भारतीय शक्तिशाली रक्षा अधिकारी नेपाल आउँदै, राजनीतिक परिवर्तनको संकेत

काठमाडौँ : भारतको थल, जल र वायु सेनालाई कमान्ड गर्ने रक्षा अध्यक्ष जनरल विपिन रावतले कोभिड-१९ को सन्त्रासबीच नेपाल भ्रमण गर्ने भएका छन् । उनको भ्रमणको साइत निश्‍चित गर्न दुवै मुलुकका सेनाले आवश्यक तयारी गर्ने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो । नेपाली सेनाको आग्रहमा रक्षा मन्त्रालयले रावतको भ्रमणको निम्ताका लागि मन्त्रिपरिषद्को स्वीकृति लिएको छ । नेपालमा आउने भारतीय उच्चस्तरको भेटघाटले केहि परिवर्तन हुन सक्ने अनुमान गर्न थालिएको छ ।

रावत भारतीय रक्षा मामिलामा सबैभन्दा शक्तिशाली व्यक्तिका रूपमा परिचित छन् । भारतका तीन सेनालाई नेतृत्व गर्ने उनी पहिलो निवृत्त जनरल हुन् । यसअघि रक्षा अध्यक्ष भन्‍ने पद अस्तित्वमा थिएन । रावत स्थल सेनाध्यक्षबाट सेवा निवृत्त हुने समयमा नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक त्यस किसिमको पद सिर्जना गरेका थिए । २०१९ डिसेम्बरयता रावतले भारतको थल, जल र वायु सेनाको संयुक्त कमान्ड गर्दै आएका छन् ।

कोभिड-१९ बीचमा भ्रमण

नेपाली सेनाले कोभिड-१९ महामारी केही कम भएपछि उनलाई नेपाल भ्रमण गराउने जनाए पनि उनी कोभिड महामारी बीचमै नेपाल आउन तयार भएका हुन् । गत वर्ष नोभेम्बरमा कोरोना महामारीबीच भारतीय स्थल सेनाप्रमुख मनोज मुकुन्द नरवणेले नेपालको भ्रमण गरेका थिए ।

भारतीय जनता पार्टी (बीजेपी) ले लगातार रूपमा तीन सेना प्रमुखलाई संयोजन गर्न आवश्यक रहेको भन्दै आएको थियो । त्यसबाहेक विभिन्न अध्ययन कार्यदलले त्यही किसिमको सुझाव दिएका थिए । तर त्यसतर्फ कुनै सरकारको ध्यान पुगेको थिएन । भारतमा तीन सेना (स्थल, जल र बायु)बीच ‘कम्युनिकेसन ग्याप’ रहने गरेको बताउँदै आएका थिए । पहिलो कार्यकालमा सेना रक्षा अध्यक्षको सिर्जना गर्न नसकेका मोदीले प्रधानमन्त्रीका रूपमा दोहोरिएपछि रावतलाई छनौट गरे ।

रावत बीजेपी निकटका जनरल मानिन्छन् । उनलाई बीजेपी र मोदी सरकारलाई फाइदा पुग्ने किसिमले वक्तव्य दिएको आरोप पनि लाग्दै आएको छ । सन् २०१९ को अन्त्यमा भारतमा भएको नागरिकता विधेयक विरोधी आन्दोलनमाथिको उनको अभिव्यक्ति विवादित रह्यो । विद्यार्थीहरूलाई गलत सूचना दिएर आन्दोलनमा सहभागी गराइएको उनको आरोप थियो ।

आन्तरिक रूपमा जे भए पनि रावतलाई नेपाल भ्रमणका लागि निम्तो पठाउन मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ । वैशाख ९ मा बसेको मन्त्रिपरिषद् बैठकले दिएको स्वीकृतिसँगै रावत भ्रमणको प्रक्रिया अघि बढ्यो । औपचारिक निमन्त्रणा दिन स्वीकृति आएकाले दुवै मुलुकका सेनाले आफ्नो अनुकुल मिलाएर भ्रमण गराउन सक्नेछन् । नेपालले उनलाई औपचारिक निमन्त्रणा गरेपछि उनको भ्रमण मिति टुंगो लाग्‍नेछ ।

निम्ता पठाउने निर्णय मन्त्रिपरिषदले गरेको छ, अब समय मिलाउने र भ्रमण गराउने तर्फको काम नेपाली सेनाको हुने सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए । मन्त्रिपरिषद्को निर्णयमा दुवै पक्षको सहमतिअनुसार नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइनेछ र भ्रमण हुनेछ ।

‘मन्त्रिपरिषद्ले निमन्त्रणा दिन अनुमति दिएमा सेना र कूटनीतिक च्यानलबाट सेना अध्यक्ष रावतको भ्रमणबारे मिति तय गर्न छलफल हुनेछ, नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोषवल्लभ पौड्यालले भने, ‘अहिले दुवै मुलुक कोभिड-१९ को मारमा छन् । केही समय लाग्ला तर भ्रमण कसरी कुन रूपमा अनि छलफल हुनेछ ।’ भारतीय स्थल सेनाप्रमुख नरवणे नेपालको विषयमा बोलेर विवादमा तानिएका थिए । तर उनै नरवणे केही समयपछि नेपाल भ्रमणमा आए । नरवणेको भ्रमणको चाँजोपाँजो मिलाउन मुख्य भूमिका उनै रावतले खेलेका थिए ।

नेपालको भूभागमा भारतले २२ किलोमिटर लामो सडक बनाएपछि विवाद उत्पन्‍न भएको थियो । बनाइएको सडक भारतीय भूभागमै पर्ने र त्यहाँ कुनै विवाद नभएको बताएपछि नरवणे विवादमा तानिए । त्यही विवादपछि नेपालीले नरवणेलाई हेर्ने दृष्टिकोण पनि परिवर्तन भएको थियो ।

विवाद बढ्दै जाँदा नेपालले आफ्नो भूभाग फिर्ता हुनुपर्ने माग मात्रै राखेन, त्यस भूभाग सम्मिलित नयाँ नक्सा नै पारित गर्‍यो । त्यस विषयमा पनि भारतले नेपालको भनाइलाई ध्यान दिँदै आएको छ । सीमा विवाद बढ्दै जाँदा नेपालमा भारत विरोधी भावना पुनः बढ्यो । जसका कारण भारतमा, नेपाल चीनको पोल्टामा गएको र चीनले नेपाललाई उक्साएको जस्तो अभिव्यक्ति पनि आयो ।

भारत र चीनबीच रहेको ३५ सय किलोमिटरको सीमा बेला बेलामा समस्या परिरहने र त्यहाँ भारतीय सेनाहरूबीच सहकार्य नहुँदा समस्या उत्पन्न भएको महसुस गरिँदै आइएको थियो । थल सेना प्रमुखबाट जनरल रावत निवृत्त हुने भएपछि प्रधानमन्त्री मोदीले त्यसैबखत तीन सेनालाई संयोजन गर्ने भूमिकामा गोर्खा पल्टनका पूर्वसदस्यलाई लैजाने निर्णय गरे । रावत यतिबेला रक्षा मन्त्री र रक्षा सल्लाहकार अजित डोवलभन्दा पनि मोदीको निकट भएर काम गर्ने व्यक्तिका रूपमा परिचित छन् ।

जसरी मोदीले विदेशमन्त्रीमा एस जयशंकरलाई चुने, त्यसै गरी आगामी निर्वाचनमा पुनः बीजेपी आएमा विपिनलाई रक्षामन्त्रीका रूपमा अघि बढाउने आँकलन भारतीय अधिकारीहरुले पटक-पटक गरिसकेका छन् । विपिनले नै पछिल्लो समय चीनसँग समस्या समाधानमा भूमिका खेलेको बुझाइ भारतीयहरूको छ ।

गत जुन महिनामा भारत र चिनियाँ सैनिकहरूबीच गलवान उपत्यकामा भीडन्त भएको थियो । त्यसअघि दोक्लममा धकेलाधकेल भएको थियो । यस्ता समस्या भारत र चीनबीच हुँदा नेपालतर्फ दुवैको आँखा जान्छ र नेपाललाई सम्झन्छन् । दुवै मुलुकका लागि नेपाल सुरक्षित स्थलका रूपमा छ ।

हुन पनि भारतीय पक्षले आफू शान्तिवार्ताका लागि प्रतिबद्ध भएको तर आफ्नो भौगोलिक अखण्डताको रक्षा पनि गर्ने भन्दै त्यसमा दोहोरो रूपमा कूटनीतिक तबरबाट समस्या समाधान गर्ने तय गरेको थियो । सीमाकै कारण भारत र चीनबीच सन् १९६२ मा युद्ध भएको थियो । विपिन गोरखा राइफलका व्यक्ति हुन् भने चीनको कटु आलोचक पनि । त्यसैले नेपालसँगको सम्बन्धमा मोदीले उनलाई सैन्य कूटनीतिमार्फत अघि बढाएको संकेत मिल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *