बीपीबारे नयाँ तथ्य, अब वृत्तचित्र बन्दै भारतमा वीपीको शालिक

दिनेश लुईटेल

नेपाल हरेक दृष्टिबाट खराब मार्गमा चल्दैछ। त्यहाँ कुनै प्रकारको स्वतन्त्रता छैन। कानुनभन्दा माथिबाट शासन चल्छ। र, जनता अन्धविश्वास र अज्ञानले आक्रान्त छन्। छोटकरीमा भन्नुपर्दा, त्यहाँ दुनियाँमा कतैको प्रशासनसँग पनि तुलना हुन नसक्ने किसिमको निकम्मा प्रशासन छ।’ यो अंश बिपी कोइरालाले७५ वर्षअगाडि पार्टी निर्माण गर्न आह्वान गरेको पत्रबाट लिइएको हो।

दुनियाँमा कतैको प्रशासनसँग पनि तुलना हुन नसक्ने किसिमको निकम्मा प्रशासन छ भनेर बिपी कोइरालाले ७५ वर्षअगाडि भनेका थिए। आजसम्म नेपालको अवस्था उही हालतमा छभन्दा फरक नपर्ला।

आजसम्म नेपालको अवस्था उही हालतमा छ भन्दा फरक नपर्ला। जतिसुकै ठूला राजनीतिक परिवर्तन भए पनि एउटा इमान्दार नागरिकले बिपीको यो भनाइमा देशको वास्तविकता भेट्छ। त्यो समयमा देश राजा र राणाको राजनीतिक खिचातानीमा जेलिएको थियो। आज केही नेताको व्यक्तिगत स्वार्थको खिचातानी, तिनका आसेपासे र बिचौलियाको स्वार्थमा अल्झिएको छ। प्रशासनकै कुरा गर्ने हो भने यसले विचौलियाबाहेक अरूनागरिककोकाम गर्न सकेको छैन। आज पनि प्रशासनले जनतालाई मान्छे ठान्दैन। प्रशासनको कार्यशैलीलाई बिपीले भनेजस्तै ‘निकम्बा’ बाहेक अर्को शब्दले सम्बोधन गर्नसक्ने अवस्था छैन।नेपाली राजनीतिका तिनै दूरदर्शी नेता नेपाली जनक्रान्तिका नायक बिपीको जीवनीमा आधारित वृत्तचित्र बन्ने भएको छ।

वृत्तचित्रमा बिपीका पिता कृष्णप्रसाद कोइराला तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्शेरको कोपभाजनमा परेपछि सपरिवार भारत निर्वासित भएको अवस्था, बिपीले निर्वासनमा बिताएको बाल्यकाल, गान्धीको असहयोग आन्दोलनमा एक बालकको रूपमा भाग लिन बिपीले लिएको तत्परता, भारतीय स्वाधीनता आन्दोलनका क्रममा बनारसमा बिपी र उनका पिता मातृकाथुनिएको हजारीबाग जेल समेटिनेछन्।नेपालमा प्रजातन्त्रको स्थापनाको लक्ष्यका साथ २००३ सालमा स्थापना भएको नेपाली राष्ट्रिय कांग्रेस, सोही वर्षको राष्ट्रिय कांग्रेसको पहिलो महाधिवेशन भएको कलकत्ताको भवानीपुरको खाल्सा हाइस्कुल पनि हुनेछन्। नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेस एकीकरण भएर नेपाली कांग्रेस निर्माणका लागि बैठक बसेको कलकत्ताको टाइगर सिनेमा हल,२००७ सालमा बैरगनीयामा भएको कांग्रेसको पहिलो अधिवेशनदेखि सुन्दरीजल संग्रहालय रूपान्तरण (२०६१) सम्मका परिघटनालाई समेटिनेछ।

बिपीसंग्रहालयका संस्थापक अध्यक्ष एवं संरक्षक परशुराम पोखरेलका अनुसार जहानियाँ राणा शासनको अन्त्य गर्न सफल २००७ सालको क्रान्ति, २०१५ सालको आम निर्वाचनपछि बिपीको नेतृत्वमा बनेको १८ महिने (२०१६ जेठ १३ देखि २०१७ पुस १) पहिलो जननिर्वाचित सरकार, राजा महेन्द्र शाहको सैनिक कूपछि भएको धडपकड, बिपी आठ वर्षसम्म जेलमा बसेको सुन्दरीजलकोआर्शनल ब्यारेक, २०२५ सालमा जेलमुक्त भएपछि बिपी र गणेशमान सिंहको भारत प्रवास, प्रवासमा रहँदा बिपी भाडामा बसेका घर, भारतको बनारस, पटना, कलकत्तामा हुँदा बिपी पुगेका विभिन्न स्थान, बिपी पिता कृष्णप्रसाद बसेको ठाउँ टेडी,बिपी निर्वासनबाट स्वदेश फिर्ताभएपछिको उनको जीवनका आरोह अवरोहलाई वृत्तचित्रमा समेटिने छ। वृत्तचित्र निर्माणका लागि अहिले बिपी पुगेका स्वदेश र प्रवासका विभिन्न स्थान र घटनाको संस्मरण र गतिविधि खोज्नेकाम भइरहेको छ।

पोखरेलका अनुसार बिपी र गिरिजाप्रसादले पढाइ सुरु गरेको हरिश्चन्द्र हाइ स्कुल, बिपीले बिएसम्मको अध्ययन गरेको बनारस हिन्दु विश्वविद्यालय, बिएल सम्मको अध्ययन पूरा गरेको कलकत्ता यूनिभर्सिटी,बिपीले म्यानमारबाट हतियार झिकाएको बिहाटा एयरपोर्ट पटनालगायत क्षेत्रमा पुगेर वृत्तचित्रछायांकनका निम्ति पुग्नुपर्ने ठाउँ पहिचानको पहिलो चरणको काम सकिएको छ। २००७ सालको जनक्रान्ति सम्पन्न नहुँदै बिपीले एशियाली समाजवाद संगठनको कार्यभार सम्हालेको र उनले त्यो समयमा सम्मानका साथ विभिन्न देशको भ्रमण गरेको कुरालाई समेट्ने प्रयास भइरहेको छ।‘लोकतन्त्रका लागि बिपीवाद। सुन्दरीजल र दुम्जा (बिपीका पिताको जन्मस्थान सिन्धुली) हुँदै बनारससम्मको यात्रा हाम्रो अभियान’, भनेर वृत्तचित्रबनाइने पोखरेलको भनाइ छ।वृत्तचित्र सुटिङका लागि प्रशासनिक सहयोगका लागि नेपाल सरकार, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल तथा झारखण्डसरकारसँग समन्वयनको काम भइरहेको उनको भनाइ छ।

कसरी बन्दै छ वृत्तचित्र ?
बिपी संग्रहालय समिति सुन्दरीजलले वृत्तचित्र निर्माणका लागि समन्वय गरे पनि यसकोलगानीकर्ता बागमती प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत डिभिजन वन कार्यालय, काठमाडौं हो। प्रमुख लगानीकर्ता वन कार्यालय काठमाडौंका डिभिजन वन अधिकृत बद्री कार्कीका अनुसारवृत्तचित्र निर्माणको प्रशासनिक प्रक्रिया सुरु भइसकेको छ। ‘वृत्तचित्र निर्माण प्रक्रियाको मापदण्ड तथा कार्यविवरण प्रतिवेदन बनाउने काम भइराखेको छ’, २० लाखमा बनाइने वृत्तचित्रबारे उनी भन्छन्। ‘नेपालसहित भारतका बनारस, कोलकत्ता, पटनासँगै विभिन्न स्थानको दृश्य छायांकन गर्नुपर्ने भएकाले यो आर्थिक वर्षमा वृत्तचित्रको एउटा पाटो मात्र सकिन्छ’, कार्की भन्छन्, ‘अर्को वर्ष पूरा हुन्छ।’

वन विभागकै समन्वयमा डकुमेन्ट्री निर्माणका लागि पहिलो चरणमा परशुराम पोखेल, हेमन्तकेशर पण्डित र दिनेश अर्यालले भारतका विभिन्न ठाउँमा पुगेर बिपीले संगत गरेका व्यक्ति र उनले  बसोबास गरेका क्षेत्रको पहिचान गरेका छन्। दोस्रो चरणमा अध्यक्ष पोखरेल र पत्रकार कुलचन्द्र वाग्लेले अध्ययन र अनुसन्धानको काम पूरा गरेको बताइएको छ।

पटनामा बिपीको शालिक : छैन संरक्षण 
नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक बिपीको शालिक भारतमा बनेको कुरा आजका दिनमा धेरैलाई थाहै नहुन सक्छ। तर, बिहार राज्यको राजधानी पटनाको सुन्दर पार्कमध्ये एक गोलघर पार्कमा बिपीको शालिक ठडिएको छ। सन् १९९४ अक्टोबर २५ तारिखमा बिपी पत्नी सुशीला कोइरालाको उपस्थितिमा उक्त शालिक बिहारका तत्कालीन मुख्यमन्त्री लालुप्रसाद यादवले अनावरण गरेका हुन्। यसले नेपालमा मात्र नभएर भारतमा बिपीको लोकप्रियता कति रहेछ भन्ने कुरा पुष्टि गर्नसक्छ।

बिपी यस्ता नेता हुन् जो प्रधानमन्त्री भएपछि भारत भ्रमणमा जाँदा बिहारको पटना हुँदै दिल्ली गएका थिए। २०१६ साल माघ ३ गते नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्रीको रुपमा पटना पुग्दा बिपीले जयप्रकाश नारायण स्मृति संग्राहालयको उद्घाटन गरेका थिए। त्यसपछि मात्र उनी तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको निमन्त्रणा मान्न दिल्ली पुगेका थिए। यसले पनि बिपीको पटनासँगको सम्बन्धलाई झल्काउछ। विदेशी भूमीमा बिपीको शालिक बन्नुमा विभिन्न कारण रहेको पोखरेलको भनाइ छ। ‘शालिकमा मन खोलेर लगानी गरेको देखिन्छ। विदेशी भूमीमा रहेको नेपालका क्रान्ति नायक बिपीको शालिकले अहिले पनि भारतको अंग्रेज छोडो आन्दोलनको समय झल्काउने रहेछ’, पोखरेल भन्छन्, ‘पटनामा पुग्ने जोकोहीलाई यो शालिकले आकर्षित गर्छ।’

नेपाल र नेपालीसँगै नेपालको लोकतान्त्रिक नेतृत्वको सम्मान स्वरुप पटनामा बीपीको शालिक ठडिएको जानकार बताउँछन्। डकुमेन्ट्री निर्माणका लागि भएको पहिलो चरणको खोजका क्रममा शालिकको दुराअवस्था सार्वजनिक भएको छ। पटनास्थित सुन्दर गोलघर पार्कको उत्तर पश्चिम भागको एक कुनामा करिब एक रोपनी क्षेत्रफलमा बिपीको शालिक बनेको छ। त्यसको संरक्षणमा ध्यान नदिँदा शालिक रहेको परिसरमा झाडी, प्लाष्टिकका प्लेट, थोत्रा कपडा, रक्सीका बोतल, सिमेन्ट र रडका टुक्रासँगै विभिन्न किसिमको फोहोर देखेपछि समितिले यसको संरक्षणमा चासो देखाएको छ। शालिक संरक्षणमा कसैले चासो नदिँदा त्यहाँ बालबालिकाले क्रिकेट खेल्ने गरेको र शालिकको पिलर तोडफोडसमेत भएको देखेपछि समितिले संरक्षणमा विशेष चासो दिएको अध्यक्ष पोखरेलले बताए। ‘शालिक बनेको क्षेत्रमा बालबालिकाले क्रिकेट खेल्ने रहेछन्। क्रिकेट बलले बेला शालिकको पिल्लरमा त बेला शालिकमै लाग्ने रहेछ’, शालिकको दुराअवस्थाबारे पोखरेल भन्छन्, ‘कतिपयले चाहिँ इँटाले शालिकको पिल्लरको तल्लो भागमा ठोकेर फुटाएका रहेछन्। फलामे ग्र्रीलभन्दा बाहिर पूरै हरियाली र ग्रीलभित्र कल्पना गर्न नसकिने झाडी र फोहोर देखेपछि हामीले यसको संरक्षणमा चासो दिएका छौँ।’

बिपी संग्राहलयको समितिले बिहारका मुख्यमन्त्री नितिश कुमार, बिहार राज्य सरकारका शिक्षामन्त्री जियकुमार चौधरी, पटनाकी मेयर सिता साहुलगायत त्यहाँका नेतालाई शालिक संरक्षणको लागि ध्यानाकर्षण गराइएको छ। समितिले शालिक संरक्षणका लागि ध्यानाकर्षण मात्र नगराएर सांकेतिक रुपमा सरसफाइसमेत गरेको छ। नेपालबाट गएको पोखरेल नेतृत्वको प्रतिनिधिमण्डलसहित पटनामा रहेका बिपीलाई चिन्ने र सम्मान गर्ने पटना कलेज नेपाल स्टडिज सेन्टरका पूर्वप्राचार्य प्रा.किशोर चौधरीसहितको टोलीले सफाइ गरेको हो। नेपाली टोली र भारतका केही व्यक्ति मिलेर सफाइ गरे पनि अहिलेसम्म त्यसको उचित प्रवन्धको व्यवस्था त्यहाँको स्थानीय सरकारले गरेको छैन। यद्यपि यो विषय बिहारको संसदमासमेत उठेको छ। बिपीको पूर्ण कदको शालिक संरक्षण तथा संवद्र्धनका विषयमा त्यहाँको जनता दल युनाइटेडका सांसद् प्रा.डा. वीरेन्द्रनारायण यादवले बिहार विधानसभाको शून्य समयमा बोल्दै शालिक संरक्षणको लागि सरकारको ध्यानाकर्षण गराएका हुन्। संरक्षणका लागि काम सुरु नभए पनि त्यहाँका शिक्षामन्त्री चौधरीले नगर विकास एवम् आवास विकासका प्रधानसचिव आनन्द किशोरलाई संरक्षणका लागि काम अगाडि बढाउन नेपाली प्रतिनिधिमण्डलकै अगाडि निर्देशन दिएको पोखरेलको भनाइ छ।

पटनामा बिपी पथ  
बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवको समयमा पटनाको गान्धी मैदानको एक छेउबाट बाँसघाट सम्मको सडकलाई बिपी मार्ग भनेर नामकरण गरेको तर अहिले त्यसको नाम फेरिएको प्रतिसमेत बीपी संग्राहालय समितिले चासो देखाएको छ। पटनाको महत्वपूर्ण मानिएको उक्त सडकलाई पछिल्लो समय नितिश कुमारको सरकारले अग्रेसन मार्ग नामकरण गरेको भन्दै समितिले यो विषयमा चासो राखेको हो। बिपीको सम्मानमा राखिएको बिपी पथको नाम परिवर्तन गरेर इतिहास मेट्ने काम भएको भन्दै समितिले चासो राखेको पोखरेलको भनाइ छ।

‘सन् १९९४ मै बैंक रोड अफ पटनालाई बीपी मार्ग घोषणा गरेको रहेछ। गान्धी मैदानको छेउबाट सुरु भइ बाँसघाटसम्म करिब १ किलोमिटर भन्दा बढी लम्बाई भएको पटनाको महत्वपूर्ण मानिने यो रोडलाई पछिल्लो सरकारले अग्रेसन मार्ग भनेर नामाकरण गरेको सुनियो’, पोखरेल भन्छन्, ‘देखिने मुख्य बोर्डहरु केही छैनन्। गुगलमा सर्च गरेर हेर्दा अहिले पनि बिपी लेन भेटिन्छ।’ यो सडकको अवस्था र महत्वको विषयमासमेत डकुमेन्ट्रीमा समेटिने पोखरेलको भनाइ छ।

fromannapurnapost

Leave a Reply

Your email address will not be published.