माधवको ‘युटर्न’पछि बहुमतीय सरकारको सम्‍भावना सकियो, फेरि ओली प्रधानमन्‍त्री

काठमाडौं : प्रधानमन्‍त्री केपी ओलीलाई विस्थापन गरेर विपक्षीहरूले वैकल्पिक सरकार बनाउने सम्‍भावना लगभग अब समाप्त भएको छ।

बहुमतीय सरकार बनाउने कांग्रेस र माओवादी केन्द्रको कसरत अन्तत: अर्थहीन भएको छ। राजीनामा दिएर वैकल्पिक सरकार निर्माणमा सघाउन तयार भएको एमालेको माधव नेपाल समूहको ‘युटर्न’पछि राजनीतिक कोर्स पुरै बदलिएको हो। अब संविधानको धारा ७६ (३) अनुसार ओली नै ठूलो दलको नेताको  हैसियतले फेरि प्रधानमन्‍त्रीमा नियुक्त हुने लगभग निश्‍चित भएको छ।

सत्तारुढ एमालेको माधव नेपाल समूहले तत्काल राजीनामा नदिने निर्णय र जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको कदमपछि वैकल्पिक सरकारको सम्‍भावना लगभग सकिएको हो।

प्रधानमन्‍त्रीले ओलीले विश्‍वासको मत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति नौ बजेसम्म संविधानको धारा ७६ (२) अनुसार बहुमतीय सरकारको लागि आधारसहित दाबी पेस गर्न दलहरूलाई आव्हान गरेकी थिइन्। गत सोमबारदेखि नै विपक्षीहरू बहुमतीय सरकार बनाउने तयारीमा जुटेका थिए भने ओली त्यो सम्‍भावनालाई जसरी पनि रोक्‍ने रणनीतिमा थिए। अन्तत : ओलीको रणनीति सफल भएको छ।

बहुमतीय सरकारको सम्‍भावना अन्त्य गर्नमा बिहीबार अपरान्हदेखि बूढानीलकण्ठमा भएको प्रधानमन्‍त्री ओली र नेता माधव नेपालबीचको वार्ता निर्णायक देखिएको छ।  करिब चार घन्टा लामो वान टु वान वार्तामा मिलेर जाने सहमति बनेपछि राजीनामाको लागि तयार भएको माधव पक्ष युटर्न भएको हो। व्यवासयी क्याप्टेन रामेश्‍वर थापाको विशेष पहलमा यो ओली र नेपालबीचको विशेष वार्ता संभव भएको हो। त्यही वार्ताले अन्तत : एमालेको एकता जोगिएको छ।

संविधानमा धारा ७६ (२) मा संसद्‌मा रहेका दलहरु मिलेर बहुमतीय सरकार बनाउन नसके ७६ (३) अनुसार सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्‍त्री नियुक्त गर्ने व्यवस्था छ। त्यसरी नियुक्त भएको प्रधानमन्‍त्रीले तीस दिनभित्र विश्‍वासको मत लिनुपर्ने हु्न्छ।

राष्ट्रपतिले राति नौ बजेपछि आजै ओलीलाई पुन: प्रधानमन्‍त्रीमा नियुक्त गरेर शपथ खुवाउने तयारी छ। माधव पक्षको राजीनामा रोकिएपछि अब महन्थ पक्षको मत मात्रै भए पनि ओलीको पुरा कार्यकाल सुरक्षित हुनेछ। अर्थात् अबको बाँकी १८ महिना ओली नै प्रधानमन्‍त्री बन्‍ने भएका छन्।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा चार रिक्त रहेकोले हाल २७१ सदस्य कामय छन्। यो अंकगणितअनुसार नयाँ सरकारका लागि  १ सय ३६ सांसदको समर्थन चाहिन्छ। अहिले संसदमा एमालेका १२१, कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाका ३४ ( २ निलम्बित ) छन्।

तीनजना स्वतन्त्र हैसियतमा छन्। कांग्रेस र माओवादीको गठबन्धनमा सिंगो जसपाले सघाउने अवस्था नभएपछि माधव समूहले राजीनामा दिए मात्र वैकल्पिक सरकार बन्‍ने सम्‍भावना थियो। २० जनाले राजीनामा दिएर संसद्को संख्या घटेर २५१ बनाउने र  त्यो अवस्थामा नयाँ सरकारका लागि १२६ संख्या भए बहुमत पुग्‍ने आँकलन थियो।

कांग्रेस (६१), माओवादी (४८), जसपाको उपेन्द्र पक्ष (१७), एक सिटको जनर्मार्चा मिलेर १२७ संख्या पुर्‍याउने तयारी थियो। तर सिंगै जसपाले नसघाउने र माधव पक्षले पनि राजीनामा नदिने निर्णयपछि कांग्रेस र माओवादीको वैकल्पिक सरकार बनाउने तयारी विफल भएको छ।

जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराईले कांग्रेस र माओवादीको गठबन्धनलाई सघाउन तयार देखिए पनि प्रथम अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले आफूहरूसँग बहुमत सांसदहरू रहेकोले यादव पक्षको निर्णय मान्य नहुने भन्दै राष्ट्रपतिकहाँ समेत निवेदन दिएका थिए। बैकल्पिक सरकार बन्‍ने सम्‍भावनालाई रोक्‍न आफू पक्षीय सांसदहरूलाई बिहीबार बिहान नै भक्तपुर रिसोर्टमा लगेर राखेका थिए।

पुस ५ गते ओलीले विघटन गरेको संसद्लाई सर्वोच्चले फागुन ११ गते पुनःस्थापना गरिदिएको थियो। फागुन २३ सुरु भएको पुनःस्थापित संसद्को अधिवेशन डेढ महिनासम्म चल्यो।  यो बीचमा पटकपटक अविश्वास प्रस्तावको हल्ला र चर्चा चल्यो तर त्यो प्रयासले आकार लिन सकेन। विपक्षीहरू अविश्वास प्रस्तावका लागि अलि तात्दै गर्दा गत वैशाख ६ मा सरकारले पुनःस्थापित संसद्को अधिवेशन नै अन्त्य गरिदियो। त्यसपछि माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदै ओलीले विश्‍वासको मत लिन संसद्को अधिवेशन बोलाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *