महासचिव शर्मा उपाध्यक्षको उम्मेदवार

गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्माले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । महासचिव भएपछि आफूले सुरू गरेका रूपान्तरणका प्रयासलाई सार्थक पार्न नेतृत्वमा आउन चाहेको बताए ।

‘मैले संस्थामा केही परिवर्तन गर्छु भनेर सार्वजनिक गरेका प्रतिबद्धताहरू पूरा हुने अवस्थामा छन् ती एजेण्डाको स्थायीत्व र संस्थागत गर्न चुनौती छन्,’ उनले भने,‘ आगामी कार्यकालमा अहिले सुरूवात गरिएका कामलाई पूर्णरुपमा संस्थागत गर्नेमा लाग्नेछु ।’

भौतिकशास्त्री डा. शर्माले  महासचिवमा निर्वाचित भएपछि स्मार्ट एनआरएनएअन्तरर्गत विश्वभर छरिएका ८० भन्दा बढी देशका पन्जिकृत सदस्यहरुलाई केन्द्रीय प्रणालीमा जोड्ने, अनलाइन भोटिङ, निःशुल्क प्रतिनिधि दर्ताजस्ता महत्पूर्ण निर्णय गराउन सफल भए । उनले विशेष महाधिवेशनमार्फत विधान संशोधन गरेर संघलाई रुपमान्तरण बाटोमा अघि बढाएका हुन् ।

कुशल प्रशासक समेत रहेका डा. शर्माले काठमाडौंस्थित संघको सचिवालयलाई चुस्त राख्न र पुर्नरसंरचना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे । डा. शर्माले विश्वव्यापी कोरोना महामारीमा विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धारको लागि संयुक्त राष्ट्रसंघ समक्ष पुगेर आवाज बुलन्द गर्दै गैरआवासीय नेपाली संघलाई पहिलो पटक अन्तराष्ट्रिय दातृ निकायसँग सहकार्यको सुरुवात गरेका थिए ।

डा. शर्मा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन् । १५ भन्दा बढी विद्यार्थीको विद्यावारिधि ‘सुपरभाइज’ गरिसकेका उनले आफ्नो नेतृत्वमा गत वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन गरेका थिए ।

डा. शर्मा संघको परिमार्जित नयाँ विधान २००७ को खाका र नियमावलीका मस्यौदाकार समेत  हुन् ।  बाग्लुङको अमलाचौरमा जन्मिएका शर्मा एनआरएनभित्रका सकृय प्राज्ञिक व्यक्तित्वको  रुपमा परिचित छन् । उनले भौतिकशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट गोल्डमेडल समेत हासिल गरेका छन् ।

उनले सन् १९९७ मा जापानको रिक्यो विश्वविद्यालयमा मास्टर्स कोर्स गरेका थिए । १९९८ मा इटालीबाट थप मास्टर्स डिग्री हासिल गरे । उनले सन् २००२ मा फ्री युनिभर्सिटी बर्लिनबाट ‘फिजिक्स’ मा पिएचडी गरेका हुन् ।

सन् २००५ मा एनआरएन जापानको महासचिवको जिम्मेवारी सम्हालेका शर्माले सन् २००७ मा बेलायत गएसँगै त्यहाँको आइसीसी सदस्यमा मनोनित भए । उनी एनआरएनए विधान समितिका संयोजक थिए ।

संघका संस्थापक तथा सबै पूर्वअध्यक्षहरुसँग निकट रहेर काम गरेको अनुभव बटुलेका शर्माले पूर्वअध्यक्ष जीवा लामिछानेको कार्यकालमा प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।

Leave a Reply

Your email address will not be published.