केशव बाँस्कोटा, नयाँ दिल्ली
भारतले बिहीबार आफ्नो ७४औँ गणतन्त्र दिवस मनाएको छ। इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसी प्रमुख अतिथिका रूपमा उपस्थित थिए । भारतको संविधान बनेपछि हरेक वर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ।
समारोहमा भारतका राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड़, प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंह, संघीय मन्त्रीहरू, वरिष्ठ सरकारी अधिकारीहरू, विदेशी कूटनीतिज्ञहरू र विशिष्ट व्यक्तिहरू र हजारौँ अन्य व्यक्तिहरूको उपस्थिति थियो।
सन् १९५० मा भारतको संविधान लागू भएको थियो। कार्यक्रमको सिलसिलामा भारतीय सेना र अन्य सुरक्षा बलका विभिन्न अंगका केही टुकडीहरूले राष्ट्रपति भवनलाई ऐतिहासिक ‘इन्डिया गेट’सँग जोड्ने सडक ‘कर्तव्य पथ’ मा प्रदर्शनी गरेका थिए।
कार्यक्रममा सहभागीहरूले भारतका विभिन्न राज्यलाई प्रतिनिधित्व गर्दै कला र संस्कृति झल्कने रंगीचंगी झाँकीहरूको शृंखला प्रस्तुत गरेका थिए।