मेक्सिको हुँदै अमेरिका छिरेका ८ नेपालीलाई अमेरिकाले जहाज चार्टर्ड गरेर पठाइदियो फिर्ता

चोर बाटो हुँदै अमेरिका पुगेका ८ जना नेपालीलाई नेपाल फर्काइएको छ।

अमेरिकी सरकारले विमान चार्टर्ड गरेरै उनीहरूलाई नेपाल डिपोर्ट गरेको हो। अध्यागमन विभागका अनुसार उनीहरूलाई गल्फ स्ट्रिम जहाजको भिएन ७४० एसएसले केही दिनअघि नेपाल छोडेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्क प्रमुख पुष्प शाहीका अनुसार उनीहरू धेरैजसो ट्राभल हिष्ट्री भएका व्यक्ति छन्। उनीहरू दुबई, रसिया, कोलम्बिया, मेक्सिको हुँदै अमेरिका पुगेका थिए।

उनीहरू गत वर्ष चैतमा अमेरिका पुगेका थिए। कागजातबिनै अमेरिका पुगेका उनीहरूलाई दूतावासले ट्राभल डकुमेन्ट बनाएर नेपाल डिपोर्ट गरेको हो।

मेक्सिकोबाट अमेरिका पुग्नेबित्तिकै उनीहरूलाई त्यहाँको प्रहरीले थुनामा राखेको थियो। अमेरिकी कानुनअनुसार गैरकानुनी रूपमा पुगेका व्यक्तिलाई थुनामा राख्ने र डिपोर्ट गराउने चलन छ।

‘हामीलाई ८ जना नेपाली आउँदैछन् भन्ने खबर आएको थियो, विमानस्थलबाट सोझै हाम्रो कार्यालय लिएर आयौं,’ नेपाल प्रहरी मानव बेचबिखन ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर मल्लले सेतोपाटीसँग भने।

मल्लका अनुसार उनीहरूलाई आवश्यक कानुनी परामर्श दिएर घर पठाइएको छ। उनीहरूलाई गैरकानुनी बाटो हुँदै अमेरिका पुर्‍याउने दलालको खोजी भइरहेको छ।

‘अहिले हामी अनुसन्धान गरिरहेका छौं, पीडित घर पुगेर फर्किन थालेका छन्,’ मल्लले भने, ‘दलालको खोजीका लागि हामीले पीडितहरूसँग बयान लिइरहेका छौं।’

गैरकानुनी तरिकाले अमेरिका पुर्‍याइएका आफ्ना नागरिकबारे प्रहरीले निकै प्राथमिकतासाथ अनुसन्धान गरी दलाललाई पक्राउ गर्ने गरेको छ।

प्रारम्भिक अनुसन्धानमा उनीहरूले कहिले गाडीमा, कहिले पानीजहाजमा, कहिले हिँड्दै गरेर गत वर्षको चैतमा अमेरिका पुगेको बताएका छन्। तर, कसले त्यहाँसम्म पुर्‍यायो भन्नेबारे विस्तृतमा खुलाएका छैनन्।

‘उनीहरू कसरी पुगे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ, अमेरिकाको कानुन अनुसार थुनामा परेका विदेशी नागरिकलाई अध्यागमनले आफ्नै खर्चमा पठाउँछ प्लेन चार्टर्ड गरी पठाउने गरेको छ,’ अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने।

महानिर्देशक भट्टराईका अनुसार कानुनी रूपमा अमेरिका छिर्न कठिन हुने भएकाले दलालहरूको सम्पर्कमा मानिसहरू पुग्छन्। दलालले लाखौं रुपैयाँ असुल गरेर नेपालीलाई मेक्सिकोको बोर्डरबाट अमेरिका छिराउने गर्छन्।

यसमा राष्ट्रिय-अन्तर्राष्ट्रिय दलालहरूको सञ्जाल प्रयोग भइरहेको छ। ‘पहिलो कुरा गैरकानुनी बाटोबाट जाँदा दु:ख पाइन्छ भन्ने बुझ्नुपर्ने हुन्छ, जेल बस्नुपर्ने, भनेको समयमा आफ्नो देश फर्किन गाह्रो हुने धेरै समस्या आइपर्छन्,’ प्रहरी उपरीक्षक मल्लले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *