ब्याटलग्राउण्ड राज्य मिसिगनमा जो बाइडेनले जीतेका छन् । यो संगै बाइडेनले राष्ट्रपति चुनाव जीत्ने निश्चित भएको छ । अब बाइडेनका पक्षमा २६४ इलेक्टोरल मत प्राप्त भएका छन् ।
नेभाडा डेमोक्र्याट्सहरुको पकड राज्य भएकाले नेभाडा जित्ने निश्चित भएकाले नेभाडासहित बाइडेनका पक्षमा २७० इलेक्टोरल मत प्राप्त हुने देखिएको छ । अमेरिकी राष्ट्रपतिको चुनाव जित्न २७० इलेक्टोरल मतको आवश्यकता पर्छ ।
बाइडेनले पेन्सिलभेनिया जितेमा २९० इलेक्टोरल मत प्राप्त हुनेछ । तर बाइडेनलाई चुनाव जित्न अब पेन्सिलभेनिया जित्न आवश्यक छैन । आफ्नै पकड रहेको नेभाडा जिते पुग्छ । नेभाडाबाहेक पेन्सिलभेनिया, जर्जिया र नर्थ क्यारोलिना जित्दा पनि ट्रम्पले २७० इलेक्टोरल मत प्राप्त नगर्ने देखिएको छ ।
डेमोक्र्याट्सको पकड रहेको नेभाडामा नोभेम्बर १० सम्म हुलाकबाट प्राप्त भएका मतपत्रहरु पनि गणना गरिनेछ । तर ती मतपत्रहरु चुनावको दिनसम्म पोष्ट मार्क गरिएको हुनुपर्नेछ । नेभाडाबाट ६ इलेक्टोरल मत प्राप्त हुन्छ ।
त्यस्तै रिपब्लिकनको पकड रहेको अलास्कामा ३ इलेक्टोरल मत रहेको छ । अक्टोबर २९ पछाडि हुलाकबाट मतपत्र पठाएर हालिएका मत र अग्रिम मतदानमा सहभागी भएर हालिएका मतहरु अलास्कामा अर्कोसातामात्र गणना गरिनेछ । त्यसैले अलास्काको पूर्ण मतपरिणाम सार्वजनिक हुन समय लाग्नेछ
उदार र अनुदारबीचको प्रतिस्पर्धा मानिएको यो निर्वाचनलाई अमेरिकी इतिहासमै निकै पृथक् मानिएको छ । अमेरिकामा मात्र नभएर संसारकै अत्यधिक चासो अडिएको छ। पृथक् हुनुमा यो निर्वाचनसँग विविध आयामहरू जोडिएका छन् । कोरोना भाइरस र झन्डै अढाई लाख अमेरिकीको मृत्यु यो चुनावको जल्दोबल्दो एजेन्डा हो । विश्वको ठूलो अर्थतन्त्रमा लाखौंको बेरोजगारी एवं ठप्प अर्थतन्त्र अर्को महत्त्वपूर्ण विषय हो ।
चर्को एवं स्पष्ट विभाजित अमेरिकी राजनीतिमा यस पटक दशकौंपछि नश्लवादले खुलेआम प्रवेश पाएको छ । अमेरिकी नश्लवादको डरलाग्दो वकालत एवं चुनावी नतिजाबारे सम्भावित न्यायालय प्रवेशको विषयले पनि यो निर्वाचनलाई फरक बनाएको छ । राष्ट्रपति ट्रम्पले सत्ता हस्तान्तरणको विषयमा दिएको अभिव्यक्तिले पनि देखाउँछ, यो पृथक् चुनाव हो ।