बेलायतले नेपाललाई कोरोना महामारी कोभिड १९ विरुद्घ लड्न सहयोग स्वरूप थप १० मिलियन पाउन्ड अर्थात करिव डेढ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ। बेलायत सरकारले नेपाल सहितका विकासोन्मुख राष्ट्रहरूको सहयोगमा एक सय मिलियन पाउन्ड प्रदान गर्ने घोषणा गरेको हो।त्यसमध्येबाट १० मिलियन नेपालको भागमा छुट्याएको यहाँस्थित कमनवेल्थ अधिकारीले जानकारी दिए।
बेलायत सरकारको डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्ट (डिफिड) मार्फत उक्त सहयोग वितरण गरिनेछ। यो सहयोगअन्तर्गत नेपालका लागि १० मिलियन पाउन्डसम्म मिल्ने लन्डनस्थित नेपाली दूतावासले पनि जानकार िदिएको छ। यसअघि बेलायतले कोरोना विरुद्घकै अभियानमा सहयोग स्वरूप नेपाललाई ८.२ मिलियन पाउन्ड अर्थात सवा अर्ब रुपैयाँ सहयोग प्रदान गरिसकेको थियो।
नेपालसँगको पुरानो मित्रतालाई ध्यानमा राखेर बेलायतले उक्त सहयोग उपलब्ध गराएको हो। बेलायतस्थित भूतपूर्व गोर्खा अभियन्ताले पनि महामारीका बेला नेपालका लागि सहयोगको पहल गर्न दूतावासलाई सुझाव दिँदै आएको छ। बेलायत सरकारले डिफिडको माध्यमबाट हरेक वर्ष नेपाललाई ९२ मिलियन पाउन्ड अर्थात करिव १४ अर्व रुपैयाँ सहयोग गर्दै आएको छ। बेलायत आफै पनि कोभिड विरुद्घको लडाईमा रहेको भए पनि नेपाल जस्ता मुलुकमा उसको सहयोग निरन्तर रहेको छ।