संक्रमण फैलिएपछि युरोपका सबै नेपाली दूतावास बन्द गरिएका छन् । कर्मचारी नै संक्रमित हुन सक्ने त्रासले नेपाली दूतावास बन्द गरेर अत्यावश्यक सेवा टेलिवर्क (इन्टरनेट, टेलिफोन मार्फत) दिन थालिएको छ ।
दूतावास आउने सेवाग्राही र आफ्नै कर्मचारी पनि संक्रमित हुन सक्ने त्रासले दूतावास बन्द गरी टेलिवर्क थालेको पेरिसस्थित नेपाली दूतावासका राजदूत दीपक धितालले बताए । ‘एक जनामा मात्र संक्रमण देखियो भने पनि सबैलाई अनिवार्य क्वारेन्टाइनमा राख्छ जसले गर्दा परिवारले त दुःख पाउँछन् नै आपत्कालीन सेवा दिने कोही कर्मचारी पनि दूतावासमा हुने छैनन् । त्यस्तो अवस्था सिर्जना नहोस् भनेर टेलिवर्क थालेका छौं,’ उनले बताए ।
युरोपमा अवैध (बिनाभिसा) बसेका नेपाली कोरोना भाइरस (कोभिड–१९)को बढ्दो संक्रमणले संकटमा परेका छन्। पोर्चुगलमा एक नेपालीलाई कोरोना संक्रमणको पुष्टि भएपछि युरोपका नेपाली आतंकित भएका छन्।
अध्ययन गर्न गएका तथा वैधानिक रूपमा काम गर्ने नेपालीलाई त्यहाँको सरकारले कामबराबरको रकम उपलब्ध गराएको हुनाले दैनिकीमा समस्या छैन। जो अवैध छन् उनीहरूको हकमा भने समस्या हुने देखिएको छ। पोर्चुगल र स्पेनमा नेपाली अवैध रूपमा बसोबास गर्दै आएका छन्। त्यहाँ सजिलै वैधानिक हुन सकिने हुनाले त्यस्ता नेपालीको संख्या ती दुई मुलुकमा बढी छन्। त्यहाँ कागज बनाएर अन्य मुलुक पुग्ने गर्छन्। अन्य युरोपेली मुलुकमा पनि केही न केही नेपाली ओभरस्टे (भिसाबाहेक) बस्दै आएका छन्। उनीहरू बढी चिन्तित रहेको नेपाली दूतावासको अनुमान छ।
युरोपमा हजारौंको संख्यामा नेपाली अवैध बसोबास गरिरहेका छन्। युरोपमा रहेका राजदूतका अनुसार नेपालीमा महामारी भएको जानकारी आएको छैन। ‘नेपालीसँग कुनै न कुनै माध्यमले जोडिएका छौं’, फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले मंगलबार टेलिफोनमा भने, ‘पोर्चुगलको फारवामा एक नेपालीलाई संक्रमण भएको र त्यहाँ ४०–४५ नेपालीलाई क्वारेन्टाइनमा राखिएको जानकारी आएको छ।’