४५ सय सम्म केस नम्बर हुने नेपाली डिभी विजेता भिसाका लागि योग्य

 

आगामी अप्रिलमा ४५ सय सम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरु भिसाका लागि योग्य हुने भएका छन् । मार्च ३१ मा आप्रवासन रोक अन्त्य भएमा उनीहरुले अप्रिलमा भिसा पाउन सक्नेछन् । डोनाल्ड ट्रम्पले लम्बाएको आप्रवासन रोक राष्ट्रपति जो बाइडेनले थप्ने सम्भावना नरहेको वर्तमान अवस्थामा उनीहरुमध्ये कैयनले अप्रिलको पहिलो साताबाट भिसा पाउनसक्ने सम्भावना रहेको छ ।

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुरल अफेयर्सले आज जारी भिसा बुलेटिन अनुशार अप्रिलका लागि ४५ सय सम्म केस नम्बर हुने नेपालीका लागि भिसा करेन्ट हुनेछ ।

यदि बाइडेनले आप्रवासन रोक खारेज गरेको खण्डमा ४२ सय सम्म केस नम्बर हुने डिभी विजेताहरुले मार्च महिनामा पनि भिसा पाउन सक्नेछन् । तर खारेज नगरेको खण्डमा उक्त संख्याभित्र केस नम्बर हुने र अमेरिकामा रहेकाहरु मात्र स्टाटस एड्जस्टका लागि योग्य हुनेछन् ।

अप्रिलका लागि डाइभर्सिटी भिसाको कटअफ नम्बर

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या भने ३८०१ रहेको छ ।  उनीहरुले गत अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि  भिसा पाउनमा ढिलो भएको छ । सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको छ ।

कोरोनाको महामारीका कारण अमेरिकी दूतावास काठमाडौंको नियमित भिसा सेवा सुचारु नभएपनि यदि आप्रवासन रोक अन्त्य भएमा भने दूतावासले साधन श्रोतले भ्याएसम्म आप्रवासी भिसाहरु जारी गरिरहने सम्भावना छ । अहिले पनि अमेरिकी नागरिकका दम्पत्ति वा छोराछोरीहरुका लागि अमेरिकी दूतावास काठमाडौंले आप्रवासी भिसा जारी गरिरहेको छ ।

सन् २०२० को सेप्टेम्बरमा भिसा पाएका डिभी विजेताहरुको भिसाको म्याद थपिने भएको छ । उनीहरुको भिसा आगामी मार्चभित्र सकिन लागेको र मार्च ३१ सम्मको यात्रा प्रतिबन्धका कारण अमेरिका आउन नपाउने अवस्था रहेको थियो । यो अवस्थामा भिसा पाइसकेका सन् २०२० का डिभी विजेताहरु मार्च ३१ सम्म अमेरिका आउन नपाएपनि उनीहरुको भिसा लम्बिने भएको छ ।

युएस डिस्ट्रिक्ट कोर्टका न्यायाधिस अमित मेहताले भिसा पाइसकेका र मार्च ३१ सम्मको आप्रवासन रोकका कारण अमेरिका आउन नसकेका डिभी विजेताहरुको भिसा थप ६ महिना लम्बाउन आदेश दिएका हुन् । जस अनुशार उनीहरुको भिसा सेप्टेम्बरसम्म लम्बिने देखिएको छ ।

एकहजार भन्दा धेरै डिभी विजेताहरुको भिसा समाप्त भइसकेको छ भने आगामी मार्च १ देखि ३० भित्र झण्डै ६ हजारको भिसा समाप्त हुन लागेको जनाइएको छ । अब उनीहरुको भिसा सेप्टेम्बरसम्म थपिनेछ ।  ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को भिसाको औचित्य समाप्त गरेकोमा संघीय अदालतले त्यसको बिरुद्धमा फैसला गरेपछि सेप्टेम्बरमा सयौ नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए ।

युएस डिस्ट्रिक्ट कोर्ट वासिंटन डिसीका न्यायाधिस अमित मेहताले सन् २०२० का डिभी विजेताहरुलाई भिसा जारी गर्न आदेश दिएपछि सेप्टेम्बरको दोश्रो सातादेखि डिभी विजेताहरुलाई भिसा जारी गर्न सुरु गरिएको थियो । उनीहरुले सेप्टेम्बरको अन्त्यसम्म भिसा पाएका थिए । तर उनीहरु ट्रम्पको आप्रवासन रोक जारी रहँदासम्म अमेरिका आउन नपाउने भएकाले नेपालमै रोकिएका छन् ।

अदालतको आदेशपछि डाइभर्सिटी भिसा प्राप्त गर्न सफल नेपालीहरु ४०४ जना रहेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । जसमध्ये २२५ जना प्राथमिक डिभी विजेता नेपाली रहेका थिए भने १०५ जना उनीहरुका दम्पत्ति थिए । त्यस्तै ७४ जना उनीहरुका छोराछोरीहरु रहेका थिए ।

काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र सेप्टेम्बरमा ३७९ जना डिभी विजेताहरुलाई भिसा जारी गरेको थियो । जसमध्ये २१२ जना प्राथमिक डिभी विजेताहरु, ९५ जना उनीहरुका दम्पत्ति र ७२ जना उनीहरुका छोराछोरीहरु रहेका थिए । अदालतको आदेशपछि आफूहरुले सकेजतिलाई भिसा जारी गरेको काठमाडौंस्थीत नेपाली दूतावासले जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *