यस्तो छ देउवा र दाहालले एमसीसीका अध्यक्षलाई लेखेको चिट्ठी (नेपाली अनुवाद)

 

अमेरिकासँग चार वर्षअघि भएको अनुदान सम्झौता (एमसीसी) पारित गर्ने हस्ताक्षरसहितको प्रतिबद्धतापत्र सार्वजनिक भएपछि अमेरिकालाई सँधै ‘साम्राज्यवादी’ देख्ने माओवादी ‘मुकुन्डो’ उत्रिएको छ । एमसीसी पारित गर्ने विषयमा सत्तामा हुँदा सबथोक गरिरहेको र प्रतिपक्षी बनेपछि सडक तताइरहेको एमाले पनि ‘लुसुक्क बालुवाटारमा प्रकट’ भएको छ ।

एमसीसी पारित गर्ने विषयमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षरसहितको पत्र सार्वजनिक भएसँगै कम्युनिष्टको मुकुन्डो उत्रिएको हो ।


पछिल्लो समय प्रचण्डले देउवासँग एमसीसी पारित गर्न सघाउँछु भनेपनि बाहिर भने चर्को विरोध गरिरहेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एमसीसी पारित गर्न संसद्मा दर्ता गराएपनि विपक्षमा पुगेपछि मौनता साँधे ।

नेकपा माओवादी केन्द्रले आठौँ महाधिवेशनबाट ‘एमसीसी खारेज गर्ने प्रस्ताव’ नै पारित गरेको थियो । एमसीसीका नाममा नेपालमा अमेरिकी सेना ल्याएर चीनविरुद्ध रणमैदान बनाउन लागिएको भ्रम माओवादी नेताहरुले छर्दै आएका छन् ।

खासगरी माओवादीमा पनि सैद्धान्तिक रुपमा ‘चीनप्रति नरम, अमेरिकाप्रति गरम’धारका नेताहरु एमसीसीको चर्को विरोधमा देखिन्छन् । माओवादी केन्द्रका नेता देव गुरुङले केही दिनअघि यो पंक्तिकारसँग भनेका थिए, ‘हाम्रो महाधिवेशन बैठकले एमसीसी खारेज गर्ने निर्णय गरिसकेको छ । अध्यक्षले कहाँ, कसलाई के भन्नु भयो भन्ने कुराले अर्थ राख्दैन ।’

नेता गुरुङ एमसीसी पारित गर्न कांग्रेस अग्रसर हुनुलाई ‘दलाल’ विचारधारा भन्थे । एमसीसीका कारण गठबन्धन फुट्न सक्ने भन्दै उनले संशोधनबिना एमसीसी पारित गर्नै नमिल्ने बताउँदै आएका थिए । खासगरी अध्यक्ष प्रचण्डको एमसीसी पारित गर्ने विषयमा नरम भएको प्रश्न खस्न नपाउँदै गुरुङ जस्ता नेता बम्किहाल्थे ।

केही समयअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनविरुद्धको सडक प्रदर्शनका क्रममा पुल्चोकमा आफ्नै कार्यकर्ताले ‘एमसीसी खारेज गरौँ’ भन्ने नारा लगाउँदा प्रचण्डले रोकेका थिए । जुन भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

खासगरी प्रचण्डले एमसीसीको विषयमा आफूभन्दा आफ्ना कार्यकर्तालाई उचालिरहेको तथ्य पनि सतहमा आएको छ । एमसीसीलाई पठाएको प्रमाणले त्यही पुष्टि गर्छ ।

ओली लुसुक्क बालुवाटारमा !

दोस्रो पटकसमेत संसद विघटन गरेपछि सर्वोच्चको आदेशपछि बालुवाटारबाट बिदा भएका एमाले अध्यक्ष केपी शर्मा ओली ‘लुसुक्क’ बालुवाटार पुगेका छन् । ओली सत्ता छाडेपछि सात महिनापछि पहिलोपटक बालुवाटार पुगेका हुन् ।

सर्वोच्चले संसद विघटन बदर गरेर प्रतिगमन खारेज गरेपनि ओलीको ‘दम्भ’ भने कायमै थियो । एमसीसीका विषयमा माओवादी अध्यक्ष प्रचण्डसँग विमति चर्किएपछि केही समयअघि प्रधानमन्त्री देउवा आफैँ बालकोट पुगेका थिए ।

