महिला अधिकारमा नेपालले अझ धेरै गर्नु छ

“नारी पुरुष सरोबरी, सँधैभरि बरोबरी” भन्ने तथ्यलाई हृदयङ्गम गर्दै प्रत्येक वर्ष मार्च ८ का दिन विश्वभर नारी दिवस मनाइरहँदा हामी सम्पूर्ण नारी र पुरुषलाई शुभकामना दिन चाहन्छौं। महिलाहरूको हकमा यो दिनले विशेष महत्व राख्ने गर्दछ किनभने यो दिनले विशेषरूपमा लैङ्गिक समानताको व्यापक वकालत त गर्छ नै, नारीविरुद्ध हुने अपमान, हिंसा र असमानताबारे कडा प्रतिवाद गर्न नारीहरूलाई जागरुक पनि बनाउँछ। यस दिनले नारी र पुरुष दुवैलाई महिलाप्रति सम्मानको बोध पनि गराउँछ।

क्लारा जेट्किनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवस आरम्भ गरेकी हुन भन्ने मानिँदै आएको छ। उनैले नेतृत्व गरेको आन्दोलनले अन्तर्राष्ट्रियस्तरमा महिलाको श्रम, हक र अधिकारका पक्षमा व्यापक पक्षपोषण गर्न सफल भएपछि संयुक्त राष्ट्रसंघले आफ्नो वार्षिक कार्यक्रमका रूपमा अन्तर्राष्ट्रिय महिला दिवसलाई मान्यता दिएको थियो ।

सन् १९०८ मा न्यूयोर्क सिटीमा १५ हजार महिला भेला भएर काम गर्ने समय घटाउनुपर्ने, महिलालाई पनि उचित ज्याला दिनुपर्ने र उनीहरूलाई पनि मतदानको अधिकार हुनुपर्ने माग सहित र्‍याली गरेपछि त्यसको बीजारोपण भयो। त्यसकै एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो।

यसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने उपाय क्लारा जेट्किनको पहिलो आवाज थियो भने उनले सन् १९१० मा कोपनहेगनमा भएको कामकाजी महिलाको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा उनले नै यो उपाय सुझाएकी हुन्। त्यस सम्मेलनमा १७ देशका १ सय महिला सहभागी थिए र उनीहरू सबैले जेट्किनको सुझावमा सहमति जनाएका हुन्।

इतिहासको पाना पल्टाउने हो भने प्रथमपटक अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विट्जरल्यान्डमा सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको थियो। संयुक्त राष्ट्रसंघले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पायो।

संयुक्त राष्ट्रसंघले संसारका महिलामा जागरण ल्याउने र पिछडिएको अवस्थामा रहेको अनुभूति नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय नारी दिवस मनाउने परम्परा थालनी गरिएको हो। फरक–फरक वर्षमा फरक–फरक दिनमा मनाउँदै आएका भएता पनि सन् १९१४ देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मार्च ८ तारिखमा मनाइने गरी निश्चित मिति तोकियो।

नेपाली पञ्चाङ्गअनुसार यो दिवस फागुन २४/२५ गते तिर पर्दछ। यसरी संसारका विभिन्न देशले अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा नेपालले तत्कालिन प्रधानमन्त्री वी.पी. कोइरालाको पालामा अर्थात् वि.सं.२०१६ सालदेखि नियमितरूपमा मनाउन थालिएको पाइन्छ।

अहिले अन्तर्राष्ट्रिय महिला दिवस भन्ने बित्तिकै आज नारीहरू समाज, राजनीति र आर्थिक क्षेत्रमा कहाँ आइपुगे र महिलाको सामाजिक प्रतिष्ठा के छ भनेर मनाउने दिन बनेको छ। तर यो दिनको राजनीतिक धरातल भने निरन्तरको असमानताबारे चेतना जगाउनका लागि आन्दोलन र प्रदर्शन आयोजना गर्ने आन्दोलनको एउटा स्वरूपको रूपमा मनाउँदै आएको पाइन्छ।

यसरी हरेक वर्षको मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै आइरहकोमा सन् १९७२ डिसेम्बर १८ का दिन संयुक्त राष्ट्रसंघको साधारणसभाले एक प्रस्ताव पारित गरेर सन् १९७५ लाई अन्तर्राष्ट्रिय नारी दिवस र अन्तर्राष्ट्रिय नारी वर्षका रूपमा मनायो। जसमा संसारका विश्वभरका सबै नारी पुरुष सरह स्वतन्त्र र वन्धनमुक्त होउन्, उनीहरूमा पनि जागरण पैदा होस् र पुरुषमा पनि महिला स्वतन्त्रता र महिला अधिकार आवश्यक छ भन्ने भावनाको विकास होस् भन्ने विश्वव्यापी मान्यता रहेको थियो।

महिलालाई सम्मान र समाजमा समान हैसियतमा राख्नु सबैको कर्तव्य पनि हो। पछिल्ला दिनहरूमा महिला हिंसासम्बन्धी निकै घटनाहरू हुने गरेका छन्। समयमा नै न्याय निरूपण नहुँदा समाजमा महिलाप्रतिको विभेद अझै कायम छ की भन्ने आभास आम महिलावादी आन्दोलनकर्मीहरूले अनुभूत गर्दै आएको विषय हो। यस सन्दर्भमा नेपालमा पछिल्ला दिनहरूमा घटेका महिला हिंसासम्बन्धी घटनाहरूमा सम्बन्धित निकायबाट समयमा नै दोषीलाई न्यायको कठघरामा उभ्याउने कार्यको थालनी हुन सक्यो भने महिलाप्रतिको सम्मानलाई थप उर्जा मिल्ने नै छ।

आमाको काख, दिदी–बहिनीको स्नेह, श्रीमती अनि मायालुको माया, यी सबै नारीपात्र अनि यिनको प्रगाढ मायाको पछ्यौरी भित्र नै एउटा पुरुषको जीवनका अवयव चलायमान हुन्छन्। आज तिनै नारीहरूको सम्मान र हार्दिकतालाई स्वीकार गर्दै मार्च ८ का दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ। अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकताको एक महत्वपुर्ण दिवस पनि हो।

महिला दिवसका दिन संसारभरि विभिन्न कार्यक्रम गरी सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयाममा नारीहरूको सक्रिय सहभागिता अनि नेतृत्वको प्रशंसा गरिन्छ। संसारमा लैङ्गिक समानता एउटा अभियान केवल औपचारिक र लमतन्न नारा मात्र भएको छ। अति विकसित भनिएका देशहरू पनि नारी उत्पीडन पनि असमानताका मुद्दाहरू लुकाएर बसिरहेका छन् भन्ने विभिन्न पटक प्रकाशित समाचारहरूबाट पनि प्रष्ट भएको छ।

नेपाल पनि यसपाला नारी समानतामा एउटा युगान्तकारी, गौरवशाली अनि संसारलाई नै उदाहरणीय कदम चाल्ने क्रममा नै छ। मुलुकको सबैभन्दा उच्च पद राष्ट्रपति पनि महिला नै आसिन भएको हामीले देख्न पाएका छौं। केही वर्ष अघि त झन् प्रधानन्यायाधीश र सभामुख पनि महिला नै थिए। संसद र शासकीय संरचनामा पनि महिला उपस्थिति बढ्दो क्रममा छ। त्यस्तै नेपालका ठूला राजनीतिक दलहरूमा पनि महिलालाई राजनीतिमा उचित स्थान दिनुपर्छ भनि आफ्नो सांगठनिक संरचनामा व्यापक परिवर्तन गरी समावेशी र सहभागितामुलक संगठनको ढाँचा तयार गरेको पाइन्छ।

आज संसारले यसअर्थमा नारी दिवसको यो दिन नेपालीले राष्ट्रको महत्वपूर्ण नेतृत्व तहमा मातृत्वलाई गरेको छनौटलाई बेवास्ता गर्न सक्दैन। तर पनि कमजोर कानुनी प्रावधान अनि नेपाली समाजको पैतृक लैङ्गिक संरचनाका कारण दैनिकजसो समाचारमा महिला हिंसाका कैयन घटना सार्वजनिक हुने गर्छन्। कति कानूनी उपचारको बाटोमा लाग्छन् भने कति घटना समाजका अनेक मुखौटाबीच लुकाइन्छ, दबाइएन्छ। यसले वास्तविक महिलाको सामाजिक विकासमा पुर्‍याएको योगदानको अवमुल्यन गरेको छ।

यसरी विश्वव्यापीरूपमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालेपछि विभिन्न क्षेत्रमा नारीको सहभागिता बढ्न थाल्यो। श्रीलङ्कामा श्रीमती सिरिमाओ बन्दरानाइके, भारतमा श्रीमती इन्दिरा गान्धी, बेलायतमा श्रीमती मार्गरेट थ्याचर, पाकिस्तानमा श्रीमती बेनजिर भुट्टो, बंगलादेशमा जियाउर रहमानकी छोरीसमेत प्रधानमन्त्री बनेर देशको बागडोर सम्हाल्न पुगे।

नेपालमा प्रधानमन्त्री वीपी कोइरालाको प्रधानमन्त्रित्व कालमा द्वारिकादेवी ठकुरानीको मन्त्रिमण्डलमा प्रवेश, शुशिला कार्कीको सर्वोच्च अदालतमा प्रधान न्यायाधीशको रूपमा हुनु प्रवेश हुनुका साथै अहिले आएर नेपालको प्रमुख राजनीतिक पद राष्ट्रपति पदमा महिला पुग्नु भनेको यो सवालमा विश्व इतिहासमा नेपाल अग्रपंक्तिमा देखा पर्नु हो। यसलाई महिलाप्रतिको सम्मानको सकारात्मक रूपमा लिनुपर्छ। तर यो एउटा प्रयास मात्र हो। राज्यको हरेक अङ्गमा महिलाको समान सहभागिताको अपेक्षा आम नेपाली महिलाहरूले गरिरहेका छन्।

विश्वका महिलाहरूले नेपालका महिला सहभागिताको उदाहरण देखेर गर्वको अनुभूति गर्नु परेको छ। यो उदाहरण नै अन्तर्राष्ट्रिय नारी दिवस र अन्तर्राष्ट्रिय नारी वर्षको उपदेयीता हो। यसप्रकार नेपालमा एकै समयमा राजनीतिक र न्यायिक उच्च पदमा महिला सहभागी हुनुले विश्वमा महिला सहभागितमा नेपाल अझ बलियो बन्दै गएको छ।

यति हुँदा पनि नेपालका महिलाले अधिकार पाइएन, पुरुषको दास भएर बस्नुपर्‍यो, भात भान्सामा रुमल्लिनु पर्‍यो भन्नु मानसिक रूपमा कमजोर महशुस गर्नु हो। सक्षम र सवल महिलाहरू समाजका हरेक अङ्गमा अग्रस्थानमै छन् र प्रयास पनि जारी रहने छ।

धनकी देवी लक्ष्मी, विद्याकी देवी सरस्वती र शक्तिकी देवी दुर्गा भनेर नारीलाई पूजा गर्ने हाम्रो नेपाली समाज महिलालाई भने पुरुष समान व्यवहार गर्ने गरेको पाइदैँन। यो एउटा कमजोरी हो।

महिला हिंसा, विभेद र शोषणका घटनाका समाचार पत्रपत्रिकामा छापिनै रहेका छन्। अझै पनि हाम्रो समाजमा कहिँ–कतै जन्म उत्सवदेखि मृत्यु संस्कारसम्ममा भेदभाव र अपहेलना गरिन्छ। तर त्यो पनि धेरै महिलाको साहस र सहभागिताले अन्त्य होला भन्ने विश्वास छ।

हाम्रो समाजले अवलम्बन गर्ने धार्मिक एवं सांस्कृतिक मान्यताले नै महिला र पुरुषलाई असमान गराई विभेद गरेको तीतो यथार्थ हरेकको मानसपटलमा बसिरहेको छ। आजको २१ औँ शताब्दीको यो वैज्ञानिक एवं विश्व भूमण्डलीकरणको युगमा समेत पितृसत्तात्मक सोच, अशिक्षा, गरिबी, विभेदपूर्ण कानुनका कारण जबरजस्ती करणी, यौन दुव्र्यवहार, एसिड आक्रमण, आगो लगाउने, घरेलु हिंसा, सामाजिक अपहेलना, दाइजो प्रथा लगायतका अमानवीय व्यवहार सहन बाध्य भएका छन् नेपाली महिला।

एक नदीका दुई किनार अथवा एक रथका दुई पाङ्ग्राको रूपमा नारी–पुरुष समान भनी आवाज उठाए पनि व्यवहारमा भने नारीलाई यो दर्जा मिल्न सकेको छैन। प्रत्येक वर्ष मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय नारी दिवस कुनै उत्सव नभई उत्पीडित महिलाको लैंगिक हिंसा विरुद्धको आवाज बुलन्द पार्न एउटा सहभागितामूलक समावेशिता र सहकार्य गरी अगाडि बढ्ने समाजमा महिलाको पहिचानको रूपमा बनाउनु पर्दछ भन्ने हो।

महिला हिंसा अन्त्य गरी भय रहित वातावरणमा महिलाले जीवन जिउन सक्ने अवस्थाको सिर्जना गर्नु यस दिवसको मुख्य लक्ष्य हो। राजनीतिक तवरबाट शुरू भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र महिला समानता आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन्।

सन् २०२० मा अन्तर्राष्ट्रिय महिला दिवसका दिन किर्गिस्तानमा दर्जनौँ महिलालाई प्रहरीले गिरफ्तार गरेको थियो। अन्तर्राष्ट्रिय महिला दिवस अभियानले भनेको छः झन्डै एक शताब्दीसम्म लैङ्गिक समानता हुनेछैन। हामीमध्ये कसैले पनि यो जीवनकालमा लैङ्गिक समानता देख्न पाउने छैनौ र हामी धेरैका सन्तानहरूले पनि देख्ने छैनन्। के यो सत्य हो त ?

यूएन वुमिनले सार्वजनिक गरेको हालैको तथ्याङ्कले कोरोना भाइरसको विश्वव्यापी महामारीले २५ वर्षको बढ्दो लैङ्गिक समानतालाई पछाडि पार्ने खुलासा गरेको छ। महामारीका कारण महिलाहरू घरको चौघेरामै सीमित भएर घरायसी कामकाज र परिवारको रेखदेख गरिरहेका छन्। यसले गर्दा महिलाको जागिर र शैक्षिक अवसरहरूलाई असर गर्नेछ।

कोरोना भाइरस महामारी फैलिन थालेको बेलामा सन् २०२० मा विश्वभरि र्‍यालीहरू भए। किर्गिस्तानको राजधानीमा सन् २०२० मा भएको प्रदर्शनमा दर्जनौँ महिलालाई प्रहरीले गिरफ्तार गरेको थियो। अभियानकर्मीहरूले महिलाका अधिकारहरू खस्किँदै गएको बताएका छन्। यस्तै अफगानिस्तानमा पनि पछिल्लो राजनीतिक परिवर्तनले विगतमा भएका महिला अधिकार र सम्मानलाई खुम्च्याएको छ। यसरी महिला आन्दोलनका स्वरूपहरू देखा परेको पाइन्छ।

पाकिस्तानमा पनि हिंसा र मुद्दा लाग्न सक्ने धम्की दिइए पनि थुप्रै सहरमा र्‍यालीहरू भएका थिए। मेक्सिकोमा महिलाविरुद्ध हिंसा बढ्दै गएको भन्दै ८० हजार मानिस सडकमा ओर्लिएका थिए। त्यसक्रम सुरक्षाकर्मीले बल प्रयोग गर्दा मा ६० भन्दा बढी मानिस घाइते भएका थिए। विगतका केही वर्षमा हामीले प्रगति देखेका छौँ र महिला आन्दोलन विगतमा कहिल्यै नपुगेको उचाइमा पुगेको छ।

यसको निरन्तर खबरदारीको रूपमा ८ मार्च, महिला दिवस मनाउन आजको आवश्यकता हो। नेपालमा पनि अहिलेसम्म महिला आन्दोलनको स्वरूप वदलिए तापनि अधिकारको लागि निरन्तर रूपमा सजग भई खबरदारी गरिरहनु आजको महिला दिवसको सान्दर्भिकता भइरहने छ।

(श्रोत: INS NEWS-स्वतन्त्र समाचार)

Leave a Reply

Your email address will not be published.