बिदा भए शालीन कूटनीतिज्ञ

चन्द्रशेखर अधिकारी

पेरूका पूर्वप्रधानमन्त्री हाभिएर पेरेज डी कोड्ढयारले ल्याटिन अमेरिकी मुलुकमा ‘टावरिङ’ र शालीन कूटनीतिज्ञको छवि बनाएका थिए। उनै कूटनीतिज्ञ राष्ट्रसंघमा सन् १९८२ जनावरीदेखि पाँचौं महासचिवका रूपमा अचानक चयन भए। लामो कूटनीतिक अनुभव भएका उनी ल्याटिन अमेरिकाबाट पहिलोपटक राष्ट्रसंघको महासचिव भएका थिए। तान्जानियाका उम्मेदवारलाई अमेरिकाले अस्वीकार गरेपछि उनी विकल्पमा महासचिव बनेका थिए। राष्ट्रसंघका महासचिवको दुई कार्यकाल सकेर निश्क्रिय जीवनमा बिताउने बताएका उनी सन् २००० मा पेरूको प्रधानमन्त्री नै भए। हाभिएर २००० को नोभेम्बर २२ देखि आठ महिना पेरूको प्रधानमन्त्रीसमेत भए। उनले त्यहाँको संकटलाई मोचन गर्न प्रधानमन्त्रीको पद स्विकारेका थिए। त्यसपछि पुनः पेरिसमा राजदूत भएका थिए।

२० वर्षको उमेरमै पेरूमा कूटनीतिक करियर सुरु गरेका हाभिएर बेलायत, बोलिभिया, स्विजरल्यान्ड, तत्कालीन सोभियत युनियन, पोल्यान्ड र भेनेजुएलाका लागिसमेत राजदूत भएका थिए। यसका कारण उनी दक्षिण अमेरिकाकै सफल कूटनीतिज्ञ मानिन्छन्। पेरूमा उनी सफल भए पनि राष्ट्रसंघमा भने उनी ‘भव्य सफल’ हुन सकेनन्। जसको कारण उनलाई महासचिवभन्दा पनि ‘सचिव’ को रूपमा हेरियो। करिअर कूटनीतिज्ञ हुँदै राजनीतिमा आएका व्यक्ति भए पनि उनी राष्ट्रसंघमा अब्बल महासचिवको सूचीमा त्यहाँ काम गर्नेहरूले राखेनन्। राष्ट्रसंघमा सामान्यतया महासचिव पदलाई तीन प्रकारले विश्लेषण गरिन्छ। राष्ट्रसंघका महासचिवलाई ‘सचिव’, ‘सामान्य महासचिव’ र ‘असामान्य महासचिव’ का रूपमा हेरिन्छ। ड्याग ह्यामरसोल्ड र बुत्रोस बुत्रोस घालीलाई असाधारण महासचिव भनिन्छ भने अन्यलाई सचिवकै दर्जामा राखिएको छ। अहिलेका महासचिव एन्टेनियो गुटेरस र कोफी अन्नानलाई भने सामान्य महासचिव भनिन्छ। कुन व्यक्तिले कसरी काम गरे भनेर छुट्ट्याउने त्यहींभित्रका कर्मचारीको पछिल्लो अभ्यास हो। यो अनौपचारिक तहका रूपमा गफिने कार्य पनि हो। यो न्युयोर्कको मुख्यालयमा चल्ने भाषा हो।

एक शताब्दी बाँचेर बिदा भए हाभिएर पेरेज डी कोड्ढयार। इराक-इरान युद्ध र एल साल्भाडोरको गृहयुद्ध हुँदा संयुक्त राष्ट्रसंघको महासचिव रहेका उनले रचनात्मक भूमिका निर्वाह गर्न सक्थे तर उनी शक्ति राष्ट्रको छायामा परे। ‘ह्याभिवेट’ महासचिवको भूमिकामा रहेनन्।

राष्ट्रसंघको विकास कार्यक्रमका लागि विश्वबाट पैसा उठाउन सक्ने र द्वन्द्वमा सन्तुलित हुनेलाई सक्रिय महासचिवलाई मात्र वास्तविक महासचिव मान्ने चलन छ। त्योभन्दा माथि सक्रिय रहने र शक्ति मुलुकको स्वार्थमा नपर्नेलाई असामान्य महासचिव भन्ने गरिन्छ। शक्ति मुलुकको सहायक झैं काम गर्नेलाई सचिवको दर्जामा राख्छन्। त्यसैले अधिकांश महासचिवलाई सचिव भनिने गरिन्छ। त्यही कारण कमजोर महासचिवका रूपमा चिनिए हाभिएर। कूटनीतिमा खारिएका भव्य व्यक्तित्व भएर पनि उनी कमजोर महसचिवका रूपमा रहे पनि उनको कार्यकाल सधैं चर्चामा रह्यो। त्यतिबेला विश्व नै दुई ध्रुवमा विभक्त थियो। हुन त बढी सक्रिय हुने महासचिव दोहोरिन पाएका पनि छैनन् र दोहोरिएका पनि दुर्घटनामा परे। हुन त सुरक्षा परिषद्को बैठक हुँदा कुर्द वाल्डेइम नै दोहोरिन खोजेको थिए। तर रसियाको साथसमेत पाएको तान्जानियाका कूटनीतिज्ञको नाम अघि बढेपछि कुर्दले लत्तो छाडे अनि अमेरिकीले तान्जानियाकालाई अस्वीकार गरेको थियो। यसको कारण हाभिएर चुनिएका हुन्।

सुरक्षा परिषद्को अध्यक्षता गरेका युगान्डाका ३१ वर्षीय युवाले उनको नाम बाहिर ल्याउँदा त्यतिबेला कूटनीतिक मामिलामा रिपोर्टिङ गरिरहेका ध्रुवहरि अधिकारी न्युयोर्कमा थिए। पुरानो नदोहोर्‍याउने र तान्जानियाको नहुने भएपछि हाभिएरलाई राष्ट्रसंघबाट नै कुरा गएको उनले सुनाए। हुन त हाभिएर त्यसअघि तत्कालीन महासचिव कुर्दको विशेष दूतका रूपमा अफगानिस्तानमा काम गरिसकेका थिए। पत्रकार अधिकारीले निकै कडा प्रतिस्पर्धा झैं देखिएको अवस्थामा उनी सहज रूपमा महासचिव भएको सुनाउँदै भने, ‘हाभिएर नियुक्त भएको प्रेस ब्रिफिङमा म त्यहीं थिएँ। त्यतिबेला रसिया र अमेरिकाको दुई फरक ब्लक थियो। यसको कारण निर्णय अप्रत्यासित नै हुन्थ्यो।’

सय वर्ष पार गरिसकेका हाभिएरको बुधबार उनकै मुलुकमा निधन भएको हो। उनी महासचिव रहँदा इराक-इरान युद्ध र एल साल्भाडोरको गृहयुद्ध भएका थिए। त्यतिबेला उनले ठूलो भूमिका निर्वाह गर्न सक्थे उनी शक्ति राष्ट्रको छायामा परे। ‘ह्याभिवेट’ महासचिवको भूमिकामा रहेनन् र कमजोर झैं शालीन रूपमै प्रस्तुत भए। हुन त उनकै समयमा सोभियत युनियन टुक्रिएको थियो। यसले गर्दा उनका कतिपय कमजोरी छोपिएको थियो। सन् १९२० को जनवरी १९ मा पेरूको लिमामा जन्मिएका उनको निधन एक सय वर्ष दुई महिनामा बुधबार आफ्नै मुलुकमा भएको हो। सन् १९८२ जनावरीदेखि राष्ट्रसंघमा छानिएका उनले अर्को कार्यकाल पनि सन् १९८७ देखि १९९१ को डिसेम्बरसम्म महासचिव रहे। उनको कार्यकालमा थुप्रै शान्ति सम्झौता र शान्ति स्थापनाका प्रयास भएका थिए तर त्यसलाई एकपक्षीय लवीका रूपमा व्याख्या गरिएको छ। विश्वमा शीतयुद्धको जटिल परिस्थितिमा राष्ट्रसंघको महासचिव भएर पनि ड्याग र बुत्रोस बुत्रोसजस्ता चर्चित हुन सकेनन्।

उनकै समयमा शीतयुद्धको अन्त्य भएको थियो। फकल्यान्डको युद्धपछि राष्ट्रसंघकै पहलमा बेलायत र अर्जेन्टिनाबीच शान्तिवार्ता भएको थियो। राष्ट्रसंघकै पहलमा नामिबिया स्वतन्त्रतामा भूमिका निर्वाह भएको बीबीसीले उल्लेख गर्दै उनलाई एक तहको सफल महासचिव भनेको छ। सन् १९८८ मा मोजाम्बिक र अंगोलामा खटिएका राष्ट्रसंघीय शान्तिसेनालाई नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय हुँदा उनै महासचिव थिए। पूर्वराजदूत डा. निरञ्जन मानसिंह बस्न्यात उनलाई शान्त कूटनीतिज्ञका रूपमा स्मरण गर्छन्। ‘सन् २००४ को अन्त्यतिर मैले राष्ट्रसंघ महासचिव कोड्ढयारलाई फ्रान्समा भेट्दा स्पेनिस भाषामा कुरा गरेको थिएँ अनि सँगै रहेको पेरूमै राजदूत भएर फर्केकी एक राजदूतलाई देखाउँदै भनेको थिएँ। योङ म्यानले स्पेनिसमा मसँग कुरा गरेको छ, तिमी त्यहींको राजदूत भएर पनि अंग्रेजीमा कुरा गर्दैछौ’, बस्न्यातले भने, ‘उनी ठट्यौली शैलीमा गम्भीर कुरा गर्थे। उनी महासचिव हुँदा नेपाल आएका थिए भने लुम्बिनीसमेत पुगेर त्यसको विकासमा राष्ट्रसंघ सहयोगी रहने बताएका थिए।’

नेपाल सुरक्षा परिषद्को अस्थायी सदस्यसमेत दुईपटक (सन् १९६९-७०÷१९८८-८९) भएको थियो। महासचिव ड्यागको दुर्घटना छानबिन पनि नेपालको अध्यक्षतामा भएको थियो। किनकि त्यतिबेला राष्ट्रसंघमा नेपालको प्रभाव थियो। राष्ट्रसंघका महासचिव हाम्रा नेता भेट्न आउँथे भने अहिले हाम्राले भेट्छन्। कूटनीतिमा देखिएको अवस्थाका कारण पछिल्ला महासचिव नेपाल आएनन्। अघिल्ला महासचिव मुनको नेपाल भ्रमण निकै पहलपछि भएको थियो। राष्ट्रसंघको दोस्रो महासचिव ड्याग ह्यामरसोल्ड सन् १९५९ मा नेपाल भ्रमण गरेका थिए। उनको भ्रमणको आठ वर्षपछि उनीपछिका उ थान्तले सन् १९६७ मा नेपाल भ्रमण गरेका थिए।

महासचिव हाभिएर सन् १९८९ को मार्चमा राष्ट्रसंघका महासचिवका हैसियतले नेपालको भ्रमण गरेका थिए। त्यतिबेला उनलाई तत्कालीन प्रधानमन्त्री मरिचमान श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। नेपालमा यतिखेरसम्म चार महासचिवले मात्र भ्रमण गरेका छन्। उनीअघि दुई महासचिव क्रमशः उ थान्त र कुर्तले नेपाल भ्रमण गरिसकेका थिए। हाभिएरपछि नेपाल भ्रमण गर्ने महासचिव बान कि मुन हुन्। यतिखेरका महासचिव पहिल्यै नेपाल आएको भए पनि महासचिव भएपछि आएका छैनन्। हाभिएरको भ्रमणताका नेपालमा पञ्चायत व्यवस्था ढाल्न राजनीतिक दलहरूबीच निकै ठूलो छलफल र पहलकदमी अघि बढ्दै थियो।

उनी सन् १९८९ को मार्चमा नेपाल आएका थिए। उनी फर्केको केही महिनापछि नेपालमा जनआन्दोलन सुरु भएको थियो। नेपाल र राष्ट्रसंघको सम्बन्धबारेमा प्रवचनसमेत दिएका उनले नेपालको कूटनीतिक क्षमताको प्रशंसासमेत गरेका थिए। उनको नेपाल भ्रमण हुँदा नरेन्द्रविक्रम शाह परराष्ट्र सचिव थिए। उनले नेपाली सेना अर्थात् गोर्खाको प्रशंसासमेत त्यो बेलामा गरेको स्मरण अहिले सेवानिवृत्त भएका कूटनीतिज्ञले गर्छन्। उनले नामिबियाको स्वतन्त्रतामा समेत देखिएका उनकै कार्यकालमा (सन् १९८८) मोजाम्बिक र अंगोलामा खटिएका राष्ट्रसंघीय शान्तिसेनालाई नोबेल शान्ति पुरस्कार पनि प्राप्त भएको थियो। सन् २००५ मा हृदयाघातका कारण अस्पताल भर्ना भएपछि उनको सक्रिय जीवनमा ठेस लागेको थियो। हाभिएरप्रति हार्दिक श्रद्धाञ्जलि!

from annapurnapost

Leave a Reply

Your email address will not be published. Required fields are marked *