ध्रुब रिजाल
वि.सं. २०५८ साल वैशाख १६ गते आइतबारको दिन थियो । जुन दिन मेरो जीवनको अहिलेसम्मको ऐतिहासिक दिनको रुपमा लिएको छु । म साविक नीलकण्ठ गाउँ विकास समिति वडा नं. ६ साँखु पाँचधारे (वर्तमान नीलकण्ठ नगरपालिका वडा नं. २) स्थित महेन्द्र माध्यमिक विद्यालयमा प्रधानाध्यापकको भूमिका निर्वाह गरिरहेको थिएँ ।
२०५८ वैशाख १६ गते विद्यालयमा जाउँ कि तात्कालीन जिल्ला शिक्षा कार्यालय जाउँ विद्यालयको काम लिएर दोधारमा परेँ, हैन विद्यालय नै जान्छु भनेर घरबाट ९ बजे विद्यालयतिर लागेँ । मेरो घरबाट विद्यालय जान ३० मिनेट सामान्य उकालो जानुपर्छ । मेरो घर नीलकण्ठ नगरपालिका वडा नं. ३ साँखु रिजाल गाउँमा पर्छ । विद्यालय पुग्दा शिक्षक साथीहरु विद्यालयमा आउन सुरु गर्नुभयो । १० बज्यो, प्रार्थना भयो सबै साथीहरु आ–आफ्नो कक्षामा जानुभयो । मेरो पहिलो घण्टी खाली थियो । अफिसमा नै बसेर प्रशासनिक कार्य गर्दै थिएँ ।
त्यसैबेला एक जना विद्यार्थी (नाताले जेठी सासुको छोरा हरिप्रसाद रिजाल SLC उत्तीर्ण गरेको हुनाले) क्यारेक्टर सर्टिफिकेट/चारित्रिक प्रमाण पत्र लिन आए । उक्त प्रमाणपत्रमा विद्यार्थीको विवरण भरिरहेको थिएँ पुरा गर्न नपाउँदै सोही समय बिहान १०ः५५ बजेतिर करिब १०/१२ जना मानिसहरु अफिसमा पसेर हेड सर को हो भने मैले म हो भनेँ । उनीहरुले उठ्नोस भने । म जुरुक्क उठेँ । त्यसपछि मेरो दुवै हात साङ्लाले बाँधियो अनि कम्मरमा एउटा पोको समेत बाँधियो र ल हिँड्नुहोस् भने । त्यो पोको सकेट बम रहेछ । मैले कहाँ जाने भनेँ । धेरै नबोल्नुहोस् खुरुक्क हिँड्नुहोस् भने । म एकछिन अडिएँ तर बाँधेको हात दुख्ने गरी तानेर हामी माओवादी छापामार हौँ खुरुक्क हिँड्नुहोस् भने । त्यसपछि बाहिर निस्कन लाग्दा पहिलो घण्टी सकिन लागेको हुनाले सरहरु अफिसमा आउने क्रम सुरु भएको थियो । ढोकामा त्यसबेलाका गणित शिक्षक देवीप्रसाद छत्कुलीसँग जम्काभेट भयो तर बोलचाल हुन सकेन । सरहरु अफिसमा आइपुग्दा म स्कुलभन्दा ५० मी. माथि चउरमा पुगेको थिएँ ।
बाहिर ८/९ जना छापामार सहित जम्मा १५/२० जना थिए महिला र पुरुष गरेर मैले देख्दा । तर चारैतिर बाटो ब्लक गर्ने छापामार अरु पनि रहेछन् मलाई पछि थाहा भयो । बाटो ब्लक गर्नुको उद्देश्य स्कुलका सर, मिस र विद्यार्थीहरु छिटो स्कुल छोडेर खबर गर्न जान नसकून् भन्ने रहेछ । स्कुलका सर र विद्यार्थीहरुले स्कुलको आँगनको डिलबाट उँभो फर्केर हेरिरहेका थिए मेरो आँखा स्कुलतिर पर्दा । सबैभन्दा नमजा पक्ष के लाग्यो भने मेरो छोरा र छोरी त्यसै विद्यालयमा अध्ययन गर्दथे । आफ्नै आँखा अगाडि आफ्नो बाबुलाई हात बाँधेर कम्मरमा बम बाँधेर माओवादी छापामारले लग्यो भन्दा उनीहरुको मनमा के भयो होला ? सबैले त्यो क्षण विचार गरुम्त एकछिन् । विद्यार्थी शिक्षक सबै रुवाबासी भए । विद्यालयमा रुवाबासी एकातिर थियो भने मेरो मनमा पनि विभिन्न कुरा खेल्न थाल्यो । म त्यसबेला पेटको बिरामी थिएँ । औषधी खाइरहन पथ्र्यो । मेरो गोजीमा १/२ दिनको लागि मात्र औषधि थियो । स्कुल देख्न छोडेपछि झन् बढी कुरा खेल्यो मनमा । ढोडेनी भन्दा उत्ता पुगेसी पखेराबाट थप छापामार थपिए ।
डो¥याएर वर्तमान नीलकण्ठ न.पा. २ (तत्कालीन नीलकण्ठ वडा नं. ७ सिम्ले) स्थित कालिका प्राथमिक विद्यालय नजिक रहेको पसलमा लगेर राखियो । पसलमा आएका अभिभावकहरुले हाम्रो हेडसरलाई किन ल्याएको भनेर सोध्नुहुन्थ्यो भने कोही अभिभावक बोल्दै नबोली फर्कन्थे सामान पनि नकिनीकन । बाटामा भेटिएका अभिभावकहरुले मसँग बोल्ने आँट गर्न सक्नु हुँदैनथ्यो । सिम्लेको स्कुलभन्दा अलि पर खोल्सामा लगेर राखे । गर्मी हुनाले खोल्सामा बसियो । छापामारको नेतृत्वमा वर्तमान नीलकण्ठ नगरपालिका वडा नं. १४ खरबारीस्थित जीवन भन्ने हस्तबहादुर गुरुङ थिए । खोल्सामा बस्दा मलाई धेरै तरिकाबाट तर्साएर मनोवैज्ञानिक असर पनि खोजियो खुकुरी उद्याउँदै यो खुकुरीले कति जनालाई छिनायो भन्थे । बम बनाउन प्रयोग गर्ने सामान सुनाउँथे । क्रान्तिकारी गीत बजाउँथे । काटमारको मात्र कुरा गर्थे मैले सुन्ने गरी डर, त्रास, हिम्मत, आँट, जोशको मिश्रणबाट खोल्सामा नै करिब ५ बज्यो । त्यसपछि जाउँ भने र काउले भन्ने ठाउँतर्फ उकालो लागियो ।
मलाई स्कुलबाट ल्याउँदाको छापामारहरु केही जना मात्र बसेर नयाँ छापामार थपिएछन् मलाई थाहा भएन । बेलुका ७ः१५ तिर काउलेस्थित प्रकाश मा.वि.बाट काफलपानीतर्फ लाग्दा मेरो बारेको समाचार आएछ । कमाण्डरसँग एउटा सानो रेडियो रहेछ । मभन्दा अगाडि ५/६ जना पछाडि ५/६ जना थिए । कमाण्डर जीवन भन्ने मभन्दा पछाडि थिए । सर तपाईँको समाचार आयो भन्दै पाइला अगाडि बढाए म रोकिएँ । मैले सुन्दा रेडियोबाट यस्तो सुनेँ– “महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक धु्रवप्रसाद रिजाललाई आज बिहान ११ बजेतिर माओवादी छापामारहरुले विद्यालयको अफिसबाटै अपहरण गरी लगेकोमा नेपाली काँग्रेस सभापति रामनाथ अधिकारी, नेपाल शिक्षक संघका अध्यक्ष बाबुराम अधिकारीले रिहाइको लागि प्रेस विज्ञप्ती निकालेका छन् ।” यो सुनेपछि मेरो आँखाबाट बरर आँसु खस्यो । ज्याँदै नरमाइलो लाग्यो मेरो दिमागले के सोच्ने थाहा भएन ।
अब त सबैले थाहा पाए भन्ने लाग्यो । परिवार, विद्यालयका शिक्षक, विद्यार्थी साथीभाइ सम्झन पुगेँ । झन् नमजा लाग्यो । रात बढ्दै गयो, सुनसान हुँदै गयो । त्यो बेला प्रायजसो नेपाल भरि नै ७ बजेबाट बाटामा मानिस हिँड्दैनथे । आर्मीले भेट्दा सबैलाई माओवादी देख्ने, माओवादीले अरुलाई भेट्दा सुराकी देख्ने प्रवृत्तिले सर्वसाधारण सोझासाझी मानिस बाँच्न नसक्ने अवस्था थियो । नुवाकोट र धादिङको सिमाना काफलपानी डाँडामा पुग्दा राम्रैसँग सुनसान छिप्पिँदै गएको थियो । काफलपानी डाँडाबाट तेर्सो प्रतापेले खनेको बाटो हिँडाए । कहिलेकाहिँ यो बाटो हिँड्नु भाछ कि छैन सर भनेर सोध्थे । म छैन भन्थेँ । तर काफलपानी डाँडाबाट दाङ्सीङ जाने बाटो सम्म त हिँडेको थिएँ । त्यो मध्यरात, त्यो एकान्तस्थल, ती छापामारका काटमारका कुरा, नचिनेकाहरुको साथ के भयो होला विचार गर्नोस् त एकछिन ।
तर म राती भाग्छ भनेर त्यसो भनिएको थियो । त्यो जंगल, त्यो राती, नचिनेको ठाउमा म कता भाग्नु । त्यहाँबाट अब घर जानोस् सर भनेर पठाए पनि फर्कन सक्ने आँट मसँग थिएन ।
रातको १२ बजेतिर सल्लाघारीको माझमा अब बसुम भन्न थाले । थकाइ पनि लागेको थियो बसियो । एउटा त्रिपाल रहेछ उनीहरुको झोलामा त्यो सल्लाको पातमाथि ओछ्याइयो, चिउरा र दालमोठ निकाले झोलाबाट । एकै ठाउँमा १०/१२ जनाले खायौँ । एक घुड्को पानी भागमा आयो । अब सुतौँ सर भनेर मलाई माझमा राखियो । उनीहरुको कमाण्डरले उनीहरुकै साथीलाई मलाई सुनाएर भने– “यहाँ त बाघ भालु आउँछ सरलाई माझमा सुताउनुपर्छ ।” तर म राती भाग्छ भनेर त्यसो भनिएको थियो । त्यो जंगल, त्यो राती, नचिनेको ठाउमा म कता भाग्नु । त्यहाँबाट अब घर जानोस् सर भनेर पठाए पनि फर्कन सक्ने आँट मसँग थिएन ।
सुत्नुभन्दा अगाडि मैले कमाण्डरलाई सोधेँ मलाई किन अपहरण गरेको हो जान्न पाए हुन्थ्यो । कमाण्डरले भनिहाले –“भोली कुरा हुन्छ सर आज चिन्ता नगरी सुत्नुस् ।” चिन्ता नगर्नुहोस् शब्दले अतिकति सास आयो मेरो । मैले मनमनै विश्लेषण गरेँ पक्कै पनि आज मार्दैनन् किनभने केही कुरा नभनीकन त किन मार्ने त्यति टाढा ल्याएका छन् । उनीहरुलाई पनि त दुःख भएको छ । मार्नै पर्ने त मैले के गरेको छु र । मार्नै परेछ अरुलाई देखाएर माछन् किनभने एउटालाई मारेर धेरैलाई तर्साउनुछ उनीहरुले । थकाइ लागेको, खुट्टा देखेको, पेट दुःखेको, परिवार छोराछोरी, बाआमा, साथीभाइ, आफ्नो स्कुलको विद्यार्थी झलझली सम्झेको बेलामा को–कसलाई निद्रा आउला र ? तैपनि थकाइले गर्दा निदाउन पुगेछु रातको २ बजेतिर । ४ बज्न लाग्दा नलाग्दै सर उठ्नोस् भने ।
२०५८ साल वैशाख १७ गते सोमबार बिहान ४ बजे उठेर हिँड्दा ८ बज्यो, त्यसपछि जङ्गलमा नै बसियो । घरपरिवारको सम्झना सहित बिहान मनमा कुरा खेल्न थाल्यो । बिहान मलाई ३/४ प्रश्न सोधियो । तपाईँले विद्यार्थीहरुबाट किन पैसा उठाउनु भयो ? फिर्ता गर्नुपर्छ । तात्कालीन प्रतिनिधि सभा धादिङ क्षेत्र नं. २ धादिङमा सार्वजनिक मुद्दा परेका जतिहरुको मुद्दा तपाईले फिर्ता गर्नुपर्छ । तपाईँ गाउँघरतिर किन जानुहुन्छ ? जान पाउनहुन्न उनीहरुको यस्ता खालका कुराहरु मबाट पुरा हुन सक्ने थिएन । मैले उठाएको सहयोग शुल्क फिर्ता गर्दा विद्यालय चल्दैन भनेँ तर उनीहरुले नचले चल्दैन भने तर म मानिनँ ।
सार्वजनिक मुद्दाको सम्बन्धमा मेरो क्षेत्र होइन त्यो भनेँ । तर उहाँहरु मान्नुभएन । मुद्दा फिर्ता नगरे राम्रो हुन्न भने । मैले फेरि भनेँ त्यो मेरो क्षेत्र होइन । तेस्रो तपाईँ गाउँमा किन जानुहुन्छ ? जान पाउनुहुन्न भन्दा मैले किन जान नपाउने म त विद्यालयको हेड मास्टर हो । विद्यालय चलाउन अभिभावक भेट्न परेन ? पहिलो चरणमा यस्तै कुराकानी चल्यो । उनीहरु गए मलाई कुर्ने छापामार परिवर्तन भइरहन्थे । काफल फल्ने समय भएको हुनाले खाजाको रुपमा काफल नै खाइयो बिहान पनि । त्यसपछि मैले बुरुष र मञ्जन किन्न ५०।– झिकेर दिए एक छापामारलाई । मैले केही कुरा बुझ्नुथियो– मलाई घरहरु भएको ठाउँभन्दा कति टाढा राखेको छ ? कति बेरमा सामान आउँछ भन्ने थियो । तर त्यो सामान दिउँसो १२ः३० तिर ल्याए ।
बिहान ८/९ बजेतिर मलाई विद्यालय, घरतिर चिठी लेख्न पर्ने भए लेख्न भनियो । भो लेख्दिनँ भनेँ मैले । लेख्नु न लेख्नु भनेपछि घरमा एउटा, विद्यालयमा एउटा पत्र लेखेँ । घरमा लेखेको पत्रमा जन्मेको मर्नलाई हो चिन्ता नगर्नु यस्तै हो फर्केर आउन पनि सक्छु, नआउन पनि सक्छु भनेको थिएँ । विद्यालयमा लेखेको पत्रमा मेरो कारणले विद्यालय बन्द नगर्नु विद्यार्थीको पठनपाठन बिग्रन्छ । अन्य कुरा फर्केर आएँ भने होला । जन्मेको मर्नलाई नै हो । चिन्ता नगर्नु राम्रोसँग पठनपाठन गर्नु । छापामारलाई यस्तो व्यहोरा लेखेको चिठी दिएँ तर त्यो चिठी सम्बन्धित ठाउँमा नपुगी फिर्ता ल्याए बेलुका खेर । चिठीमा लेखिएको कुरा केही परिमार्जन गर्न भने तर मैले परिमार्जन गर्न चाहिनँ । पुनः परिवर्तन गर्न भन्दा चिठी च्यातिदिएँ मैले ।
२०५८ साल वैशाख १७ गते दिउँसो मलाई कुरेर बस्ने छापामारसँग केही कुराहरु गर्न मन लाग्यो र गरेँ । त्यो उनीहरुको कुरा सुन्दा म जिल्ल परेँ । उनीहरुको अवस्था, पीडा, पारिवारिक पृष्ठभूमि, रमाइला पक्ष, नरमाइलो पक्ष सबैको कुरा भयो कमाण्डर नभएको मौकामा । अहिले तिनीहरु के गर्दै होलान् ? कोही युद्धको समयमा मरिसके भनेको सुन्थेँ । कोहि अहिले पलायन भइसके भनेको सुन्छु । कोहि युद्धविराम र २०७० को दोस्रो संविधान सभाको निर्वाचन अघिपछि मेरो सम्पर्कमा आएका थिए बाटो बिराएँ, गल्ती भयो, माफ दिनुस् सर भन्दै । मैले जिज्ञासा राखेका र छापामारले दिएका जानकारी वा उनीहरुले भनेको कुरा जस्ताको तस्तै राखेको छु । यसमा सत्यघटना भएको हुनाले कसैको मनमा चोट पुगेमा क्षमा समेत चाहन्छु । हजुरहरु जसले यो घटना पढ्नुहुन्छ, उहाँहरुले विश्लेषण गर्न पाउनुहुनेछ भन्ने लागेको छ । भएका कुराकानी यस प्रकार
म : तपाईहरुको घर कहाँ हो ?
छापामार : घर भन्न मिल्दैन सर ।
म : नाम नि ?
छापामार :नाम नि मिल्दैन सर ।
म : छापामार बनेको कति वर्ष भयो ?
छापामार : ६ महिना, १ वर्ष/डेढ वर्ष, २ वर्ष…………..।
म : छापामार किन बनेको ?
छापामार : ५ कक्षा फेल भएर । बाबुले कान्छी आमा ल्याएर । गरीबको शासन आउँछ भने त्यही भएर । खै थाहा छैन ।……………..
म : गरीबको शासन भनेको के हो र ?
छापामार : माओवादीको शासन आयो भने सुख हुन्छ रे ।
म : छापामारको समूहमा कति जना हुन्छ एउटा समूहमा ?
छापामार : ४३ जना
म : कमाण्डरले कति पढेका हुन्छन् ?
छापामार : पढेका र नपढेका हुन्छन् । अलिअलि पढेका ।
म : तपाईँहरुको समूहमा चाहिँ पढेका हुनुहुन्छ कि नपढेका ?
छापामार : पढेका छ भन्छन् ।
म : कति पढेका ?
छापामार : I.A./B.A.भन्थे कति हो थाहा भएन ।
म : छापामार हुँदा रमाइलो र नरमाइलो लागेका दिनहरु छ ?
छापामार : छ
म : के हो त ?
छापामार : भो सर नभन्ने ।
म : भन्नु न भन्नु ।
छापामार : कुनै चौकी/व्यारेक हान्न जाने २ दिन अगाडिदेखि एक ठाउँमा बसी खाना खाने नाचगान गर्ने, मासु जे खाए नि पाउने, कमाण्डर वा नेताले भाषण गर्छन् हाम्रो जीत हुन्छ भनेर, नडराउनु, जोश जाँगर लिएर लड्नुपर्छ भन्थे त्यो बेला रमाइलो लाग्थ्यो । तर लड्न जाँदा दुश्मनले हानेको गोली हतियारले साथी घाइते भएर साथीलाई बोक्नु पथ्र्यो । हिँड्न सक्ने घाइते आफै हिँड्छन् नसक्नेलाई बोक्दा बोक्दा दुश्मनले फेला पार्न लाग्दा आफ्नै साथीलाई मारेर हिड्नुपथ्र्यो । सबैभन्दा नरमाइलो त्यति बेला लाग्छ ।
म : तपाईहरुलाई पैसा दिन्छ त ?
छापामार : महिनामा १५०।– दिन्छ सर ।
म : त्यतिले के गर्ने ?
छापामार : पु¥याउनुपर्छ सर, खान गाउँतिर खाने हो मागेर, नदिए जबरजस्ती गरेर भए पनि खाने हो सर भोक लागिहाल्छ ।
म : छापामार छोडेर भाग्छौ त ?
छापामार : पहिला त भाग्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो तर अहिले जे भयो भयो नभाग्ने । हामीलाई थाहा पाएर फेला पा¥यो भने मार्छन् सर ।
म : कसले ?
छापामार : माओवादी छापामारले नि आर्मीले पनि ।
यी जिज्ञासाको जानकारी मेरो कानमा गुञ्जिदा म रुखबाट खसेको जस्तो भएँ । अपहरणमा पर्ने अवस्था, छापमारको अवस्था र उनीहरुले गरेको दुःख । पछि के पाउने होला तिनीहरुले ? मेरो मनमा तर्क खेल्यो म आफैँ मर्ने बाँच्ने थाहा नहुँदा पनि । मैले सोधेको जिज्ञासामा पाएको जवाफ मनन गर्दा त्यतिबेला नै म दङ्ग परेको थिएँ डरत्रासको माझमा । सोधिसकेपछि मलाई डर लाग्यो । मलाई झन् नराम्रो त हुँदैन मनमा डर थपिन लाग्यो । चित्त बुझाएँ जे होला होला भनेर । त्यसबेलाको परिस्थिति हेर्दा र सम्झँदा अहिले मनमा धेरै कुरा खेलेको छ वर्तमान राजनीतिक अवस्था हेर्दा । के उनीहरुलाई छापामार बन्न लगाउँदा बोलेका कुरा पूरा भाछ त ? उनीहरुको गरीबको शासनको सपना कमाण्डर, छापामारले पाएको दुःख बिर्सने अवस्था भाछ त ? मेरो मनमा प्रश्न उठिरहन्छ । ती कहाँ कहाँ पुगे होलान् ? युद्ध ख्याल ख्यालमा भएको रहेनछ भन्ने लाग्छ ।
अहिले मलाई के याद आउँछ भने वि.सं. २००७ सालमा नेपाली काँग्रेसले राणा शासन हटाउन क्रान्ति गर्दा मुक्तिसेना गठन गरेर लडेका थिए । माओवादी नेताहरुले लडाइको शैली धेरैजसो त्यही अनुशरण गरेका रहेछन् भन्ने लाग्छ । फरक के छ भने काँग्रेसले तल्लो स्तरको मानिसलाई दुःख दिएका थिएनन् अफिसहरु कब्जा गरेका थिए तर माओवादीले तल्लो स्तरका मानिसलाई बढी दुःख, हत्या हिंसा जबर्जस्ती गरेका थिए ।
यसरी अपहरणको दोश्रो दिन १७ गते यस्तै जानकारी डर, त्रास, आवेग, नियन्त्रण आदि गर्दै मनमा कुरा खेल्दै साँझ प¥यो । जङ्गलबाट साँझ ७ बजेतिर अन्तै लिएर गए कता हो थाहा छैन । दिउँसो पत्ता लगाएको कुराहरुमध्ये मसँग कुरा गर्ने मान्छे पढेको हुन्छ कि हुँदैन भन्ने थियो । पढेलेखेको मानिस भए आफ्नो विचार मैले राख्न पाउँछु भन्ने थियो । उसले पनि खराब निर्णय नगर्ला भन्ने हो । अर्को कुरा मसँग कुरा गर्ने व्यक्तिले आफैले निर्णय गर्न सक्छ कि ऊ भन्दा माथिल्लो तहलाई सोध्न जान्छ भन्ने कुरा मेरो लागि महत्वपूर्ण थियो । आफ्नो खुट्टामा उभिएर निर्णय गर्न सक्ने आधिकारिक व्यक्तिसँग कहिले नि डराउन पर्दैन । अरुको निर्देशनमा चल्ने नेतृत्वले अरुलाई पनि खाडलमा लैजान्छ र आफू पनि समाप्त हुन्छ । पढेलेखेको र निर्णय गर्न सक्ने अधिकारवाला व्यक्ति मलाई चाहिएको थियो । जङ्गलको माझमा एक गोठ रहेछ मलाई त्यहीँ पु¥याए ।
१२/१३ जना नयाँ छापामार रहेछन् । पुग्नासाथ उहाँलाई नै ल्याएको हो ? मलाई हेरेर एकजनाले छापामारलाई सोधे हो भनेर छापामारले नै जवाफ दिए । मलाई लाग्यो पक्कै पनि यही होला यिनीहरुको ठूलो मान्छे । त्यहाँ पनि मैले देख्ने गरी खुकुरी नचाउने र बम हातमा लिएर बस्थे । सकेट बम, ग्रिनेट निकालेर यसको शक्ति ठूलो छ भन्थे, गफ गर्थे म नजवाफ सुनिरहन्थेँ । सुन्नुभन्दा अर्को विकल्प मेरो थिएन । कसैको नाम प्रज्ज्वल, कसैका जीवन, कसैका प्रवीण, कसैका रुद्र आदि आदि नामबाट सम्बोधन गर्थे एकले अर्कोलाई । कोही त म भन्दा नि अग्ला, मोटा र डरलाग्दा देखिन्थे ।
त्यसमध्ये एउटाले मलाई छापामारको माझबाट बोलाएर अलि पर लगे । कुरा सुरु भयो । मलाई लाग्छ त्यो सोध्ने मानिसले क्यासेट कानमा लगाएर गीत सुनेको जस्तो गरी मेरो कुरा रेकर्ड गरेको जस्तो लाग्छ । मलाई पुरानै प्रश्न दोहो¥याइयो, फि फिर्ता, मुद्दा फिर्ता, गाउँ जान नपाउने यस्तै यस्तै । मेरो जवाफ पनि पुरानै भयो पहिला जे थ्यो त्यही । फि फिर्ता हुँदा स्कुल ढल्छ, सार्वजनिक मुद्दा मेरो क्षेत्र होइन, प्र.अ. गाउँ जान पाउनुपर्छ भनेँ । उनीहरु मेरो कुरा मान्न तयार भएनन् । स्कुल नचले चल्दै, गाउँ जान पाउनुहुन्न त्यो भनेपछि मेरो मुखबाट अलिअलि आवेगमा जवाफ आयो । कडा जवाफ दिन्छु भनेर निस्केको आवाज हैन । तर निस्कियो आवाज–“सहयोग शुल्क फिर्ता गर्नुहुँदैन, स्कुल ढल्छ, गाउँमा जान पाउनुपर्छ स्कुल चालउन अभिभावक भेट्न किन नपाउने, सार्वजनिक मुद्दाको बारेमा मलाई थाहा छैन, फि फिर्ता त मेरो हातबाट म गर्दिनँ, गाउँ पनि जान्छु, बरु मलाई मारे पनि हुन्छ, जन्मेको किन मर्न, विद्यालय ढल्न त दिन्न । यो कुराले सायद उनीहरुलाई छोएछ क्यारे । मेरो लागि यी प्रश्न नै अन्तिम हुन पुगेछ । आजलाई सुतुम भने ।
गिरिजा प्रसाद कोइरालाले खुट्टा कमाइसकेका छन् तपाईँ कस्तो मान्छे भनेर कडा स्वरमा भने उनीहरुले । तर म चुप भइरहेँ । खाना खाइयो सबैजना सँगै बसेर । राती १२ बज्यो अब सुत्नुपर्छ सर माझमा सुत्न भने मलाई । मलाई सोधपुछ गर्ने पनि मसँगै सुते । दायाँ ७/८ जना बाँया ७/८ जना छापामार र हतियारको माझमा सुतियो । उनीहरुले २/२ घण्टाको पालो लगाएर सेल्टर राखे । मेरो मनमा बिहानदेखिको कुरा खेलिरहेको थियो । मनमा कुरा खेल्दा खेल्दै निदाएछु ब्युँझदा बिहान ५ बजेछ ।
वि.सं. २०५८ साल वैशाख १८ गते बिहान ५ बजे उठेर हातमुख धोएँ, घरपरिवार, विद्यार्थी, शिक्षक, साथीभाइको सम्झनाले धेरै सताउन थाल्यो । उडेर जाउँ भने चरा होइन । चरा भएनी पिँजडाभित्रको चराजस्तै भा छु । पिँजडा खोलिदिए मात्र उड्ने हो चराले । कमाण्डर कता गए थाहा भएन । मलाई कुरेर बस्नेहरुले काफल टिपेर खान दिन्थे । काफल खाँदै घर सम्झदै गर्थेँ । एउटा छापामारले भने– सर तपाईँले मलाई पढाउनु भएको चिन्नु भएन ? मैले चिनिन भनेँ । धेरै बेरपछि ११ बजेतिर जस्तो कताबाट खाना ल्याए थाहा पाइन । खाना खाइयो फेरि पुरानै कुरामा सोधपुछ शुरु भयो । मेरो जवाफ पनि पुरानै भयो । मलाई क्रमशः तीन चरणमा सोधियो फरक फरक मानिसबाट । मेरो अडान एउटै रह्यो । कहिले बा बोलाउनु, कहिले गा.वि.स. अध्यक्ष बोलाउनु, कहिले वडा अध्यक्ष बोलाउनु आदि–आदि भनिरहन्थे । म कहाँ आइपुगेको छु त मलाई नै थाहा छैन कसरी बोलाउने मेरो जवाफ हुन्थ्यो ।
एकजना शिक्षकको नाम लिए जुन शिक्षक हाम्रो नेपाल शिक्षक संघका सदस्य थिए । म जिल्ल परेँ किनकी उनीहरुले शिक्षक संघको नाम लिएका छन् । मलाई शंका पनि लाग्यो कतै ती शिक्षक माओवादी बनिसकेर हामीलाई संघ भनेर झुक्याइ राखेका छ छैनन् ? तर त्यो कुरा मनमा राखिनँ । त्यो शिक्षकको बारेमा पार्टी सभापति रामनाथ अधिकारीलाई भनेँ अपहरण मुक्त भएपछि । तर सभापतिले नभएको कुरा गर्ने तपाईँ, ऊ माओवादी हुन सक्दैन भनेर गाली गर्नुभयो । तर मेरो शंक पछि प्रमाणित सिद्ध भयो नीज शिक्षक चर्को माओवादी बनेर निस्किए । यसबाट के बुझिन्छ भने नेता अन्धो हुँदो रहेछन् ।
मलाई लाने छापामारको कमाण्डरले सर कागज गर्नुपर्छ भनेपछि के गर्न आँटे भन्ने लाग्यो । मैले के गरेको छु र कागज गर्ने गर्दिनँ भनेँ । गर्नुपर्छ भन्दा नि म मानिनँ । त्यही क्रममा दिउँसो ४ बज्यो । अब यहाँबाट हिँडौँ सर भने उनीहरुले । कहाँ हो थाहा छैन पछिपछि लागेँ । बसेको ठाउँबाट फिर्ता भए जस्तो लाग्यो मलाई । तर एकैछिनमा नयाँ बाटो मोडियो । दोश्रो दिन हिँडाएको बाटो छोडिँदा ज्यादै डर लाग्यो अब त बाँच्ने आश छैन कि जस्तो लाग्यो तर के गर्नु उनीहरुको पछि हिँड्नुभन्दा बाहेक अर्को विकल्प मसँग छैन । केहीबेर हिँडेपछि अघिल्लो दिन हिँडेको बाटो भेटियो फेरि आशा पलायो ।
कमाण्डरले भने–“एकजना तपाईँको मानिस बोलाउन प¥यो सर” । म बोलाउन सक्दिन भनेँ । मलाई त अपहरण गरेका छन् अरुलाई बोलाएर झन् खतरा मोल्न हुन्न भन्ने लाग्यो । म कसैलाई पनि बोलाउन सक्दिनँ जे गरेनी गर्नुस् भनेँ । बेलुका ७ः३० बजेतिर पुनः धादिङ र नुवाकोटको सिमाना काफलपानी डाँडामा फिर्ता भयो । ७/८ जना छाै जम्मा । नीलकण्ठ गा.वि.स. वडा नं. ४ को वडा अध्यक्ष बोलाउन भने काफलपानी डाँडामा । मैले पुनः सक्दिन भनेँ । त्यसपछि उनीहरु अलि रिसाएको जस्तो लाग्यो तर मैले केही भनिनँ । बेलुका ८ः४५ तिर काफलपानी डाँडाबाट प्रतापेले खनेको बाटो फिर्ता हुन थाल्यो (त्यो ठाउँ भनेको अहिले नीलकण्ठ नगरपालिका वडा नं. २ र १ को नजिक पर्छ) चिसोपानी भन्ने ठाउँमा आएपछि लामागुरु मा.वि. तर्फ लागेँ । त्यसपछि मेरो मनमा कुरा खेल्न थाल्यो, छोड्न आँटेको हो कि भनेर । बेलुका ९ः४५ मा साविक नीलकण्ठ ४ बसाहा जराजुरी भवनतर्फ सोझ्याए मलाई । त्यहाँ आइपुग्दा त १०० जना जति मानिसहरु जम्मा पारेका रहेछन् । डर लाग्यो । तर ने.का.को तर्फबाट उम्मेद्वार भएर २०५४ सालमा वडा सदस्य जितेका हस्तबहादुर नेपाल र अरु अभिभावकहरु रहेछन् ।
छापामारले उनीहरुलाई जम्मा भएर बस्नु भनेका रहेछन् । मलाई थाहा थिएन । सबैजना रुवाबासी भयो । अभिभावक र बसाहाका विद्यार्थीहरु सबै थिए । कतिपयले हाम्रो हेडसर आउनुभयो भने खुशी भए तर मलाई छापामारले छोडेका छैनन् । त्यही क्रममा मलाई लाने कमाण्डर हस्तबहादुर गुरुङ (जीवन)ले –“तपाईँको हेडसरलाई हामीले २०५८ वैशाख १६ गते विद्यालयबाट अपहरण गरी लगेका थियौँ आज १८ गते वडा सदस्य हस्तबहादुर नेपालको रोहवरमा रिहाइको घोषणा गरेका छाै ।” अनि मैले पनि हत्तपत्त मलाई माओवादी छापामारहरुले विद्यालयबाटै वैशाख १६ मा अपहरण गरी आज १८ गते राती १० बजे यस जराजुरी भवनमा वडा सदस्य हस्तबहादुर नेपाल र अभिभावकको रोहवरमा रिहाइ गरेको घोषणा गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु भनेँ ।
त्यसपछि आँशु बरर झ¥यो । छापामार कता गए मलाई थाहा भएन । कुन बेला घरमा पुग्ने होला भन्ने भइराथ्यो । बसाहाबाट राती घरमा ११ः१५ मा आइपुग्दा आजलाई आएन भनेर माया मादै परिवार र गाउँका मानिसहरु सबै सुतिसकेका रहेछन् । घरमा ढोका खोल्न भनेँ । तर एकातिर निद्रा अर्कोतिर डर भएकाले बल्ल ढोका खोले । घरमा सबै जिल्ल परे । गाउँघरका सबै जम्मा भए । पुनः रुवाबासी चल्यो । कोही रुने कोही हाँस्ने मिश्रित भयो । १२ बजेपछि सबै जना सुतियो । त्यो बेला मारेको भए आज २१ वर्ष भइसक्थ्यो मरेको । त्यसैले २० वर्ष अगाडिदेखि नाफाको जिन्दगी बिताइरहेको छु ।
यी माथिका सत्य घटनामा आधारित विषयवस्तुलाई म आफैँले समिक्षा गर्दा उपयुक्त हुन्छ कि जस्तो लाग्यो जो जसले यो घटनाक्रम अध्ययन गर्नुहुन्छ पुनः समीक्षा गर्न सहयोग मिल्नेछ भन्ने ठानेको छु ।
वि.सं. २०५२ सालमा डा. बाबुराम भट्टराईले शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेलामा ४० बुँदे माग राखेका थिए उक्त माग पुरा नभए युद्ध हुने कुरा राखेको कुरा त तपाईँ हामी सबैलाई थाहा छ । गरीब जनताको हवाला दिँदै जनताको शासनको लागि भनेर २०५२ फाल्गुण १ गतेबाट माओवादी भूमिगत भई जनयुद्ध अगाडि बढाए छापामारको संख्या बढाउँदै लगे । गाउँका अलिकति दुःख गरेर आफ्नै खेतबारीबाट उब्जाएर खान सक्ने र थोरै भए पनि रोजगार गरेर आम्दानी गर्नेलाई सामन्तीको संज्ञा दिएको मात्र होइन ज्याँदै अमानवीय व्यवहार गरे माओवादीले ।
गोलमेच सम्मेलन, संविधान सभा, गणतन्त्र आफ्नो बटमलाइन बनाए । तत्कालीन ७५ जिल्लामा व्यापकता बन्दै गयो प्रत्येक मानिस माओवादीहरुको चपेटामा परे । त्यसको प्रभाव मलाई पनि प¥यो । दुःख गरेर ५ कक्षा भएको स्कुललाई १० कक्षासम्म पु¥याउने काम गरेको थिएँ । २०४५ साल चैत्र १ गतेबाट नीलकण्ठ गा.वि.स. वडा नं. ६ स्थित महेन्द्र माध्यमिक विद्यालय (तत्कालीन प्राथमिक) मा नियुक्ति भई २०४८ साल फाल्गुण १५ गतेबाट प्र.अ. को जिम्मेवारी लिएको थिएँ । प्र.अ.को जिम्मेवारी लिएपछि मेरो मनमा हाइस्कुल खोल्नपर्छ भन्ने लाग्यो । तर पैसा छैन । म वि.सं. २०४२ सालमा SLC पास गरे पनि मासिक ३००।– रुपैयाँ नपाएर कलेज पढ्न जान नपाएको चोट थियो मलाई । धादिङबेंसीमा कलेज थिएन । त्यसबेला काठमाण्डौमा बसेर पढ्न ६००।– मासिक भए पुग्थ्यो । छात्रवृत्ति अलिकति पाउने भएँ । चामल घरबाट लाने विचार थियो तर तीन सय रुपैयाँ पुगेन, वर्षको ३६००।–, २ वर्षमा ७२००।– लाग्ने हो । त्यति पैसा कोहीबाट प्राप्त भएन र विज्ञान विषय पढ्ने भनेर महेन्द्र रत्न क्याम्पसमा भर्ना हुने भएर पनि छोड्न परेको चोट थियो मसँग ।
मलाई जस्तै चोट अरुलाई नपरोस् भन्ने मेरो धारणा थियो र अहिले पनि छ । अर्को कुरा म नियुक्तिको लागि विद्यालयमा जाँदा ५ महिनासम्म नियुक्ति हुन दिएका थिएनन् । त्यसबेला संचालक समितिले नियुक्ति दिनुपर्ने नियम थियो । बल्लबल्ल नियुक्ति भएँ ५ महिनापछि । वि.सं. २०४८ फाल्गुण १५ मा प्र.अ. नियुक्ति हुँदा पनि यसलाई प्र.अ. बनाउनु हुँदैन भनेर विद्यालयमा एमाले र माओवादीसँग नजिक रहेकाहरुले विद्यालयमा तालाबन्द गराएका थिए । बैगुनीलाई गुनले तिर्नुपर्छ भन्ने बुढापाकाको भनाइ मैले बुझेको थिएँ । त्यतिमात्र नभई म तिहारमा दिदी लिन नुवाकोट दाङसीङ जाँदा नीलकण्ठ न.पा. २ सिउँडीबार पुग्दा एकजना सानो नानी विद्यालयको पोशाकमा नै ठूलो डोको बोकेर अगाडि लागिन् म पछिपछि भएँ । मैले सोधेँ ती नानीलाई “घर कहाँ नानी ?” उनले भनिन् –“सिउँडीबार” । कति पढेको छ नानी मैले सोधेँ । ५ कक्षा पढेर छोडेको उनले भनिन् । किन पढ्न नगएको भन्ने जवाफमा के पाएँ भने ५ कक्षाभन्दा पढाइ हुँदैननी विद्यालयमा । मलाई चसक्क पा¥यो उक्त जवाफले ।
उता आफूलाई धादिङबेंसीमा कलेज नभएर पढ्न नपाएको, काठमाण्डौ जान ३००।०० रुपैयाँ नपाएको सम्झेर फेरि सोधेँ ६ कक्षा पढ्ने ठाउँ भयो भने पढ्ने हो त ? बाबाले पढाए पढ्छु जवाफ पाएँ । नुवाकोट जाँदा मनमा कुरा खेल्दै गयो र दिदीको घर नुवाकोट दाङसीङ पुगेँ । बेलुका खाना खाएर सुत्न लाग्दा मेरो मनले निर्णय ग¥यो अब गएर अभिभावकसँग सल्लाह गरेर हाइस्कुलसम्म खोल्ने काम गर्छु । त्यो रातको मेरो मनको निर्णय सफल पनि भयो । ०४९ सालदेखि क्रमैसँग ६, ७, ८ कक्षा भयो । २ वर्ष ९ कक्षामा लान सकिएन र २ वर्ष ८ कक्षासम्म चल्यो । पछि २०५४ सालमा ९ कक्षा सञ्चालन भयो । पहिलो ब्याज २०५५ सालमा पहिलो पटक धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका (तत्कालीन मैदी गा.वि.स.) स्थित समीभञ्ज्याङ मा.वि. मा गएर SLC दिए ।
यसरी काम गर्ने मानिसलाई वि.सं. २०५८ साल वैशाख १६ गते विद्यालयको अफिसबाटै माओवादी छापामारहरुले अपहरण गरे । किन गरे मैले बुझिनँ र अहिलेसम्म वास्तविकता के हो बुझेको छैन । जसले विकासको काम गर्छ, चेतनाको दियो जलाउँछ, सत्य बोल्छ, उनीहरुले त्यस्तो व्यक्तिलाई लखेट्ने, मार्ने र दुःख दिने गर्दा रहेछन् भन्ने लागेको छ । त्यसमा म परेको महशुस गरेको छु । अपहरणको समयमा मैले त दुःख पाएँ पाएँ त्यो छापामार टोलीले ज्यानको बाजी थापेर छापामार युद्ध चलाएको देख्दा ती बाँच्ने छापामारले अहिले के सोचिरहेका होलान् भन्ने मेरो मनमा कुरा खेलिरहेको छ । उनीहरुले खान नपाएको, कडा अनुशासनमा बसेको, रातभरि दुःख गरेका के का लागि रहेछन्, जनताको शासनको हवाला दिँदै छापामार दस्तामा सामेल भएका छापामारलाई र माओवादी बनेर हिँड्ने कार्यकर्तालाई अहिले कस्तो लाग्दो हो ? माओवादी उद्देश्य पूरा गरे त ? आम प्रश्न उब्जिएको छ ।
जनयुद्ध लड्दा जनतालाई आफ्नो पक्षमा प्रभाव पार्न उठाएका मुद्दा, शैक्षिक, आर्थिक, सामाजिक, सामाजिक न्याय, गरिबको शासन के माओवादी सत्तामा जाँदा पुरा गरे त ? सबैले मनन गर्नुपर्ने बेला आएको छ । माओवादीका नेतालाई सत्तामा पु¥याउन मात्र थियो त युद्ध ? विशेष गरी ती छापामार र माओवादी शुभचिन्तक भन्नेहरुको विचार गर्नुहोस् त एकछिन । मलाई जस्तै कतिलाई दुःख दिए होलान् त ? १७ हजार त मरिहाले अझ रेकर्ड नभएको कति छन् कति, बेपत्ता कति छन् कति । म जस्तालाई दुःख दिने, मार्ने गर्दा उनीहरुले के पाए ? माओवादीमा लागेर ज्यान, परिवार, सम्पत्ति गुमाउनेले के पाए ? म जिल्ल परिरहेको छु ।
म त साथीभाइ शुभचिन्तकको आशिर्वाद, मेरो अडान, तर्कले बाँच्न सफल भएँ र यो लेख लेख्ने मौका पाउँदै छु । मलाई अपहरण गर्न आउने जीवन, प्रज्ज्वल जस्ता छापामार मरेर उनीहरुको परिवारले आनन्दको सास फेर्न पाए त ? शिक्षा, स्वास्थ्य, रोजगारको अवस्था के होला ? विचरा ती परिवारको सदस्यलाई भेट्न पाए जस्तो यो मनमा लागिरहेको छ । मलाई अपहरण गर्न आउने मैले नचिनेका छापामारहरु आधाजसो त युद्धको समयमा मरे भनेको सुन्थेँ । माओवादीमा लागेर घाइते भएकाहरुको अवस्था, अयोग्य लडाकु भनेर फालिएकाहरुको अवस्था के होला अहिले ? उसका परिवारले के सोचेका होलान् ? जालझेल, स्वार्थ, पदमा लुप्त नेता र राजनीतिको लागि लडेका थिए होलान् त ? समीक्षात्मक लेख लेखिरहँदा सबै लेख्न असमर्थ छु बेलाबेलामा अवरुद्ध हुन्छ सम्झदा ।
पहिलो संविधान सभाको निर्वाचनमा सबैभन्दा ठूलो दल भई प्रचण्डको नेतृत्वमा सत्तामा पुग्दा, उक्त सरकार संविधान नबनाई १ वर्षमा आफैले ढाल्दा माओवादी दल फुट्दा वैद्य र प्रचण्डका २ दले हुँदा, विचरा माओवादी कार्यकर्ता, छापामार, शुभचिन्तकको मनमा के भएको थियो होला ? त्यत्तिमात्र नभई पहिलो संविधान सभाको निर्वाचनपछि बनेको ४ वटा (२ माओवादी र २ एमाले) कम्युनिष्ठ सरकारले संविधान बनाउन नसकि संविधान सभा नै विघटन गरिदिँदा र दोस्रो संविधान सभाको निर्वाचन २०७० पछि बनेको नेपाली काँग्रेसको सुशिल कोइरालाको नेतृत्वमा सरकार गठन भएको र २०७२ आश्विन ३ गते नेपालको संविधान घोषणा हुँदा कम्युनिष्ठ विशेष गरी माओवादीलाई कस्तो भाथ्यो होला ? विश्लेषणको पाटो बनेको छ । उहाँहरुले विश्लेषण गर्नुपर्छ यस बारेमा ।
अहिले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्था छ । जनताको अधिकारको लागि सङ्घीयता भनिएको छ । नेपालमा यो व्यवस्थाभन्दा सुन्दर अर्को व्यवस्था हुन सक्दैन । किनभने जनताको छोराछोरी नागरिकमध्ये रो.नं. १ मा पुगेका छन्, राष्ट्रप्रमुख भएका छन् । राष्ट्रप्रमुख भन्दा अर्को जाने ठाउँ कहाँ छ त ? मैले चाहिँ देखेको छैन । अब नेताहरुले जनतासँग कहाँ पु¥याइदेऊ भन्ने होलान् ? अब कुन व्यवस्था आएपछि जनता र देशको विकास हुन्छ नेताज्यू भनेर जनताले सोध्न पर्ने बेला भएको छ । अहिले व्यवस्थामा नपाएको रोजगार, शिक्षा, सामाजिक न्याय अरु कुन बेलामा पाउँछौँ भनि हामीले देशका नेतालाई प्रश्न सोध्नुपर्छ । गणतन्त्र घोषणा भएको १२/१३ वर्ष भइसक्दा पनि जनता रोएर बस्नुपर्ने किन नेताज्यू भनेर सम्पूर्ण तपाईँ हामी जस्ता जनताले सोध्नुपर्ने बेला बित्न लागि सक्यो ।
म जस्ता धेरै अपहरणमा परेर मारिएका छन् । घाइते, अपाङ्ग बनाइएका छन्, कतिको काख रित्तो भएको छ, कत्तिको सिउँदो पुछिएको छ, कति बालबालिकाले बाआमा चिन्न पाएनन्, कतिलाई बाआमाको क्रिया बस्दाबस्दै लगेर अमानवीय व्यवहार गरेर मारिएका छन् । विचरा पढाउने शिक्षकको के गल्ती थियो र रुखमा बाँधेर गोली ठोकिएको थियो । त्यस्तै सरकारबाट पनि ज्याजति नभएको होइन । जताबाट भए पनि त्यो राम्रो काम थिएन तर म बाँचे आफैँ दङ्ग छु । मैले त नेताहरुले गरेको कुकृत्य भनेनी देख्न पाएको छु अन्य मर्नेले के पाए ?
माओवादीमा लागेर ज्यान गुमाएका, अपाङ्ग भएका र घर छोड्न बाध्य भएकाहरु र प्रजातन्त्रका लागि भनेर लागि परेर बस्ने त्यसकै कारणले माओवादीहरुले मारेका, घाइते, अपाङ्ग बनाएका, अपहरण गरेर दुःख दिएकाहरुले के पाए भन्ने सन्दर्भमा विश्लेषण गर्न उपयुक्त ठानेँ । माओवादीमा लागेर ज्यान गुमाउनेले माओवादीको तर्फबाट श्रद्धाञ्जली पाए २/४ वर्षको वार्षिकीमा । अब त त्यो पनि हरायो । घाइते अपाङ्गले २/४ पटक नेताहरुको भेट पाए अहिले त्यो पनि हरायो । उसका परिवारको अवस्थामा कसैको ध्यान छैन । माओवादी बनेर अरुलाई शत्रू देखि मार्नेले गल्ती गरिएछ भन्दै अहिलेसम्म पश्चातापमा परेका छन् । माओवादी नेतृत्वमा जानेले मरेको मानिसबाट राजनीति गर्न पाए ।
अब आफ्नो विचार बेच्नुहुन्न माओवादी बन्न हुन्न प्रजातन्त्र चाहिन्छ भनेर माओवादीको विपक्षमा लाग्दा माओवादीबाट मारिएका र घाइते भएका व्यक्ति र उसका परिवारले के पाए ? त्यो पनि झन् मनन् योग्य छ । माओवादीबाट मारिनेले यदि लासमा फूल चढाउन जाने आँट गर्ने नेता रहेछ भने श्रद्धाञ्जली पाए नेताबाट । त्यो पनि गइस् भने माओवादीले मार्दिन्छु भनेको भए लास हेर्न पनि गएनन् होला । घाइतेले चुनावको बेलामा नेताको भेट पाउँछन् त्यो भन्दा बाहेक मैले देखेको छैन । देशका सबै दल र दलका नेताहरुबाट राज्यपक्ष र माओवादी पक्षबाट घाइते भएका अपहरणमा परेका र मृतकका परिवारले आशु मात्र पाएका छन् भन्ने मेरो विश्लेषण छ ।
सम्पूर्ण जुन दलका भएपनि देशका जनता र युद्धको चपेटामा परेर दुःख पाएकाहरुलाई देशका नेताहरुले गर्नुपर्ने केही कार्यहरु छन् जसले गर्दा दुःख पाएका, न्याय नपाएका जनताले सकारात्मक अनुभूति गर्न सकून् । जस्तै : स्थायित्व शासन, देशमा नै रोजगारको व्यवस्था, सामाजिक न्याय, भ्रष्टाचारमुक्त समाज, राष्ट्रियताको जगेर्ना, देश जोगाउने परराष्ट्र नीति आदि । पहिलो राष्ट्र, दोश्रो जनता, तेस्रो आफ्नो राजनैतिक दल, चौँथो दलभित्रको आफ्नो गुट र पाँचौँ आफू (म) लाई प्राथमिकतामा राख्नुभयो भने सच्चा नेता बन्न सक्नु हुनेछ ।
अर्को साझा विश्लेषण गर्दा अब यो व्यवस्था असफल भयो भने एकतन्त्रीय शासन आउँछ, यो राजनीतिको चक्र हो कस्तो एकतन्त्रीय म जान्दिनँ व्यक्तिको हो कि सिद्धान्तको । एकतन्त्र चाहिँ पक्का हो ।
एउटा जानकारी रहोस् अपहरणमा परेर ज्यान बचेर आएसी पनि स्कुल र विद्यार्थीको हितमा लाग्दालाग्दै वि.सं. २०६१ साल वैशाख २७ गते २०/२५ जना छापामार मेरो घरमा मलाई मार्न आएपछि महेन्द्र मा.वि. साँखुबाट नीलकण्ठ मा.वि.मा सरुवा भई वि.सं. २०६१ जेठ ८ गतेबाट अध्यापन गराइराखेको छु र सबै दल व्यक्तिले गरेका अन्यायको विरुद्धमा बोलिरहेको छु । पछि किन मार्न आए मैले बुझेको छैन । मेरो जीवनमा घटेका घटनाहरु धेरै छन्, प्रसङ्ग मिलेको अवस्थामा प्रस्तुत गर्ने नै छु । अपहरणमा परेको बेलादेखि वर्तमान समयसम्म आइपुग्दा केही सिकाइ ज्ञान तथा प्रयोगात्मक जस्तै अनुभव प्राप्त गरेको छु ।
यो लेखले कसैको मनमा चोट पुगे सत्य घटनामा आधारित २० वर्ष अगाडिदेखि नाफाको जिन्दगी बिताइरहेका एक व्यक्तिको जीवनकथा हो भनेर बुझ्नु हुन अनुरोध गर्दछु ।