले श्रमस्वीकृति लिएको वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यसैगरी गत वर्ष जर्मनी जान ५१ जनाले श्रमस्वीकृति लिएका थिए । पछिल्लो समय वैदेशिक रोजगारीका लागि यूरोपका विभिन्न मुलुक जाने नेपालीको संख्या वृद्धि हुँदै गएको छ ।

आव २०७३–७४ मा तत्कालिन केपी ओली सरकारले उपत्यकाका औद्योगिक क्षेत्र हटाउने योजना ल्याएको थियो । अहिलेसम्म बालाजु, पाटन र भक्तपुर गरी ३ औद्योगिक क्षेत्र सञ्चालनमै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *