काठमाडौँ — वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले केटाकेटीपन देखाएर प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । आइतबार इकान्तिपुरसँगको कुराकानीमा वरिष्ठ अधिवक्ता थापाले नेपालको संविधानले प्रतिनिधिसभा विघटनको परिकल्पना नगरेको बताएका हुन् ।

संविधानबमोजिम संसद्को आयु ५ वर्ष हुने भन्ने व्यवस्था गरिएकाले संसद्ले सरकार दिन नसकेको अवस्थामा मात्रै संसद् विघटन हुन सक्ने थापाले बताए । राष्ट्रपति र प्रधानमन्त्रीले संसद् नै नचाहिएजसरी असंवैधानिक कदम चालेको पनि उनले बताए । ‘यो त अति केटाकेटी पनि भयो । राति सुतेको प्रधानमन्त्रीले बिहान उठेर सिफारिस गर्न मन लाग्यो भनेर सिफारिस गर्दिने । अनि राष्ट्रपतिले संसद् विघटन गर्दिने । राष्ट्रपति र प्रधानमन्त्रीलाई संसद् नै नचाहिएको जस्तो लाग्यो । संविधान नै हेर्दा पनि यस्तो प्रकारले संसद् विघटन हुन्छ भने अब सर्वोच्च अदालत वा अन्त पनि संविधानका पाना पल्टाउनु बेकार नै हो,’ वरिष्ठ अधिवक्ता थापाले भने ।