महासचिव एन्टोनियो गुटेरेस १२–१५ कात्तिकसम्म नेपाल भ्रमणमा, १४ कात्तिकमा संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा दसैँलगत्तै नेपाल भ्रमणमा आउन लागेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले १४ कात्तिकमा संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार संसद् सचिवालयलाई पत्र पठाउँदै संसद्को संयुक्त सदनमा महासचिव गुटेरेसको सम्बोधनको प्रबन्ध मिलाउन अनुरोध गरेको छ ।

 

सरकारको आग्रहअनुसार सचिवालयले महासचिव गुटेरेसको सम्बोधनको तयारी थालेको हो । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले मन्त्रिपरिषद् कार्यालयबाट १४ कात्तिकमा राष्ट्रसंघका महासचिवको सम्बोधन गर्ने प्रयोजनका लागि पत्र प्राप्त भएको र सचिवालयले आवश्यक तयारी थालेको बताए । महासचिव गुटेरेसको भ्रमणलाई केन्द्रित गरी प्रतिनिधिसभाको बैठक १२ कात्तिकमा आह्वान गरिएको छ । दुवै सदनको संयुक्त बैठक बस्ने निर्णय भएको छ ।

‘महामहिम गुटेरेसले १४ कात्तिकको अपराह्न ४ बजे संघीय संसद्को संयुक्त सदनलाई सम्बोधनका लागि आवश्यक व्यवस्थाका लागि अनुरोध भई पत्र आएको छ,’ उनले भने, ‘सचिवालयले आवश्यक तयारी गर्दै छ । संवैधानिक निकायका प्रमुख, राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिलगायतलाई आमन्त्रण तथा अन्य आन्तरिक तयारी भइरहेको छ ।’

महासचिव गुटेरेस १२–१५ कात्तिकसम्म नेपालको औपचारिक भ्रमणमा आउँदै छन् । महासचिव गुटेरेस आउँदै गर्दा संसद्ले इजरायल र गाजापट्टीमा भएको हमलामा मारिएका बालबालिका तथा नागरिकको सम्झनामा दुःख व्यक्त गर्ने तयारीसमेत छ ।

सन् २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको संघीय संसद्मा त्यसयता विदेशी राष्ट्रप्रमुख तथा विश्वव्यापी संस्थाका पदाधिकारीले सम्बोधन गरेका छैनन् । मोदीपछि महासचिव गुटेरेसले विदेशी पाहुनाका रूपमा सम्बोधन गर्न लागेको प्रवक्ता गिरीले बताए ।
परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटेरेसको सम्बोधन विश्व शान्ति, नेपालको शान्ति प्रक्रिया, संक्रमणकालीन न्यायको विषयमा केन्द्रित हुनेछ । परराष्ट्रमन्त्री

एनपी साउदले महासचिव गुटेरेसको भ्रमणको तयारी भइरहेको बताए । भ्रमणको कार्यतालिका मन्त्रालयले सार्वजनिक गरिसकेको र सोहीअनुसार तयारी भइरहेको उनको भनाइ छ ।

महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रियाबारे सम्बोधन गर्दै गर्दा विस्तृत शान्ति सम्झौता भएको १७ वर्षसम्म पनि संक्रमणकालीन न्याय टुंगिएको छैन । अपूरो कानुन बन्दा सर्वाेच्च अदालतले नै पूर्ण कानुन बनाउन आदेश दिए पनि संसद्ले अझै कानुन बनाउन सकेको छैन । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दलहरू चारवटा विषयमा सहमतिमा पुग्न सकेका छैनन् ।

टिआरसी विधेयक लामो समयदेखि प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा अड्किएको छ । उपसमितिले विवाद थाती राखेर प्रतिवेदन बुझाए पनि पूर्ण समितिले सहमति जुटाउन नसक्दा संसद्मा आउन सकेको छैन । महासचिव गुटेरेसको भ्रमणलाई लिएर दलहरूले अग्रसरता देखाए पनि निष्कर्षमा पुगेको छैन ।

परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटेरेसलाई नेपाल सरकारले सरकार प्रमुखको कूटनीतिक मर्यादा दिएको छ । नेपाली सेनाले उनको सुरक्षाको प्रबन्ध गरेको छ । महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरेलगायत उच्च पदाधिकारीसँग भेट्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *