परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सीमाको विषयलाई लिएर भारतसँग वार्ताको मिति तय गर्ने प्रयास भइरहेको बताएका छन्।
शुक्रबार संसदको राज्य व्यवस्था समितिको छलफलमा मन्त्री ज्ञवालीले सीमाको विषयबारे भारतसँग वार्ताको लागि ठोस मिति तय हुन नसकेपछि त्यसको लागि प्रयास भइरहेको जनाए।
उनले सुगौली सन्धिमा भएको सहमतिकै आधारमा दुबै देशले सीमा स्वीकार्नु पर्ने भन्दै त्यसको लागि वार्ताको प्रयास भइरहेको बताए।
छलफलमा सांसदहरूले सीमा स्तम्भको दूरी समेत घटाउनुपर्ने दिएको सुझावमा मन्त्री ज्ञवालीले भने, ‘जम्मा सीमा स्तम्भ ९ सय बढी छन्। सहायक स्तम्भ साढे आठ हजार छन् तर अब समावेश गरेको भूमिमा अझै थपिन्छन्।’
उनले केही ठाउँबाहेक सबैमा आँखाले देखिन सक्ने गरी स्तम्भ राखिने बताए।
उनले नेपालको चीनसँग पनि अहिलेको सीमा बढ्ने बताए। चीनसँग सीमा सम्झौता गर्दा यसअघि त्रिदेशीय विन्दु तय नगरिएको उनको बताए।
‘तिंकरभन्दा माथि एक नम्बर पिलर छ तर जिरो पिलर छैन किनभने हामीले त्रिदेशीय विन्दु टुंगो गरिसकेका थिएनौं। अब त्यो जिरो पिलर लिम्पियाधुरामा पुग्छ होला,’ ज्ञवालीले भने।
तिंकरमा भन्सार स्थापना गर्ने तयारी भइरहेको मन्त्री ज्ञवालीले बताए।
पछिल्लो समय नेपालमा भारतले अतिक्रमित गरेको कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको छ।