अमेरिकामा भ्याक्सिन वितरणमा नयाँ रेकर्ड कायम भएको छ । २४ घण्टाभित्र ४ मिलियन भन्दा बढीलाई भ्याक्सिन वितरण गरिएको सीडीसीले शनिबार जनाएको छ, एकदिनमा यति धेरैलाई भ्याक्सिन लगाइएको यो पहिलोपटक हो । अहिलेसम्म भने अमेरिकामा १६२ मिलियन डोज भ्याक्सिन वितरण गरिएको छ ।
अप्रिलभरमा २ सय मिलियनलाई भ्याक्सिन लगाउने बाइडेन प्रशासनको योजना रहेकोमा अहिलेसम्म १०४ मिलियनले भ्याक्सिन पाइसकेका छन् । दुबै डोज भ्याक्सिन लगाउनेको संख्या झण्डै ६० मिलियन रहेको छ । अमेरिकामा अहिलेसम्म कुल जनसंख्याको ३१ दशमलव ४ प्रतिशतले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् ।
सीडीसीका अनुशार अहिलेसम्म २०७ मिलियन डोज भ्याक्सिन डेलिभर भइसकेको छ । अमेरिकाको कुल जनसंख्याको १८ बर्षदेखि माथिको ४० प्रतिशत जनसंख्याले भ्याक्सिन लगाइसकेको छ भने ६५ बर्षमाथिका कुल जनसंख्याको ७५ प्रतिशतले भ्याक्सिन लगाइसकेका छन् । अमेरिकामा मोडेर्ना र जोन्सन एण्ड जोन्सनको भ्याक्सिन १८ बर्षभन्दा माथिकालाई र फाइजर भ्याक्सिन १६ बर्षमाथिकालाई लगाउन स्वीकृति छ ।
न्युयोर्कमा ६४ लाखले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् । जुन कुल जनसंख्याको ३२ दशमलव ५ प्रतिशत हो । दुबै डोज लगाउनेहरुपनि झण्डै कुल जनसंख्याको २० प्रतिशत पुगिसकेका छन् । न्युयोर्कसिटीको ब्रोंक्समा ३ लाख ४३ हजारले, क्वीन्समा ७ लाख ९ हजारले, म्यानहटनमा ६ लाख ३२ हजारले र बु्रकलिनमा ६ लाख ४० हजारले कोरोनाबिरुद्धको भ्याक्सिन पाइसकेका छन् ।
अमेरिकाभरमा साप्ताहिक अनुपातमा हेर्दा यो साता औषतमा हरेक दिन ३ मिलियनले कोरोनाबिरुद्धको भ्याक्सिन लगाएका छन् । अमेरिकामा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउन सुरु गरेको १०९ दिन भएको छ । अमेरिकामा गतबर्षदेखि अहिलेसम्म कोरोना संक्रमणबाट ५ लाख ५४ हजारको मृत्यु भइसकेको छ भने ३० मिलियन संक्रमित भइसकेका छन् ।