अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम्ति औपचारिक सत्ता हस्तान्तरण सुरु हुनसक्ने स्वीकार गरेका छन्। उनले त्यसका निम्ति जिम्मेवार सङ्घीय निकाय जनरल सर्भिसेस् एड्मिन्ट्रेशन (जिएसए) लाई गर्नुपर्ने आवश्यक काम गर्न सिफारिस गरेको बताए। जिएसएले पनि बाइडनलाई स्पष्ट विजेताको रूपमा आफूले स्वीकार गरेको जनाएको छ ।
अमेरिकी राज्य मिशिगनमा राष्ट्रपति निर्वाचित जो बाइडनको जित औपचारिक रूपमा प्रमाणित भएसँगै ट्रम्पको प्रयासमा रोकिएको हो । ट्रम्पद्वारा नियुक्त प्रशासक इमिली मर्फीले राष्ट्रपति निर्वाचित बाइडनका निम्ति ६३ लाख डलरको कोष उपलब्ध गराउने बताएकी छन्।
बाइडनको समूहले पनि महामारी र राष्ट्रिय सुरक्षाका मुद्दामा सरकारी अधिकारीहरू सँगको बैठकहरूपछि सत्ता हस्तान्तरण सुरु हुने कुरा वक्तव्य मार्फत् जनाएको छ । उसले मर्फीको पत्रको स्वागत गरेको छ। ट्रम्पलाई धक्का लागेको मिशिगन राज्यको मत परिणाम घोषणालाई अन्तिम रूप दिन त्यहाँको दुईमध्ये एक रिपब्लिकनले दुईजना डेमोक्र्याटलाई साथ दिएका थिए।
वासिंटन: अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले विदेशमन्त्रीको रुपमा सल्लाहकार सहयोगी एन्टोनी ब्लिन्केनलाई नियुक्त गर्ने सम्भावना रहेको अमेरिकी मिडियाले जनाएका छन् ।
बाइडेनका निकटस्थ स्रोतको हवाला दिँदै विभिन्न मिडियाले यस्तो दावी गरेका हुन् । रिपोर्ट अनुसार ५८ वर्षीय ब्लिन्केनलाई विदेशमन्त्रीमा मनोनयन गर्ने सम्भावना रहेको छ । बाराक ओबामा राष्ट्रपति छँदा ब्लिन्केनले उप विदेशमन्त्री तथा राष्ट्रिय उप सुरक्षा सल्लाहकारको भूमिका निर्वाह गरेका थिए । सोही बेलादेखि पनि उनीसँग बाइडेनको निकट सम्बन्ध रहेको बताइन्छ ।
ब्लिन्केन वाहेक बाइडेनले सुशान राइस र सिनेटर क्रिस कून्सलाई पनि आफ्नो प्रशासनिक कालमा जिम्मेवारी दिने तयारी गरेको बुझिन्छ। विदेश मामिलामा विशेष चासो राख्ने र जानकार पनि मानिने बाइडेनले चुनाव जितेपछि पहिलो पटक विदेशमन्त्रीको रुपमा ब्लिन्केनलाई अघि सारेका हुन् । बाइडेन हाल मन्त्रिपरिषद कस्तो बनाउने भन्नेमा नै केन्द्रित रहेको बताइन्छ ।