त्यसबेला सम्भावित सत्ता समीकरण र एमसीसीका विषयमा गम्भीर छलफल भएको अनुमान चलेको थियो । तर वास्तविकता सतहमा आएको थिएन । आइतबार देउवा र दाहालको हस्ताक्षरसहितको एमसीसीलाई लेखेको प्रतिबद्धतापत्र सञ्चारमाध्यममा प्रकाशित भएपछि ओली बालुवाटार पुगेका हुन् । ओली, महासचिव शंकर पोखरेलका साथ बालुवाटार पुगेका हुन् ।

यो पत्र बाहिरिएपछि माओवादी अध्यक्ष प्रचण्डको मुखुण्डो उघ्रिदा कांग्रेस र एमालेबीच सत्ता साझेदारी हुन सक्ने आँकलन गरिएको छ । बाहिर चर्कोसँग विरोध गर्दै एमसीसी पारित गर्न सरकारलाई नसघाएपछि देउवा पनि दाहालसँग चिढिएका थिए ।

चुनावको मुखमा प्रचण्डलाई संकट 

देउवासँगै हस्ताक्षर गरेको पत्र नै बाहिरिएपछि माओवादी अध्यक्ष प्रचण्डलाई ‘फेस सेभिङ’ गर्नै सकस देखिएको छ । उनले यस विषयमा प्रधानमन्त्री देउवासँग टेलिफोन गरेरै गुनासो पोखेका छन् ।

तर वास्तविकता खुल्न अझै बाँकी छ । यसअघि स्थानीय तहको चुनावको मिति सार्वजनिक गर्ने क्रममा पनि दाहालले आफूअनुकूल मिति घोषणा गर्न देउवालाई दबाब दिएका थिए ।

त्यतिबेलादेखि नै देउवा दाहालसँग चिढिदै गएका थिए । तीनै तहको चुनाव एकैपटक गर्न संविधान संशोधन गर्नुपर्ने प्रस्ताव लिएर सत्ता गठबन्धनमै सकस पैदा गराएका दाहाललाई ‘एमसीसी पत्र’ले झन् ठूलो संकटमा पारेको छ ।

आगामी चुनावमा कांग्रेसकै सहारामा पार्टीको ‘सम्मानजनक सिट’ जोगाउने उपाय खोजिरहेका दाहाल पछिल्लो घटनाक्रमले झन् ठूलो संकटमा फसेका छन् । एमसीसीका नाममा ‘सेन्टिमेन्ट’ देखाएर भोट बटुल्ने र गठबन्धनसँग संसदीय राजनीतिमा अभ्यस्त हुने प्रचण्ड दाउमाथि अमेरिकी एमसीसी पत्रले चिसो पानी खन्याइदिएको चर्चा हुन थालेकाे छ ।

त्यतिमात्रै होइन, नेताहरुको भाषण सुनेर एमसीसीप्रति धारणा बनाएका सर्वसाधारणले पनि चुनावको मुखमा प्रचण्ड र ओलीको ‘कम्युनिष्ट चरित्र’ प्रष्टसँग देख्ने अवसर पाएका छन् ।

सत्तामा छँदा अरुलाई विरोधी र बाधक देख्ने नेता प्रतिपक्षी भएर सडकमा पुग्दा आफैँ विरोधी भएर राष्ट्रवादको डम्फू बजाउने प्रवृत्ति नौलो होइन । तर आफ्नै अनुहारमा ‘कालो पोतिँदा’ पनि ऐनालाई दोष देखाउने ओली र प्रचण्डको ‘कम्युनिष्ट चश्मा’ कति दोषी छ भन्नेबारे अब शंका गरिरहनुपरेन ।

 

 

श्री अध्यक्ष,
मिलेनियम च्यालेन्ज कर्पोरेसन सञ्चालक समिति
वासिंगटन, डीसी, २०००५
संयुक्त राज्य अमेरिका ।


विषय : नेपालसँगको एमसीसी कम्प्याक्ट (सम्झौता) अनुमोदन सम्बन्धमा,

श्री अध्यक्ष,

हामी अमेरिकी सरकार र त्यहाँका जनताप्रति न्यानो अभिवादन तथा शुभेच्छा व्यक्त गर्दछौं ।

नेपाल र अमेरिकाबीच हस्ताक्षर सम्झौता भई नेपालको अर्थ मन्त्रालयमार्फत कार्यान्वयन हुँदै आएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (सन् २०१७ सेप्टेम्बर १४ मा हस्ताक्षर भएको) र परियोजना कार्यान्वयन सम्झौता (२९ सेप्टेम्बर २०१९ मा हस्ताक्षर भएको) को प्रशंशनीय ढंगले कदर गर्दछौं ।

यस सन्दर्भमा, हामी, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, वर्तमान गठबन्धन सरकारका नेताहरू संयुक्त रूपमा एमसीसी सञ्चालक समति समक्ष एमसीसी सम्झौताको अनुमोदनका लागि थप समय प्रदान गर्न अनुरोध गर्दछौं ।

यससम्बन्धमा विस्तृत छलफलहरू भएका छन् र अनुमोदन गर्ने हाम्रो प्रतिवद्धता कम्प्याक्ट सञ्चालन (अपरेसन)की उपाध्यक्ष फातेमा जेड सुमारको भ्रमणका क्रममा अवगत गराएका छौं । नवगठित यस संयुक्त सरकार यसलाई निष्कर्षमा पुर्‍याउन सबै प्रयास गरिरहेको छ ।

हामी यहाँसमक्ष नेपाल सरकार एमसीसीको अनुदान सुरक्षित गर्न र यसलाई नेपालको आर्थिक विकासमा प्रयोग गर्न क्रियाशील रहेकोमा आश्वस्त तुल्याउन चाहान्छौं ।

एमसीसी कम्प्याक्टप्रति हाम्रो प्रतिवद्धता प्रदर्शन गर्दै कम्प्याक्ट अनुमोदनका लागि प्रतिनिधिसभामा आवश्यक सामान्य बहुमत पुर्‍याउन हामी आगामी चार–पाँच महिनामा निम्न कामहरू गर्न सहमत भएका छौं ।

हामी निम्नानुसार प्रतिवद्धता गर्दछौंः

–    एमसीसीबाट प्राप्त भएका प्रष्टीकरणका सम्बन्धमा छलफल गरी गठबन्धन साझेदारहरू र हाम्रा पार्टीका सदस्यहरूलाई सूचित गर्नेछौं ।

–    नेपाल सरकारको साधनस्रोत प्रयोग गरी नेपाली जनतालाई यसबारेमा सूचित गर्नेछौं र कम्प्याक्ट कार्यान्वयनमा सरकारको सहयोगका सम्बन्धमा जानकारी गराउँदै कम्प्याक्टका सम्बन्धमा रहेका आशंकाहरू हटाउनेछौं ।

–    गठबन्धनका साझेदार नेताहरू सहित संयुक्त पत्रकार सम्मेलन गरी एमसीसी सम्झौता अनुमोदनका सम्बन्धमा सकारात्मक दृष्टिकोण प्रस्तुत गर्नेछौं ।

–    सरकारी सञ्चारमाध्यममार्फत कम्प्याक्टका सम्बन्धमा यथार्थ सूचना सम्प्रेषण गर्नेछौं ।

–    एमसीए नेपाललाई आयोजनाका प्राविधिक पक्ष र सञ्चारसम्बन्धी गतिविधिलाई पूर्णता दिइ सकेसम्म छिटो कम्प्याक्ट कार्यान्वयनलाई तीव्रता दिनेतर्फ प्रोत्साहीत गर्नेछौं । र,

–    प्रतिनिधिसभाका सभामुखलाई संयुक्त रूपमा सकेसम्म छिटो कम्प्याक्ट टेबुल गर्ने योजनाका सम्बन्धमा अनुरोध गर्नेछौं ।

यी गतिविधिले आगामी चारदेखि पाँच महिनाभित्र संसदमार्फत् कम्प्याक्ट अनुमोदनका लागि सहज अवस्था सिर्जना हुने विश्वास लिएका छौं ।
नेपाल र अमेरिकाबीच लामो समयदेखिको मित्रवत् सम्बन्ध तथा सहयोगलाई मनन गर्दै एमसीसी सञ्चालक समितिले हाम्रो अनुरोधलाई स्वीकार गर्ने विश्वास लिएका छौं ।

शीघ्र सकारात्मक प्रतिक्रियाको अपेक्षा सहित ।

 

उही,

शेरबहादुर देउवा                 पुष्पकमल दाहाल
प्रधानमन्त्री /सभापति     पूर्वप्रधानमन्त्री/अध्यक्ष
नेपाली कांग्रेस                 नेकपा (माओवादी केन्द्र)

Leave a Reply

Your email address will not be published. Required fields are marked *