मान पद्वी चाकडी गर्ने र आफन्तलाई मात्रै ?

यतिखेर देश विभूषणमय भएको छ । गएको शुक्रबार विभूषण प्राप्तकर्ताहरूको रंगीन तस्बिरले सामाजिक सञ्‍जाल रंगिएको थियो । जसको रापताप सकिएको छैन । फेरि नयाँ वर्षकै दिन ठूलै भीड विभूषित । २०७६ असोज ३ संविधान दिवसमा घोषित भएकाहरू गएको शुक्रबार मात्रै विभूषित भएका थिए । अब २०७७ को संविधानका दिवसमा घोषितहरू २०७८ को नयाँ वर्षकै दिन विभूषण, अलंकार र पदकबाट विभूषित हुँदैछन् । नयाँ वर्षका दिन फेरि ५९३ जना विभूषणबाट रंगिए ।

कोभिड-१९ का कारण आमनागरिक प्रताडित छन् । नागरिकको रोजगार गुमेको छ । दोस्रो चरणको कोरोना भाइरसले सन्त्रासको बादल मडारिएको छ । तर राज्य संरचना चाहिँ विभूषणमा रंगिँदै छ, रंग्याउँदै छ । अझ यतिखेर त सर्वहारावादी आन्दोलनमा होमिएका शासन संयन्त्रमा हाबी छन् । दुर्भाग्य चाहिँ तिनीहरू राजतन्त्रकाललाई पनि बिर्साउने गरी विभूषण बाँडेको दृश्य मञ्‍चन गर्दै छन् । अनि दुनियाँ हँसाइरहेका छन् । एकातिर मुलुकको अर्थतन्त्र ओरालो लागेको छ । त्यस्तो बेलामा यसरी विभूषण, पदक र अलंकारका निम्ति राज्यले ठूलै खर्च लगाइरहन्छ, दुर्भाग्यतः कसैबाट प्रश्‍न उठ्दैन । गएको शुक्रबार वितरित विभूषणको लागत मात्रै २० करोड रुपैयाँभन्दा बढी तथ्यांक पनि सार्वजनिक भइसकेको छ । वैशाख १ मा यसैगरी विभूषणमा पनि करोडौँ खर्च गरिँदै छ । अनावश्यक रूपमा आमजनताको करको पैसा उडाउनु सत्ताको दुरुपयोग र राजतन्त्रकालीन शैलीको शासक मनोवृत्तिको उपज हो ।

मुलुकमा कोभिड-१९ को जोखिम बढिरहेको छ । शीतल निवासमा राष्ट्रपतिले भीडभाड गरी यसरी विभूषण वितरणको काम गरिरहँदा के सन्देश जान्छ ? महामारी फैलने जोखिमबीच विभूषण वितरण हुनु साँच्चै दुर्भाग्यपूर्ण दृश्य हो । विभूषित हुनेहरू राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान गरेका र स्वीकार्य व्यक्ति हुनुपर्ने हो । के आधारमा विभूषण, अलंकार र पदक प्रदान गर्ने भन्ने कुनै स्पष्ट मापदण्ड नहुँदा सीमितबाहेक चाकडीदार, चाप्लुसीवाल र चुक्लीवाज (चाचाचु) हरू मात्रै विभूषित हुँदै आएका छन् ।

त्यस्ता नालायक पात्रहरूको भीडमा मुलुकले सम्मान गर्नैपर्ने केही व्यक्तिलाई पनि पारिन्छ । जसले मुलुकका निम्ति योगदान दिनेहरूले समेत सम्मानित भएको अनुभूति गर्न पाउँदैनन् । योग्य व्यक्तिहरूले तिनै ‘नालायक’हरूसँगै सम्मान लिन जाँदासमेत लज्जित महसुस गर्नुपर्ने स्थिति हुन्छ । मुलुक भ्रष्टाचार, अनाचार, अत्याचारले आक्रान्त छ । खराब कर्म नियन्त्रण गर्ने जिम्मेवारी लिएकाहरू गैरजिम्मेवार र भ्रष्ट बनेकै कारण मुलुकले संकट खेप्‍नु परेको हो । तर, गैरजिम्मेवार पात्रहरूको छातीमा विभूषण टाँगिएको दृश्य पनि नागरिकले नियमित देख्नुपरेको छ ।

अर्कोतर्फ, सम्मान पाउने चाकडीबाज र सत्तारुढ दलका कार्यकर्ताले त्यो सम्मानको ओज जोगाउन सक्ने स्थितिमा छैनन् । फेरि समाजले उनीहरूको योगदान के हो ? कहिल्यै थाहा पाउने अवसर मिलेको छैन । कतिपय विवादित, सत्तारुढ दललाई सहयोग गर्ने उद्यमी, व्यापारी, ठेकेदारसमेत सम्मानित भएका छन् । कुनै समय सरकारले कारबाही गरेका व्यक्ति राष्ट्रपतिबाट सम्मान लिन अग्रपंक्तिमा देखिन्छन् । कोही सम्मान पाएपछि सत्तारुढ दलमा प्रवेश गरेका छन्, कोही सत्तारुढ दलमा प्रवेश गरेपछि पदक पाएका छन् ।

राष्ट्रले दिने सम्मानको गरिमा सम्मानित हुने व्यक्तिको संस्थासँग पनि जोडिन्छ । सम्मान पाउने व्यक्ति नै संस्था जस्तो हुन्छ, वा कुनै संस्थामा रहेर उसले राष्ट्रका लागि योगदान गरेको हुन्छ । तर योग्यहरूलाई पहिचान नै नगर्ने अनि आफ्नो दलगत स्वार्थका लागि चाकडीबाज, पजनी गर्नेहरूलाई मात्र सम्मान गर्दा संस्थाहरूको विकासमा समेत खलल पुर्‍याउँछ ।

राजतन्त्रको विकृतिलाई हामीले टपक्क टिपेर गणतन्त्रमा पनि ल्याएका छौँ । विभूषण दिने र लिने पात्रहरू फेरिए पनि प्रवृत्ति उस्तै छ भने राजतन्त्रभन्दा के उन्नत व्यवहार गर्न सक्यौँ त ? किनकि आधारभूत प्रवृत्ति र संरचना अहिले पनि बदलिएको छैन । जनताका लागि काम गर्ने दलहरूको सरकार र नागरिकको छोरा/छोरी राष्ट्रपतिले पनि वंशपरम्पराका आधारमा चलिआएको शाहवंशीय वा राणाकालीन शैली पछ्याएको कदापि सुहाउँदैन । सुन्दर लोकतान्त्रिक व्यवस्थामा गरिएको यो अत्यन्त भद्दा र कुरूप व्यवहार हो । आम सर्वसाधारणलाई राष्ट्रिय जीवनका ख्यातिप्राप्त र सर्वस्वीकार्य व्यक्तिबाहेक सत्ताका आसेपासे र चाकडीबाजलाई पदक बाँडेको मन परेको पनि छैन ।

Leave a Reply

Your email address will not be published.