मेक्सिकोबाट नदी तरेर अमेरिका आउन खोज्दा नौ आप्रवासीको डूबेर मृत्यु

मेक्सिकोको सिमा क्षेत्रबाट विना भिसा अमेरिका प्रवेश गर्न खोजेका नौ आप्रवासीहरू रियो ग्रान्डे नदीमा मृत फेला परेका छन् । टेक्सासको ईगल पास नजिकै दर्जनौं आप्रवासीहरूले अवैधरुपमा सिमा क्षेत्र पार गर्ने प्रयासका क्रममा त्यहाँ पुगेका सीबीपी अधिकारीहरुले शव फेला पारेका हुन् ।

सिमा सुरक्षा गस्तीले ५३ आप्रवासीहरूलाई पक्राउ गरेका थिए जसमध्ये ३७ जनालाई अमेरिका र मेक्सिकोको सिमाक्षेत्रको नदीबाट उद्धार गरिएको थियो। मेक्सिकोका अधिकारीहरूले रियो ग्रान्डेको अर्को छेउमा थप ३९ आप्रवासीहरूलाई हिरासतमा लिएका थिए ।

अमेरिकी सिमा अधिकारीहरूले छवटा शवहरू फेला पारेका थिए भने मेक्सिकोका सीमा अधिकारीहरुले तीनवटा शव फेला पारेका थिए । ती शवहरु नदीको पानीभित्र फेला पारेको जनाइएको छ । पानीमा अरुपनि डूबेको हुनसक्ने आशंका गरिएको छ ।

मेक्सिकोबाट गैरकानूनी रुपमा अमेरिका प्रवेश कहिलेकाहीं घातक हुने गरेको छ । यसरी सिमा पार गर्ने क्रममा रियो ग्रान्डे र दुर्गम सीमाक्षेत्र तथा नहरहरूबाटै कैयनको शव भेटिने गरेको छ । गत हप्ता आफ्नी आमासँग रियो ग्रान्डे पार गर्न खोज्दै ५ वर्षीया ग्वाटेमालाकी बालिका डूबेकी थिइन् ।

आप्रवासीहरू नदी तरेर सफलतापूर्वक अमेरिका प्रवेश गर्दा पनि यात्रा अझै घातक हुन सक्छ । समरको सुरुमा टेक्सासमा परित्याग गरिएको ट्र्याक्टर ट्रेलरमा ५३ आप्रवासीको मृत्यु भएको थियो । संयुक्त राष्ट्रसँग सम्बद्ध आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनको रिपोर्ट अनुशार गतबर्ष अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा ७२८ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published.