त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । गैरकानुनी लाभ लिने प्रयास गरेको विषयमा जाँचबुझका लागि निलम्बन गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएको मन्त्रालयले जनाएको छ । ‘… सो विषयमा जाँचबुझ गर्ने सिलसिलामा निजलाई पदबाट निलम्बन गर्न माननीय मन्त्रीस्तरीय निर्णयानुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई लेखी पठाइएको छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
सो विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जानकारी गराइएको पनि विज्ञप्तिमा उल्लेख छ ।