बेलायतले ईग्लिस च्यानल पार गर्ने आप्रवासीहरूलाई देशमा रहनबाट रोक्न नयाँ कानून ल्याउने योजना बनाएको छ । सरकारले यसको दक्षिणी तटमा साना डुङ्गाहरूमा आउने मानिसहरूको बृद्धिलाई नियन्त्रण गर्ने प्रयास गरिरहदा यस्तो योजना ल्याएको हो ।
गत दुई वर्षमा च्यानलबाट इङ्गल्याण्डमा आइपुगेका मानिसहरूको संख्या दोब्बरभन्दा बढी भएको छ, सरकारी तथ्याङ्कले अल्बेनियालीहरू यस मार्गबाट आउने सबैभन्दा बढी संख्यामा रहेो देखाएको छ ।
प्रधानमन्त्री ऋषि सुनकले अवैध आप्रवासीसँग लड्न नयाँ पाँच-बुँदे रणनीति घोषणा गरेका छन्, जसमा एसाइलम खोज्ने अल्बेनियालीहरुलाई तीब्र गतिमा देशनिकाला गर्ने लगायतका योजनाहरू समावेश छन् । कर्मचारीको संख्या दोब्बर बनाएर अर्को वर्षको अन्त्यसम्ममा लगभग डेढलाख एसाइलमका मुद्दाहरूको प्रारम्भिक ब्याकलग हटाउने समेत योजना रहेको छ ।
‘यदि तपाईं अवैध रूपमा बेलायतमा प्रवेश गर्नुभयो भने, तपाईं यहाँ बस्न सक्नुहुन्न,’ सुनकले संसदमा भने। ‘बरु, तपाइँलाई हिरासतमा लिइनेछ र तुरुन्तै तपाइँको गृह देश वा तपाइँको शरण दावीलाई विचार गरिने सुरक्षित अर्को देशमा फर्काइनेछ।’
साना डुङ्गाहरूमा आइपुगेका आप्रवासीहरू कन्जरभेटिभ सरकारका लागि प्रमुख राजनीतिक मुद्दा बनेका छन् । विशेष गरी उत्तर र मध्य इङ्गल्याण्डका श्रमिक वर्ग क्षेत्रहरूमा काम खोज्न र सार्वजनिक सेवाहरू विस्तार गर्न गाह्रो हुनुमा आप्रवासीहरुलाई आरोप लगाइएको छ।
सुनकले क्रसिङहरू सम्बोधन गर्न नयाँ इकाई बनाइने बताएका छन् । साथै भविष्यमा आप्रवासीहरूलाई होटलको सट्टा पार्क, पूर्व विद्यार्थी आवास र अतिरिक्त सैन्य साइटहरूमा राखिने बताएका छन् ।
सुनकले आगामी महिनाहरूमा हजारौं अल्बानियालीहरूलाई स्वदेश फर्काइने बताएका छन् ।
एकपछि अर्को गर्दै बेलायती सरकारहरूले साना डुङ्गाहरूको आगमन रोक्ने वाचा गरेका छन्। यद्यपि यो वर्ष ४४ हजार ८ सय ६७ व्यक्तिले साना डुंगामा च्यानल पार गरी बेलायत प्रवेश गरेका छन् ।