मंसिरअघि नै संसदीय चुनाव हुने कांग्रेस शीर्ष नेताहरूको दाबी

काठमाडौँ– सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका शीर्ष नेताहरुले मंसिरअघि नै संघीय संसद्को चुनाव हुन सक्ने बताएका छन्। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री गगनकुमार थापाले एमालेले संसदलाई अवरुद्ध पारिरहने हो भने मंसिरअघि नै संघीय संसदको चुनाव गर्ने बताएका हुन्।

नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्य समितिले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा वरिष्ठ नेता पौडेलले संसद् बैठक नचल्ने हो भने चाँडै संघीय संसदको निर्वाचन गराउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको बताए।

उनले देशलाई अलमलमा राख्न नदिन पनि संसद नचले नयाँ संसद्का लागि निर्वाचनमा छिटो जानुको विकल्प नरहेको भनाइ राखे। पौडेलले भने, ‘मैले त प्रधानमन्त्रीलाई भनिसकेँ–चाँडै संसद् बैठक चल्नुपर्‍यो वा चाँडै संसद् ल्याउनुपर्‍यो, अब यस्तो अलमलमा राख्नु हुँदैन देशलाई भनेर सुझाव दिएको छ।’

महामन्त्री थापाले एमालेले संसद चल्न दिएन भने मंसिरअघि नै संघीय संसदको निर्वाचन हुने र आफ्नो पार्टीले बहुमत ल्याएर पाँच वर्ष मुलुक सानदार ढंगले चलाउने बताए। उनले स्थानीय तहको निर्वाचन बैशाख ३० गते नै हुने बताए।

थापाले भने, ‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गराउने हो। त्यसपछि आमचुनाव हुन्छ। एमालेले संसद चल्न दिएन भने मंसिरअघि नै चुनाव हुन सक्छ। हामी निर्वाचनमा जाने हो। सानदार ढंगले बहुमत ल्याएर पाँच वर्ष मुलुक चलाउने हो।’

उपसभापति धनराज गुरुङले आफ्नो पार्टी निर्वाचनतर्फ लम्किएको भन्दै एक्लै निर्वाचनमा लडने संकेत गरे। उनले प्रचण्ड, माधव नेपालहरुलाई चमेराको संज्ञा दिँदै  उनीहरुले साथ छोड्दैमा आफ्नो पार्टीलाई निर्वाचनमा केही फरक नपर्ने बताए। गुरुङले भने, ‘यो चुनावी वर्ष हो। यो चुनावी मैदानमा काँग्रेसरुपी हात्ती लम्कँदै गर्दाखेरी हात्तीको ठूलो कान देखेर चमेराहरु ओत लाग्न खोज्दैछन्। हात्तीको कानमा ओत लाग्ने चमेराहरुको भरोसा हुँदैन भन्ने कुरा हामीलाई राम्रैसँग थाहा छ।’

उनले चमेराले हात्तीलाई सहयोग गर्न नसक्ने पनि दाबी गरे। उपसभापति गुरुङले भने, ‘चमेराले हात्तीको कानमा दुर्गन्धित बनाउन सक्छ। हाम्रो रोडम्याप एकदम स्पष्ट छ।’

अर्का महामन्त्री विश्वप्रकाश शर्माले रुपान्तरित कांग्रेस नै मुलुकको भरोसा भएको दाबी गरे। उनले मुलुकको समृद्धिका लागि कांग्रेस एकतावद्ध हुने र मुलुकलाई विकल्प दिनेगरी अघि बढ्ने संकल्प पनि गरे। ‘रुपान्तरित कांग्रेस मुलुकको भविष्य हो। कांग्रेसलाई रुान्तरण गरेर मुलुकलाई विकल्प दिने हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *