बेलायत सरकारले मंगलबार १ डिसेम्बरदेखि अंकमा आधारित भिसा प्रणाली शुरु गरेको छ । बेलायतले युरोपेली संघ (ईयू) छाडेपछि संसारभरिका प्रतिभावान तथा दक्ष कामदार भित्रयाउन नयां प्रणाली शुरु गरेको अधिकारीहरुले जनाएका छन् ।
ईयू मुलुकका बासिन्दा लगायत सबै विदेशी नागरिकहरुले १ डिसेम्बर २०२० देखि नै आवेदन दिन पाउनेछन् र आउंदो जनवरी १, २०२१ देखि बेलायतमा काम गर्नका लागि अनुमति दिइने छ । अनलाइनबाट भिसा आवेदन गर्न सकिने छ ।
‘स्कील्ड वर्कर भिसा’ का लागि रोजगारदाताबाट जागिरको अफर, अंग्रेजीमा निपुण र कमाइ वार्षिक न्यूनतम २५ हजार ६ सय पाउण्ड हुन अनिवार्य छ ।
आवेदकले आफ्नो पहिचान प्रमाणित र कागजात उपलब्ध गराउनु पर्नेछ । आप्रवासी कामदारहरुले भिसाका लागि योग्य हुन कुल ७० अंक ल्याउनु पर्नेछ जसमा मान्यताप्राप्त रोजगारदाताबाट दक्ष सीपयुक्त जागिरको अफरले ४० अंक, अंग्रेजी भाषाबाट १० अंक र वार्षिक तलव कम्तीमा २५ हजार ६ सय हुंदा २० अंक प्राप्त गर्न सक्नेछन् ।
भिसा आवेदन शुल्क ६१० देखि १ हजार ४ सय ८ पाउण्ड, हेल्थकेयर सरचार्ज ६२४ पाउण्ड (प्रतिवर्ष) र आफ्नो खर्चका लागि कम्तीमा एक हजार २ सय ७० पाउण्ड सञ्चित हुनुपर्नेछ ।
बेलायत बाहिरका आवेदकलाई सबै प्रक्रिया पुरा गरेपछि भिसाको निर्णय तीनसाताभित्र दिइने र भिसा अवधि ५ वर्षसम्म हुने सरकारले जनाएको छ ।
गृहमन्त्री प्रीति पटेलले सरकारले ईयूसंग खुल्ला आवतजावत अन्त्य, आफ्नो सीमा नियन्त्रण फिर्ता र नयां अंकमा आधारित अध्यागमन प्रणाली लागू गर्ने प्रतिज्ञा पुरा गरेको बताएकी छन् । एक विज्ञप्तिमा उनले सामान्य, प्रभावकारी र लचिलो यो प्रणालीले रोजगारदातालाई आवश्यकता अनुसार दक्ष जनशक्ति भर्ना गर्न र बेलायतको ‘वर्क फोर्स’ लाई प्रशिक्षित र लगानी गर्न प्रेरित गर्ने बताइन् ।
३१ डिसेम्बरमा ब्रेक्जिट (बेलायत ईयूबाट बहिगर्मन) को संक्रमणकालिन अवधि अन्त्यसंगै बेलायत ईयू खुल्ला आवतजावत बन्द हुंदैछ । १ जनवरीदेखि युरोपेली र अन्य मुलुकका नागरिकका लागि समान अध्यागमन नियम लागू हुनेछ । बेलायत ईयू सदस्य हुंदा युरोपेली नागरिकलाई बेलायतमा चाहेजति बस्न र काम गर्न अधिकार थियो ।
सरकारले भिसाका अरु रुट पनि खुल्ला गरिएको जनाएको छ । इन्जिनियरिङ, विज्ञान, प्रविधि, मानवशास्त्र, मेडिसिन, कला र संस्कृतिका क्षेत्रमा असामान्य प्रतिभा भएका व्यक्तिलाई ग्लोवल ट्यालेन्ट भिसा र व्यवसायिक दक्षता एवं नयां सृजनात्मक सोच भएका व्यक्तिलाई इनोभेटर र स्टार्ट अप भिसाको रुट पनि खोलिएको छ ।
विश्वभरका अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भने गत ५ अक्टोबर, २०२० मै खुल्ला भइसकेको थियो ।
from Khasokhas