यसकारण अमेरिका विश्वमा शक्तिशाली छ

पछिल्ला वर्षहरुमा अमेरिकामा जे भइरहेको छ, खासगरी राजनीतिमा, त्यसले अमेरिका असाध्य रुपमा पतन हुँदैछ भन्ने दृष्टिकोणलाई समर्थन गर्छ। एउटा स्थिर उदार लोकतन्त्रले त डोनाल्ड ट्रम्पलाई कदापि निर्वाचित गर्ने थिएन। जोसँग राष्ट्रको नेतृत्व गर्नका लागि चाहिने कुनै पनि गुण र क्षमता थिएन। यद्यपि अमेरिकी पतनको धारणा अतिरञ्जित छ। अझै पनि निकै ठूला वैभव अमेरिकासँग छ, खासगरी अर्थतन्त्रको क्षेत्रमा।

पछिल्लो डेढ शताब्दी अमेरिका विश्वको सबैभन्दा नवप्रवर्तनात्मक अर्थव्यवस्था रहँदै आएको छ। अमेरिकाको विश्वव्यापी शक्ति र प्रभावको आधार पनि त्यही अर्थतन्त्र हो। अहिले अमेरिकाको नवप्रवर्तन गर्ने क्षमता कस्तो छ त? यसको उत्तर हुन्छ– एकदमै राम्रो, चीनले टक्कर दिए पनि।

सेयर बजार अपूर्ण हुन्छन्। तर, लगानीकर्ताले कम्पनीहरुमाथि गरेको लगानीलाई तुलनात्मक रुपमा भविष्यको तटस्थ मूल्यांकन मान्न सकिन्छ। गत सातासम्मको कुरा गर्दा विश्वका १० सबैभन्दा मूल्यवान् कम्पनीमध्ये ७ र शीर्ष २० मध्ये १४ कम्पनीको मुख्यालय अमेरिकामा छ।

तेस्रो नम्बरमा साउदी अरबको तेल कम्पनी नहुने हो भने विश्वका सबैभन्दा मूल्यवान् पाँच कम्पनीमा अमेरिकाकै प्रविधि–कम्पनीहरु पर्न आउँछन्ः एप्पल, माइक्रोसफ्ट, अमेजन, अल्फाबेट र फेसबुक। चीनसँग दुई मूल्यवान् प्रविधि–कम्पनी छन्– टेनसेन्ट (सातौँ नम्बरमा) र अलिबाबा (नवौँ नम्बरमा)। तर, शीर्ष २० मा रहेका चिनियाँ कम्पनी पनि यी दुई मात्र हुन्। युरोपको सबैभन्दा मूल्यवान् कम्पनी एलभीएमएच हो, जुन १७ औँ नम्बरमा छ। एलभीएमएच स्थापित लक्जरी ब्रान्डहरुको समूह हो। तसर्थ यो युरोपेलीहरुका लागि चिन्ताको विषय हो।

प्रविधि–कम्पनीहरुलाई मात्र हेर्ने हो भने शीर्ष २० मध्ये १२ वटा अमेरिकामा छन्। चीनका (हङकङसहित, ताइवानबाहेक) तीन छन्। र, यो सूचीमा दुई डच कम्पनी छन्। जसमध्ये एक हो एसएमएल– जसले माइक्रो चिप बनाउने मेसिन उत्पादन गर्छ। यो सूचीमा विश्वकै ठूलो कम्प्युटर चिप निर्माता ताइवानको टीएसएमसी र दक्षिण कोरियाको सामसङ इलेक्ट्रोनिक्स पनि छन्।

भविष्यको समृद्धिका लागि अर्को महत्वपूर्ण क्षेत्र हो– जीव विज्ञान र औषधि निर्माण। विश्वका शीर्ष २० यस्ता कम्पनीमध्ये सात वटा युरोपका (स्विट्जरल्यान्ड र बेलायतसहित) छन्। तर, शीर्ष १० मध्ये सात वटा अमेरिकाका छन्। यो सूचीमा जापान र अस्ट्रेलियाका एकएक कम्पनी छन् तर चीनको कुनै पनि कम्पनी छैन।

निष्कर्षमा भन्दा यो क्षेत्रमा विश्वभर अमेरिकी कम्पनीको प्रभुत्व छ। र, अमेरिकाभन्दा बाहिर रहेका मूल्यवान् कम्पनी पनि अमेरिकाको सहयोगी मुलुकमै छन्।

यो सेयर बजारमा आधारित गणनामा राज्यको स्वामित्वमा रहेका चिनियाँ कम्पनीहरु अटाएका छैनन्। टेलिकम उपकरण निर्माणमा विश्वकै अगुवा कम्पनी हुवावे पनि यसमा छैन। चीनले अन्य क्षेत्रमा आफू अगुवा भएको दाबी गर्छ। उदाहरणका लागि तीव्र गतिको रेललाई लिन सकिन्छ। तर, यो प्रविधिको आविष्कार अन्यत्रै भएको थियो। बरु चीन रेल र अन्य क्षेत्रमा तीव्र गति र विशाल मात्रामा पूर्वाधार निर्माणमा सफल छ।

एउटा तर्क के हुन सक्छ भने ठूला अमेरिकी कम्पनीहरु अब पुराना भइसके। त्यसमाथि ती विशाल कम्पनीले अन्यत्र जन्मिएका ससाना कम्पनीहरु किनेका हुन्। तर, यो पनि अमेरिकी कम्पनीहरुको सबल पक्ष नै हो।

औद्योगिक पुँजी (भेन्चर क्यापिटल) मा पनि अमेरिका अग्रस्थानमा छ। डिलरुम कर्पोरेसनका अनुसार सन् २०१८ यता अमेरिकामा ४ खर्ब ८७ अर्ब डलर औद्योगिक पुँजी लगानी भइसकेको छ। यही अवधिमा चीन, बेलायत, भारत, जर्मनी, फ्रान्स, क्यानडा, इजरायल र सिंगापुरसमेत गरेर ३ खर्ब ७९ अर्ब डलर मात्र लगानी भएको छ। जीडीपीको अनुपातमा पनि औद्योगिक पुँजीका हिसाबले इजरायल र सिंगापुरभन्दा पछाडि अमेरिका नै छ।

अन्तर्राष्ट्रिय सर्वाधिकार (पेटेन्ट) का लागि आवेदन दिनेमा २०१९ मा चीन सबैभन्दा अगाडि थियो। उसले ५९ हजार ४५ आवेदन दिँदा अमेरिकाले ५७ हजार ७०५ आवेदन दिएको थियो। शीर्ष १० मा रहेका बाँकी सबै मुलुक अमेरिकाका सहयोगी हुन्।

विश्वविद्यालय पनि महत्वपूर्ण छन्। क्यूएस युनिभर्सिटी ¥यांकिङका अनुसार शीर्ष १० मध्ये पाँच र शीर्ष २० मध्ये १० विद्यालय अमेरिकामा छन्। जसमा चीनको एउटा विश्वविद्यालय मात्रै छ। आफ्नो पुस्तक ‘सी चिनफिङः द ब्याकल्यास’ पुस्तकका लेखक रिचर्ड म्यक्ग्रेगर चीनमा केन्द्रीकृत नियन्त्रण अझ कसिलो भएको तर्क गर्छन्। जसले गर्दा दिगो मौलिकतालाई कायम राख्न अझ कठिन हुनेछ।

समग्रमा हेर्दा अमेरिकाको तस्बिर आर्थिक असान्दर्भिकतातर्फ विघटन हुन लागेको मुलुकको जस्तो देखिँदैन। खासगरी सहयोगी मुलुकसँग एकीकृत रुपमा अमेरिकालाई हेर्दा। यदि चीन चाँडै नै सबै हिसाबले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्यो भने पनि ऊ सबैभन्दा ठूलो उत्पादक वा नवप्रवर्तक बन्ने छैन। अर्कोतर्फ, चीनको अर्थतन्त्र कमजोर भएन भने पनि अमेरिका र उसका सहयोगी मुलुकहरु लामो समयसम्म अगाडि रहनेछन्।

विश्वमा अमेरिकाको भूमिकामाथि सबैभन्दा ठूलो खतरा अमेरिकाबाटै छ, नकि चीनबाट। अमेरिकाले लोकतन्त्र, विज्ञान र विवेकलाई घृणा गर्ने नेता चुन्यो भने पक्कै पनि यो मुलुक पतन हुनेछ। रिपब्लिकन पार्टीले आफूलाई ट्रम्पबाट अलग गर्न नसकेबाट सम्भावना अझ बढी देखिन्छ।

त्यतिखेर भने अमेरिका पतनको बाटोमा छ भने निष्कर्ष निकाल्ने चिनियाँ सम्भ्रान्तहरु सही ठहरिनेछन्। यद्यपि उनीहरुले लिएको बाटो सही छ भन्ने होइन। १.४ अर्ब बुद्धिमान मानिसहरुलाई एउटा पार्टी र एक व्यक्तिको नियन्त्रणमा राख्नु उत्तम मार्ग होइन।

अमेरिकाको एउटा ठूलो सम्पत्ति हो– विश्वभरका उत्कृष्टलाई आकर्षित गर्ने क्षमता। भारतमा जन्मेका दुई व्यक्तिले अहिले माइक्रोसफ्ट र अल्फाबेट हाँकिरहेका छन्। गुगलका दुई सहसंस्थापकमध्ये एक सोभियत संघबाट आएका आप्रवासी थिए। अहिलेको बढ्दो स्थानीयतावाद यसको विरुद्धमा छ। तर, साझा संस्था र मान्यताको ढाँचाभित्रको विविधता अमेरिकी व्यावसायिक, सांस्कृति र राजनीतिक शक्तिको ठूलो स्रोत बन्न सक्छ।

 

(फाइनान्सियल टाइम्सबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *