अमेरिकी राष्ट्रपतिमा जो बाइडेनले सपथ ग्रहण गर्ने बित्तिकै अमेरिका छिर्न पाइने आशामा हजारौंको लस्कर अमेरिकातिर अगाडि बढिसकेको छ । तर बाइडेनको तत्कालिन प्राथमिकतामा नयाँ आउने आप्रवासीहरु नभई अमेरिकाभित्रै रहेका कागजपत्रविहिन आप्रवासीहरु रहेका छन् ।
बाइडेन राष्ट्रपति हुनासाथ अमेरिकाको सिमाक्षेत्र खुल्ला हुनेछैन । बरु बाइडेनले सिमाक्षेत्रमा कडाई गर्न पर्खालको साटो प्रविधि प्रयोग गर्ने योजना बनाएका छन् । सिमा सुरक्षाका लागि बाइडेनले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई सिमाक्षेत्र र पोर्ट अफ इन्ट्रीमा नयाँ सुरक्षा व्यवस्था लागु गर्न प्रविधि र त्यस्तै अन्य संरचनाको प्रस्ताव तयार गर्न आव्हान गर्ने योजना बाइडेनको छ ।
ट्रम्पले बनाउन सुरु गरेको भौतिक पर्खाल भने बाइडेनले एक इन्च थप नगर्ने बताइसेका छन् । तर बनाइसकेको पर्खाल भने बाइडेनले भत्काउने छैनन् । ट्रम्पले अमेरिका र मेक्सिकोको १९५४ माइल लामो सिमाक्षेत्रमा एकहजार माइल पर्खाल लगाउने प्रतिबद्धता जनाएका थिए । जनवरी ८ सम्म सिमाक्षेत्रमा ४५३ माइल पर्खाल लगाइसकिएको छ ।
अधिकांश स्थानमा पुरानौ तारबारका ठाउँमा नयाँ पर्खाल लगाइएको हो भने झण्डै ८० माइल क्षेत्रमा भने पहिले कुनै पनि तारबार थिएन, त्यहाँ नयाँ पर्खाल लगाइएको जनाइएको छ । जनवरी ८ पछिसमेत निर्माणकार्य जारी रहेकाले ट्रम्पको कार्यकालमा झण्डै ५ सय माइल पर्खाल लगाइएको जनाइएको छ ।