टंक लम्साल
म जन्मिदै काँग्रेस भएर जन्मिए । त्यसैले मैले २०४६ सालको लोकतान्त्रिक अन्दोलनमा पनि सहभागी हुन पाए, त्यस हिसाबमा म आफुलाई भाग्यमानी ठान्छु । वीपी कोईरालाले प्रत्यूपादन गरेको पार्टीको झण्डा मुनि रहेर परिवर्तनको पक्षमा सहभागीता जनाए । त्यसपछिका हरेक आन्दोलन वा विचारको लडाईमा निरन्तर सहभागी रहे । मातृभुमिको राजनीतिक अवस्था भनौ वा विश्व परिदृश्यमा कुनै पनि पहिचान बनाउन नसकिएको यथार्थ हो । गाउँमा जन्मिएर पनि भुगोलका हिसावले संसारको आधा भाग नियाल्ने मौका पाए । मेरो देशको अवस्था संसारमा एक मात्र यस्तो देश हो, जुन देश कहिल्यै कसैको अधिनमा रहन परेन, त्यस हिसावले म गर्वका साथ भन्छु की हामी त्यस्तो भाग्मानी हौ, तर विडम्बना प्रकृतिले दिएको सगरमाथा र बुद्धले फैलाएको सन्देशका हिसावले बाहेक कुनै पनि हिसाबले हामी संसारमा कुनै पहिचान दिन सकेनौ । हामीसंग प्रकृतिले दिएको मनोरम भुगोल छ, प्रकृतिले दिएको जलश्रोतको अपार संभावना छ तर देश बनाउने जिम्मा लिएकाहरुले त्यसबाट विकास निर्माण गर्नको साटो भए रहेका सबै पुर्वाधार पनि जीर्ण बन्दै गए ।
आफ्नो र परिवारको सुख सयलबाहेक कुनै पनि नेतृत्व वर्गमा रहने नेताले गर्व गर्न लायक काम गरेनन् । भन्दा साथीहरुले मलाई अनेक पगरी गुथाउनेछन तर भन्नै पर्दछ की स्वतन्त्रताका नाममा हामीले हिजो भएको पुर्वाधार र केहि मुल्य मान्यताहरुलाई पनि बेचेर खाई सकेका छौं । मलाई थाहा छ संसारमा कुनै पनि व्यवस्था आफैमा नराम्रो हुन्न, हुन्छ त केवल शासक मात्र । त्यहि खराब शासकहरुको कठघरामा हामी निरन्तर परिरह्यौ । आज त्यो सुध्रेला भन्दा सुधार्न नै नमिल्ने गरी भयावह बन्दै गएको देखिन्छ । यस्तो अवस्थामा पनि हामी संसार बुझेका बुज्रुक हौ भन्नेले मेरो पार्टीेले राम्रो गर्यो वा मेरो पार्टीले नराम्रो गर्दैन भनेर मनलाई ढाँटेर कतिन्जेल बसिरहने ? मलाई लग्यो बेला यहि हो र हामी कोही न कोहीले आँट गरेनौ भने शुरुवात कहिबाट हुन्न । त्यसैले मैले शुरुवात गरे की स्वतन्त्र भएर लोकतन्त्र र जनपक्षमा पक्षमा आवाज उठाउँछु र आफ्नो स्थानबाट देशको सेवामा सक्दो योगदान दिन्छु । मलाई यो पनि थाहा छ की गणेशमान र कृष्ण प्रसाद भट्टराईले पार्टी छोडेर त केहि भएन मैले काँग्रेसमा सक्रिय हुन्न भन्दा केहि फरक पर्दैन, तर मैले जस्तै युवा जमातले पार्टी राजनीतिभन्दा माथी रहेर देश र जनताको पक्षमा स्वतन्त्र आवाज उठाउने हो भने अन्धो र बहिरो बनेका नेताहरुले अलि सुन्न बाध्य हुन्छन की । हामीले नै एउटै झण्डा मुनि बसेर उनिहरुलाई भ्रष्ट जे गरे पनि राम्रो गरेको भनि रह्यौ, उनिहरु हौसिदै गए । हामीले उनिहरुमाथी भर पर्न थाल्यौ, उनिहरु हामीलाई पाल्ने र हाम्रो डिमाण्ड पुरा गर्ने नाममा राज्यलाई लुट्दै गए । त्यहि नाममा आज त्यो लुट्ने र लुटाउने क्रममा मुलुक संसारको भ्रष्टाचारको उद्गम बिन्दुमा पुग्यो र हाम्रो देश संसारका नराम्रा उपाधिहरुबाट क्रमश वदनाम बन्ने क्रममा छौं । के हामी युवा र केहि बुज्रुकहरु यस्तै टुलुटुलु हेरेर बसी रहने हो भने भावी पुस्ताले हामीलाई के भन्लान ? अन्याय गर्ने भन्दा अन्याय सहने झन दोषी भने झै हामीले अब स्वतन्त्र भएर मातृभुमिप्रति बदमास गर्नेहरुलाई खबरदारी र केहि आशा गर्न मिल्नेहरुलाई प्रोत्साहन गर्ने दिन ढिला भैसकेको महशुस मलाई भएकै हो । आज मैले गरेको निर्णय अरुका लागि खासै केहि होईन तर मलाई अबको दिनमा नैतिक बल मिल्नेछ । मैले हिजो काँग्रेस पार्टीमा बसेर राज्य र मुलुकप्रति कत्ति पनि बेईमानी गरेको छैन, त्यसैले मलाई त्यो नैतिक बल छ र सबैका सामु भन्न सक्दछु । म जस्ता थुप्रै युवाबीच मरो जस्तो भावना पाएको छु तर कसैले न कसैले कहिबाट शुरुवात गर्नै पर्दछ भनेर मैले शुरुवात गरे । मेरो विचार ठिक लागे हामी संगै हिडौ । कुनै पार्टीको झण्डा मुनि बसेर कसैलाई औला ठड्याउनु भन्दा स्वतन्त्र भएर खबरदारी गर्दा त्यसको अर्थ हुन्छ ।
मलाई यो पनि राम्ररी थाहा छ की मैले पार्टीको आवद्धता त्यागे पनि मेरो परिवार, नातागोता वा मेरो साथी सर्कल त्यहि हुन । दायरा अलिक फराकिलो बनाएर मनमा लागेका कुराहरु निर्धक्कका साथ राख्न सक्दछु भन्ने लाग्यो र आज यो निर्णयमा पुगे । मैले यो धारणा सार्वजनिक गर्दा मलाई चिन्नेहरुले विभिन्न ढंगले संझाउने र प्रतिक्रिया पाए । त्यो मेरा शुभचिन्तक र साथी सर्कलले जसले जसरी बुझे सबैको विचारको सम्मान गर्दछु । त्यसैले म स्वतन्त्र भएको हुँ । तर याद रहोस अब मेरो आत्मालाई ढाँटेर फलानो पार्टी राम्रो र ढिस्कानो पार्टी नराम्रो भन्न सक्दिन । राम्रो गर्ने पार्टी होस वा व्यक्ति उसको मुक्त कण्ठले प्रशंसा गर्नेछु र नराम्रो गर्नेहरुको उछित्तो काड्नपछि पर्ने छैन । स्वतन्त्र हुनुमा त्यहि मजा छ की कम्तिमा आफ्नो आत्मालाई नढाँटी बोल्न सक्दछु । त्यसैले म जस्ता हजार्रौ युवा वर्ग नेपाल र प्रवासमा छौं । हामीले एक्लै आवाज निकाल्दा कसैले नसुन्ला तर जव यस्ता आवाजहरु समाहित हुँदै जानेछन अनि हिजो बानी बिग्रेकाहरु कि भने सहि बाटोमा आउने छन कि भने बाटो परिवर्तन गर्न बाध्य हुनेछन । परिवर्तन भन्ने कुरा रातारात हुने जादुको छडी होईन यसका लागि केहि समय लाग्न्ेछ । जव परिवर्तन कहिबाट शुरु भएर विस्तारै त्यसले आकार लिन्छ अनि परिवर्तन नचाहाने तत्वहरु कि पलायन हुनेछन की कठघरामा उभिन बाध्य हुनेछन । त्यसैले अब हामी जस्ताले स्वतन्त्रपुर्वक आफ्नो आवाज बुलन्द गर्न ढिला भैसकेको छ । म भन्दा पहिलेदेखि मैले जस्तै सोच राख्नेहरु पनि कयौंन देखेको छु । अब म उनिहरु जस्तै स्वतन्त्र भएर बाँकी जीवन कसैको झण्डा मुनि नबसी राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने निर्णयमा पुगेको हुँ ।
एकपटक संकल्प गरौं, सवैले आआफ्नो पार्टीको सदस्यता, आवद्धता छाडौ ! नेपाल देश र नेपाली नागरिकता र भावनात्मक रुपमा एकै ठाउँमा उभिऔ ! देश नेताहरुलाई मात्रै छाडिदिऊं! अनि कल्पना गरौ त सवै सदस्य र कार्यकर्ताले छाडेपछि पनि यि नेताको अनुहार कस्तो देखिएला ? म सर्वप्रथम नेपाली नागरिक हुँ अनि मात्र कहि कतौ आवद्ध थिए अबको दिनमा म त्यो स्थानमा छैन । हिजो जान्ने भएदेखि नै ब्रम्हाण परिवारमा जन्मिएर पनि जातभातका कुरामा होस वा भेदभावमा विषयमा सधै आवाज उठाएर समाज परिवर्तनमा आफ्नो स्थानबाट सक्दो योगदान दिईरहे । हामीले नै हिजोदेखि बानी बिगारेर दानव बनाएका नेताहरुलाई अब हामीले नै खबरदारी गरेर सुधार्ने आँट हामीले नै गर्ने हो त्यो अरुबाट संभव छैन ।
विश्वमा हामी नेपाली खास उत्कृष्ट सभ्यता, पहिचान र संस्कारको मुहानका नागरिक हौं । यो कुरा हामी धेरैले गहिरो गरि बुझेनौ अथवा केहि थोरैले बुझेका छौं तर धेरैलाई बुझाउन सकेका छैनौं । हामीले हाम्रो सभ्यता र सस्कृतिलाई, हाम्रो श्रोत र साधनलाई कम्तिमा मुलुक र नागरिकका निम्ति सदुपयोग गर्न सक्यौ भने मात्र मेरो देश संसारको उत्कृष्ठ देश हुनेछ । मैले पाईला टेकेका संसारका धेरै मुलुक जहाँ मेरो देशको जस्तो कुनै श्रोत साधन र प्रकृतिको अभावमा कति विकास भएका छन मेरो आखाँले स्पर्श गरेको छु तर मेरो देश आज पनि किन झन झन विकराल अवस्थामा गुज्रिदै गयो ? यो कुरा हामीले बुझ्न जरुरी छ । मैले पार्टीको सदस्यता कुनै भाग नपाएर वा कसैसंग वैरभावका कारण त्यागेको हुँदै होईन । मैले पार्टीमा रहँदा पनि कहि कतै लाभको पदमा बसिन सकेको योगदान गरिरहे । त्यसैले मलाई आज गर्वका साथ भन्न सक्दछु की अब म स्वतन्त्र हुन्छु ।
अहिले ६० र ७० लाख भन्दा बढी नेपालीजन विश्वको विभिन्न मुलुकमा छरिएर ती मुलुकका संस्कार, सभ्यता र विधि प्रविधि सिकिरहेका छन । झ्वाट्ट हेर्दा हामीमा नभएको चिज प्राप्त गर्दा यो पो गज्जव रहेछ जस्तो लागेको हुन सक्दछ, तर हामीले बाध्यताले आफ्नोपन छोडेका हौं । बिकसित भनिने देशमा भएको चिज त त्यहि एउटा भौतिक पुर्वाधारको विकास न त रहेछ अरु मानव जिवनका अमुल्य चिजहरुको त नाम निमेट हुन लागेको रहेछ । त्यसैले मातृभुमिबाट अलग्गिएको पहिलो पुस्ता पछुताउन सुरु गरेको छ भने देशको नेतृत्वले दोश्रो पुस्ता देश मै रोक्ने गरि काम गर्नुपर्छ कि पर्दैन अर्थात् हामीले अव त्यस्तो नेता छान्ने सामथ्र्य राख्ने कि नराख्ने ? गलत भैरहेछ भन्ने सबैलाई थाहा छ तर खोई आवश्यक सहि निर्णय गरेको ? हो त्यहि कामका लागि मैले स्वतन्त्र भएर नागरिकको हैसियतमा काम गर्न खोजेको हुँ । म संगै विचार मिल्नेहरु हातेमाले गरौ मातृभुमिको लागि हाम्रो त्यो योगदान हुनेछ ।
नेपालमा त के युरोप, अष्ट्रेलिया र अमेरिकामा वस्ने उन्नत नेपालीले समेत यत्तिको मान्छन म कहाँ गलत छु भन्ने गरी आज नेताको मति किन यति भ्रष्ट भएका छन । हामीले विदेशमा बोलाएर नाईट क्लवमा नचाएर भरिपुर्ण उपहार थमाएर तिमीले गरेको कामको पुरस्कार जस्तो गर्ने हाम्रो प्रवृति रहेसम्म उनिहरुले आफु बिग्रेको कसरी थाहा पाउने ? ढिलै भए पनि हामीले उनिहरुलाई सुधार्न पनि पहिले आफैबाट शुरु गर्ने मेरो प्रयास हो । क्षमता, योग्यता भएकाहरु सबै बाहिरिएर सधै मेरो देशमा यो भएन त्यो भएन भन्न भन्दा पनि स्वतन्त्र हिसावले खबरदारी गर्न सके अझै ढिला भएको छैन । राजनीतिलाई समाज सेवा बनाउन छाडेर नाफामुलक व्यापार बनाएर मुलुक लुटेर जनतालाई पीडामा राख्ने काम झन झाँगिदै गएको छ । काम पेसा रोजÞगार व्यवसाय केहि छैन, फगत राजनीतिमा १० र १२ बर्ष लागेको भरमा सहरमा घर घडेरी गाडि घोडा हुन्छ ? त्यस्तो पनि छानबीन गर्न पर्छ र ? नेपाली काँग्रेसको प्रमुख नेताको जीवनशैलि पुराना श्री ५ को भन्दा ज्याद्रो छ । फेरी उनिहरु फेरि ऊ वेलाका बडाहाकिम जस्ता छन, अनि पार्टीको नीति र कार्यक्रम सिद्धान्त ६० वर्ष पहिलेको वीपीको फलाक्न मिल्छ ?
त्यसैले हामीले खासगरी केहि जाने बुझेका वर्ग अब पनि चुप लागेर बस्यौ भने मातृभुमिप्रति अन्याय हुन्छ । स्वतन्त्रपुर्वक अन्याय, अत्याचार र भ्रष्टाचारको खबरदारी गरौं । राष्ट्र निर्माणमा योगदान गरौं । आजैका दिनबाट म काँग्रेसको मात्रै होईन, कुनै पनि पार्टीको सदस्य पनि बन्दिन, संसारको उच्चतम् लोकतान्त्रिक मुल्य, मान्यता, समतामुलक समाज निर्माणको लागि स्वतन्त्रपुर्वक अन्याय, अत्याचार र भ्रष्टाचारको खबरदारी गरिरहनेछु ।