मधेशी दलले संविधान संशोधनको एजेण्डालाई सत्तामा जाने बाटो बनाए : जयप्रकाश गुप्ता

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा मधेशी दलको उपस्थितिलाई तपाइले कसरी मूल्यांकन गर्नुभएको छ ?
— प्रदेश नम्बर २ मा मधेशका दुईवटा पार्टी संघीय समाजवादी फोरम नेपाल र राजपाले राम्रो परिणाम ल्यायो जुन अस्वाभाविक थिएन । यसलाई जति नै उत्साहप्रदक माने पनि समग्र मधेश आन्दोलनको आशय र उद्देश्यलाई विचार गर्दा त्यति स्वाभाविक लाग्दैन । संविधानको पहिलो संशोधन, जुन मधेश आन्दोलनबाट भएको थियो त्यस संशोधनले नेपालको पश्चिमी भेगका तराईको २० वटा जिल्लालाई मधेश भनेर संस्थापित गराएको थियो त्यो मान्यता विखण्डित भएको छ । २० जिल्लाबाट मधेश संकुचित भएर आठवटा जिल्लामा सीमित हुन गएको हामी देख्दछौं । आठवटा जिल्लाको निर्वाचन परिणामलाई उत्साहजनक नै मान्नुपर्छ तर मधेशको क्षयीकरण भयो, मधेश नोक्सानमा प¥यो र मधेशले पहिलो मधेश आन्दोलनबाट जुन आफ्नो भौगौलिक मान्यता स्थापित गरेको थियो त्यो खण्डित हुनपुग्यो ।

 

० प्रदेश नम्बर २ मा मधेशकेन्द्रित दलको यस्तो परिणाम आउनुमा अन्य केही कारणहरू पनि छन् कि ?
— जसरी मधेशको भावनालाई लत्याएर संविधान जारी गर्ने काम भयो र मधेशी जनताको भावनाअनुसार कांँग्रेसले छल गरेर र एमालेले सोझो भाषामा संविधान संशोधनलाई अस्वीकार गरेर जुन राजनीति अगाडि बढाए, त्यस विषयको आलोकमा यो परिणाम स्वाभाविक नै हो ।

 

० प्रदेश नम्बर २ को निर्वाचनको परिणामले संविधान संशोधनको माग अनुमोदन गरेकै हो त ?
— कपटपूर्ण संविधान जारी गर्ने नेपाली कांँग्रेस, नेकपा एमाले र माओवादी केन्द्र तीनवटै पार्टीले यो निर्वाचनलाई संविधानको कार्यान्वयनसँग जोडेका थिए । उनीहरूको मुख्य राजनीतिक विषय नै यो निर्वाचन सम्पन्न भयो भने संविधानको कार्यान्वयन हुन्छ र संविधानको कार्यान्वयनको अर्थ नै उनीहरूले सात प्रदेशको जुन संघीयताको प्रारूप प्रस्तुत गरेका थिए, त्यसले मान्यता पाउँछ भन्ने थियो । उनीहरूले समावेशीकरणको जुन सिद्धान्तलाई संविधानमा बलजफ्ती राखेका थिए, त्यसले मान्यता पाउँछ अर्थात् समग्रमा उनीहरूले जुन राज्यव्यवस्थाको परिकल्पना यस संविधान मार्फत गरेका थिए । यो निर्वाचन सफल हुँदाखेरी त्यसले मान्यता पाउँछ तसर्थ कांग्रेस र वाम गठबन्धनले यो निर्वाचनमा आपसी प्रतिस्पर्धा गरेपनि हामी जो यो संविधान संशोधनको पक्षमा थियौं, निर्वाचनले हामो हित त भएको देखिँदैन ।

 

० राजपा र फोरमलाई अब मधेशका माग सम्बोधन गराउन कत्तिको सहज होला ?
— मधेशको माग राजपा र संघीय समाजवादी फोरमका लागि खसीको टाउको अगाडि राखेर कुकुरको टाउको बेच्ने सरहको म मान्दछु । उनीहरू मधेशी जनतालाई भ्रमित गराउनका लागि हामी संविधान संशोधनको पक्षमा छौं, हामी प्रादेशिक पूर्ण संरचनाको पक्षमा छौं भनेर भनिरहेका छन् । तर, संविधान जारी हुने चरणमा पुगिसकेपछि र उनीहरू चुनावमा सहभागी भइसकेपछि कस्तो प्रादेशिक संरचना चाहिरहेका छन्, संविधानका कुन–कुन विषयमा अहिले आएर उनीहरूले संशोधन खोजेका छन् त्यस विषयमा कुनै प्रष्टता दिन सकेका छैनन् । खाली मधेशी जनताको भावनाको नेता बन्नका लागि उनीहरूले हामी संविधानको संशोधन चाहन्छौं, हामी प्रादेशिक पुनर्निर्धारण चाहन्छौं भन्दै आएका छन् । उनीहरू अब पूर्ण रूपले सत्ताको खेलमा प्रवेश गरिसके ।

अहिले प्रदेश नं. २ मा को मुख्यमन्त्री बन्ने अथवा राजपाबाट कति जना मन्त्री हुने, फोरमबाट कति जना मन्त्री हुने भनेर समग्र रूपमा त्यहीं एजेण्डामा प्रवेश गरिरहेका छन् र त्यसैमा गृहकार्य गर्दैछन् । केन्द्रीय राजनीतिमा दिनहुँ समाचार आईरहेको छ कि उपेन्द्र यादवजीको केपी ओलीजीसँग वार्ता, राजपाका अन्य नेताहरूको सत्ताधारी नेताहरूसँगको वार्ता, यो सबै कुराले अहिले कुनै एउटा दलको स्पष्ट बहुमत नआएको अवस्था र वाम गठबन्धन संविधानतः मान्यता प्राप्त पक्ष नभएको हुनाले मधेशी पार्टीहरू जोसँग मिल्दछ उसको सत्ता निर्माण हुने अवस्था छ । यो खेलमा मधेशी दलहरू लागेको प्रष्ट देखिन्छ । आउने समयमा यी विषयहरू स्पष्ट हुँदै जान्छन् । हिजोको मितिमा प्रचण्डलाई र सुशील कोइरालालाई प्रधानमन्त्रीको रूपमा समर्थन गर्र्दा मधेशी दलहरूले जुन भाषा बोलेर अगाडि बढेका थिए, अहिले पनि त्यहीं भाषा फेरि बोल्न थालेका छन् । मधेशी नेताहरू फेरि भन्न थालेका छन् कि संविधान संशोधन हाम्रो एजेण्डा हो । संविधान संशोधन गर्छु भनेर जसले भन्छ त्योसँग हाम्रो सहकार्य हुन्छ । जबकि संविधान संशोधन कुन–कुन विषयमा हुने भन्नेमा कुनै धारणा कतै आएको देखिँदैन । मधेशी दलले संविधान संशोधनको एजेण्डालाई सत्तामा जाने बाटोको रूपमा लिँदै आएका छन् ।

 

० त्यस्तो भए मधेशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुश हुन थालेको हो ?
— संसद्मा रहेका संघीय समाजवादी फोरम र राजपा नेपाल दुवै पार्टी सत्ता समर्पण र मुद्दा विसर्जनका पात्रहरू हुन् । उनीहरूको मूल ध्येय नै जसरी भए पनि मधेशको नारामा, मधेशी जनताको मागको नाममा संसदमा जाने र सत्ताको खेल खेल्ने नै हो । आउने समयमा यो कुरा प्रष्ट रूपमा देखिनेछ । मधेशमा उनीहरूलाई पनि सही ट्र्याकमा ल्याउनका लागि एउटा वैकल्पिक धारको आवश्यकता छ । स्वायत्त मधेश प्रदेशको निर्माणका लागि, मधेशको समुचित प्रतिनिधित्वका लागि, मधेश प्रदेशको पुनः मान्यताका लागि यावत् जुन मागहरू रहेका छन्, त्यसलाई शान्तिपूर्ण ढंगबाट उठाउनका लागि वैकल्पिक संगठनको अति आवश्यकता रहेको छ । तर, दुर्भाग्य वैकल्पिक शक्ति निर्माण गर्ने पक्षहरूको आवाजलाई स्थानीय र प्रादेशिक निर्वाचनले किनारामा पारेको छ । तर आउने समयमा मधेशका बुद्धिजीविहरू, मधेशका आन्दोलनकारीहरूले यस कुरालाई महसुस गर्नेछन् कि संसदमा रहेका यी पक्षहरूबाट मधेशका सवालहरू प्रतिनिधित्व हुँदैनन् ।

 

० वाम शक्तिबाट बनेको सरकारबाट संविधान संशोधनको आशा गर्न सकिन्छ त ?
— मलाई त पटक्कै आशा छैन । खास गरेर मधेशी जनताले जुन संशोधन चाहेका छन्, त्यो संशोधनलाई मधेशी दलहरूले स्वीकार गर्दैनन् । भोलि सत्तामा मधेशी पार्टीहरूलाई सहभागी गराउनका लागि यदि कुनै श्रृगांरिक रूपको कुनै संशोधनको कुरा आउँछ भने नयाँ जारी भएको संविधानमा सुशील कोइराला नेतृत्वमा पहिलो संशोधन भएको थियो त्यस्तै खालको प्रतिउत्पादक हुनसक्ने वा मधेशका सवालहरूलाई सम्बोधन गर्न नसक्ने खालको संशोधनहरू हुन सक्लान् । तर, आधारभूत मागहरूलाई पूरा गराउने खालको संशोधनको कुनै सम्भावना छैन ।

 

० मधेशी जनताको भावनाअनुरूपको संविधान संशोधन भएन भने त्यसपछि मधेशी दलहरूको रणनीति कस्तो हुनुपर्छ ?
— मधेश आन्दोलन धेरै पछाडि धकेलिएको छ । दुर्भाग्यवश मधेशको नेतृत्व अहिले संसदमा रहेका पार्टीहरूको जिम्मामा गएको देखिन्छ, जुन पार्टीहरू यस मुद्दामा इमान्दार छैनन् । अब मधेशी जनता पनि उनीहरू नै मधेशका मसिहा हुन्, उनीहरूले नै मधेशका सवालहरूलाई नेतृत्व गरिरहेका छन् भन्ने भ्रममा परेको देखिन्छ । संसदीय गतिविधिले अझै केही समय मधेशी जनतालाई भ्रममा राख्नेछ । केही समयपछि मधेशी दलहरूको चरित्र र राज्यको चरित्र जब स्पष्ट हुन्छ त्यसपछि मात्र एउटा संग्लो धारको निर्माण हुन्छ ।

 

० मधेशी जनताको माग अनुरूप संविधान संशोधन भएन भने मधेशमा शान्तिपूर्ण आन्दोलन गर्दै आएका डा. सीके राउततिर पनि झुकाव बढ्ने देख्नुहुन्छ ?
— अहिले पनि धेरै युवाहरू विचलित भएर अब हाम्रो आन्दोलनले परिणाम दिँदैन भनेर विखण्डनका कुरा गरिरहेका छन् यो सत्य हो । तर, त्यसले मधेशका सवालहरूलाई सम्बोधन गराउनुभन्दा पनि मधेशको राजनीतिलाई अर्को चरमपन्थी बाटोमा अगाडि धकेल्नेछ । तसर्थ त्यो बाटो भन्दा पनि अहिले एउटा शान्तिपूर्ण आन्दोलनको आवश्यकता छ, जसले नेपालको अखण्डता भित्र नै, नेपालको अहिलेको स्वरूप र संरचना भित्र नै मधेश प्रदेशको पुनः निर्धारण लगायतका सवालहरूमा हामी अगाडि बढाउनु पर्छ ।

 

० अब बन्ने केन्द्रीय सरकारको समीकरण कस्तो हुने अनुमान गर्नुभएको छ ?
— वाम गठबन्धको बहुमत आएको छ । वाम गठबन्धन आफ्नो यो बहुमतलाई सुदृढ गरेर अगाडि बढ्यो भने नेपालमा माओवादी र एमाले पार्टीको संयुक्त सरकार बन्नेछ अथवा यो दुईवटा पार्टी एकीकरण भएर एउटै पार्टी बन्यो भने त्यस पार्टीको सरकार बन्नेछ । अब एमाले र माओवादीबीचमा तालमेल हुन सकेन भने काँंग्रेसले अवसर पाउँछ वा एमाले–काँंग्रेस अथवा माओवादी–काँंग्रेसले सरकार बनाउनेछ । अहिले जनादेशको दबाब वाम गठबन्धनलाई छ, त्यसैले वाम गठबन्धन विभाजन भएर अर्को दलको नेतृत्वमा सरकार बन्ने सम्भावना म देख्दिँन । वाम गठबन्धनको सरकार बने पनि मधेशी दलहरू त्यसमा सहभागी हुनेछन् भन्ने आशय देख्न थालिएको छ । तर, वाम ठबन्धनको सरकार पाँच वर्ष नै कायम रहने स्थिति म देख्दिँन ।

 

० माओवादी र एमालेको एकीकरण हुन्छ होला ?
— उनीहरूको आन्तरिक विषयमा म धेरै बोल्न चाहन्न । मलाई लाग्छ आम जनअपेक्षा त दुईवटा पार्टी एक हुनुपर्ने भन्ने नै छ । जनताको यो सन्देशलाई सही रूपमा आत्मसात गर्छन् भने दुईवटा पार्टी एक हुन्छ तर अहिलेको परिस्थितिमा त्यति राम्रा संकेतहरू देखिएका छैनन् ।

 

० काँंग्रेसले निर्वाचनमा जस्तो परिणाम व्यहो¥यो यसको पछाडिको कारण के देख्नुहुन्छ ?
— यसको मूल्यांकन त कांग्रेस पार्टीले नै गर्नुपर्छ । तर, यो निर्वाचनमा कांँग्रेसले जनताको मनलाई बुझ्न सकेन । जनताको आकांक्षाभन्दा पृथक धारणाहरू कांग्रेसले अगाडि ल्यायो । जहाँ वाम गठबन्धले स्थिर सरकारको कुरा, विकास निर्माण र समृद्धिको कुरालाई अगाडि ल्याए त्यहाँ कांग्रेसले न त विकास र समृद्धिको कुरालाई अगाडि ल्याउन सके न त स्थिर सरकारको कुरालाई अगाडि ल्यायो । न त एमाले–माओवादीले जस्तो उम्मेदवारहरूको जातीय समीकरण मिलाउन सके । काँंग्रेसले खाली वाम गठबन्धनको विरोध गर्दै वाम गठबन्धनले जित्यो भने देशमा अधिनायकवाद आउँछ, कम्युनिष्ट शासन आउँछ भन्ने जस्ता कुराहरू गरे । तसर्थ कांग्रेसको कुरा जनतालाई पच्नै सकेन ।

 

० अब बन्ने सरकारमा मधेशी दलहरूको सहभागिता आवश्यक छ ?
— मधेशी पार्टीहरू सत्तामा जानकै लागि निर्वाचनमा भाग लिएका हुन् । प्रदेश नं. २ मा उनीहरूले सरकार बनाउँछन् नै र त्यसको गृहकार्य अगाडि बढिसकेको छ । अब संघीय समाजवादी फोरमले राजपासँग दाबी नै गरिसकेको छ कि हामीले प्रदेशसभामा बढी सिट जितेका छौं त्यसैले हाम्रो मुख्यमन्त्री हुनुपर्छ भनेर । राजपाका नेताहरूले पनि सार्वजनिक रूपमा नै भनिरहेका छन् फोरमको बढी सिट भएको हुनाले मुख्यमन्त्री त उसकै हुन्छ भनेर । प्रदेशमा चाँहि सरकार बनाउने अनि केन्द्रमा सरकारमा नजानुको कुनै अर्थ हुँदैन । मधेशमा ऊ सत्तापक्ष हुन्छ र केन्द्रमा चाँहि ऊ विपक्षी भए पनि सत्ताबाट धेरै टाढा भएको मानिँदैन । मधेशी पार्टीहरूले केन्द्रीय राजनीतिमा विरोधीको भूमिका निर्वाह गरे पनि ऊ सत्ताको उपक्रम हो । ऊ सत्ताभन्दा धेरै टाढा रहँदैन । अबका दिनमा मधेशी दलहरू सत्ताको परिधिमा रहन्छन् ।

 

० तपाईको तराई मधेश राष्ट्रिय अभियान अहिले सेलाएको हो कि ?
— सेलाएको त छैन । यसपालिको निर्वाचनले हाम्रा धेरै साथीहरूको प्रतिबद्धतालाई हल्लायो । चुनावबाटै धेरै फलिफाप हुन्छ भनेर हाम्रा धेरै साथीहरू तराई मधेश राष्ट्रिय अभियान छोडेर मधेशका विभिन्न पार्टीहरूमा प्रवेश गरे । त्यसले गर्दा हामीलाई संगठनात्मक रूपमा ठूलो नोक्सान भएको छ । मधेशमा दुर्भाग्यवश यस पटकको निर्वाचनलाई जसरी उत्सवको रूपमा लिएको देखियो त्यसले मधेशका पत्रकार, बुद्धिजीवि, आन्दोलनकारीहरूले राम्ररी विचार नै गरेको देखिएन । मधेशी पार्टीहरू जसरी चुनावमा होमिएको छ त्यसबाट मधेशका सवालहरू पूरा हुन्छन् कि हुँदैनन् भन्ने विषयमा गम्भीर छलफल नै भएन । यस्तो अवस्थामा तराई मधेश राष्ट्रिय अभियानका कुराहरू सुन्ने कोही भएनन् । हामीले केही विषयहरू उठाउँदा मधेशी दलहरूलाई कमजोर गरेर कांँग्रेस–एमालेलाई बलियो बनाउन खोजेको भन्ने आरोप पनि लाग्यो । त्यसैले हामी निर्वाचनको समयमा पृथक बसेका हौं । अब मधेशी जनताले मधेशी दलहरूको बारेमा पनि विस्तारै बुझ्दै जानेछन् । अब आउने समयमा हामी फेरि मधेशी जनताको बीचमा जाँदैछौं ।

 

० तपाईहरूको आगामी कार्यदिशा कस्तो हुनेछ ?
— मधेशी दलहरूले चुनावमा भाग लिएर मधेश आन्दोलनलाई बल पुग्यो कि पुगेन र उनीहरू सत्तासीन हुन् वा नहुन् तर संसदमा वा विभिन्न प्रदेशसभामा उनीहरूको बलियो वा कमजोर उपस्थितिले मधेशको सवालहरूलाई पूरा गराउने दिशामा सहयोगी भूमिका हुन सक्छ कि सक्दैन भनेर हामी एउटा छलफल प्रारम्भ गर्छौं र त्यसले मधेशमा एउटा नयाँ धारको निर्माण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *