अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडेनले कोभिड-१९ विरुद्धको खोप उपलब्ध भएको अवस्थामा नागरिकहरूलाई त्यो लिन बाध्य नबनाइने बताएका छन् । आफ्नो घरबाहेक बन्द कोठा भएका जुनसुकै स्थानमा मास्क लगाउन सेन्टर्स फर डीजिज कन्ट्रोल (सीडीसी) ले पहिलो पटक आग्रह गरेपछि बाइडेनले त्यस्तो बताएका हुन्।
सीडीसीले अमेरिका कोरोना भाइरसको ‘उच्च दर रहने समयमा प्रवेश गरेको’ बताएको छ। शुक्रवार अमेरिकामा २,५०० संक्रमितको मृत्यु र झन्डै २,२५,००० जनामा संक्रमण पुष्टि भएको छ। अहिलेसम्म त्यहाँ १.४३ करोड मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेका छन्। त्यस्तै मृत्यु हुनेको कुल संख्या २,७९,००० छ।
जनवरी २० तारिखमा पदभार ग्रहण गर्न लागेका बाइडेनले उक्त समारोहमा ठूलो भिड नहुने अपेक्षा गरेको बताएका छन्। क्लिनिकल परीक्षणले आफूले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी देखाएको बताउने फाइजर र ९४ प्रतिशत प्रभावकारी रहेको बताउने मोडेर्ना दुवैले खोप वितरणका लागि अनुमति माग गर्दै फुड एन्ड ड्रग एड्मिनिस्ट्रेशनमा आवेदन दिएका छन्।
फाइजरले बनाएको खोपको प्रयोगलाई विश्वमै पहिलो पटक बुधवार बेलायतले अनुमति दिएको थियो।
शुक्रवार अमेरिकी उपराष्ट्रपति माइक पेन्सले अबको एक हप्तामा कोभिड-१९ खोपलाई अनुमिति दिने विषयमा टुङ्गोमा पुग्ने बताएका थिए । तर राष्ट्रपति निर्वाचित बाइडेनले भने कोरोना भाइरस विरुद्धको खोपलाई अनिवार्य बनाउन आवश्यक नपर्ने टिप्पणी गरेका छन्। पीउ रिसर्च सेन्टरका अनुसार ६० प्रतिशत अमेरिकीहरू मात्रै कोरोना भाइरसविरुद्ध खोप लिन तयार देखिन्छन्। उक्त संख्या गत सेप्टेम्बर महिनामा ५१ प्रतिशत थियो।
बाइडेनले खोपबारे व्यक्त गरिएका सम्भावित चिन्ता कम गराउने पहलस्वरूप आफू सार्वजनिक रूपमा खोप लिन तयार रहेको बताएका थिए। अमेरिकाका तीन पूर्वराष्ट्रपति बराक ओबामा, जर्ज डब्ल्यू बुश र बिल क्लिन्टनले पनि आफूहरू सार्वजनिक रूपमा खोप लिन तयार रहेको बताएका छन्। बाइडेनले अमेरिकीहरूलाई १०० दिनसम्म मास्क लगाउन आफ्नो आग्रह दोहोर्याएका छन्।
अमेरिकामा कोभिड १९ विरुद्धको खोपले स्वीकृति पाउनै लाग्दा नवनिर्वाचित राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस सहित पूर्व राष्ट्रपतिहरु बाराक ओबामा, जर्ज डब्लु बुस र विल क्लिन्टनले समेत उक्त खोप लगाउने बताएका छन् ।
बेलायतमा स्वीकृति पाइसकेको खोप अमेरिकामा भने औषधि सम्बन्धी सरकारी नियामक निकाय ‘फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन’को स्वीकृतिको अन्तिम पर्खाइमा छ । तर स्वीकृति पाएपछि उक्त खोप सार्वजनिक रुपकै ग्रहण गर्न तयार रहेको बाइडेनले बताए । खोपबारे आम जनमानसमा भ्रम भएको हुनसक्ने भन्दै आफूले लगाएपछि त्यस्तो भ्रम हट्ने उनको भनाइ छ ।
अमेरिकी पूर्वराष्ट्रपति क्लिन्टन, बुस र ओबामाले पनि टिभीको प्रत्यक्ष प्रसारण भइरहेको एक कार्यक्रममा बताएका थिए । यस्तै उपराष्ट्रपतिमा हालै निर्वाचित कमलाले पनि स्वीकृति पाउना साथ आफूले खोप लगाउने बताएकी थिइन् ।
तर राष्ट्रपति डोनल्ड ट्रम्पले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । जबकि ट्रम्पले कोरोनाभाइरसलाई चीनले फैलाएको भाइरस तथा फेक न्युज मिडियाको प्रचारवाजी मात्रै भएको भन्दै यसबारे आक्रोश पोखेका थिए ।
उनले लकडाउनमा समेत स्कुल खुलाउनु पर्ने भन्दै कोरोनाबारे विवादास्पद अभिव्यक्ति दिएका थिए । यसवाहेक उनले सिएनएन लगायत मिडियाले गरेका तथ्यजाँचको क्रममा कोरोनाभाइरसबारे सयौँ झुट बोल्नुका साथै प्रचारवाजी गरेका थिए ।
बाइडेन र ह्यारिसले बिहीबार सिएनएनको जेक टेपर शोमा संयुक्त रुपमा दिएको अन्तरवार्ताको क्रममा आफूहरु भ्याक्सिन लगाउन तयार रहेको बताएका थिए । बाइडेनले खुला रुपमा खोप लगाउन तयार रहेको प्रतिक्रिया दिँदा ट्रम्पले भने यसबारे प्रतिक्रिया दिएका छैनन् ।
यद्यपि अमेरिकाको एफडीएले अहिलेसम्म कुनै पनि खोपलाई वितरणका लागि स्वीकृति दिएको छैन । बेलायतमा खोप अभियान चलिरहँदा अमेरिकाले खोप वितरणको लागि स्वीकृति दिएको छैन ।