बन्द रहेका चर्चहरु पुनः खुल्ला गर्न निर्देशन

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्द रहेका चर्चहरु पुनः खुल्ला गर्न निर्देशन दिएका छन्। यससम्वन्धी अन्य आदेशहरु समेत खारेज हुने र यही आदेशलाई मान्न स्पष्ट पार्दै उनले चर्च तथा प्रार्थनास्थलहरु खुल्ला गर्न निर्देशन दिएका हुन्।
चर्चहरुलाई अत्यावश्यक कार्यालय अन्तर्गत मानिने उनले उल्लेख गरेका छन्। यो आदेश देशभरिका सबै स्थानीय सरकारहरुलाई कार्यान्वयन गराउन पनि उनले सूचित गरेका छन्।
‘सरकारले अत्यावश्यक परेका कामहरुलाई रोकतोक गरेको छैन, ठिक समयमा ठिक ठाउँमा ठिक काम गर्न सरकारले स्विकृति दिन्छ, पुजापाठ सम्वन्धी काम पनि अत्यावश्यक काम अन्तर्गत पर्दछन्, त्यसैले चर्चहरु खोल्न दिनुपर्दछ,’ पत्रकार सम्मेलनमा ट्रम्पले भनेका छन्।
राष्ट्रपति ट्रम्पले जवरजस्त मुलुकलाई खुल्ला गर्न खोजेको टिप्पणी धेरैले गरेका छन् । उनले लकडाउन लगाउनका लागि अमेरिका बनेको हैन भन्दै लकडाउन लगाउन अस्विकार गर्दै आएका छन्।

तैपनि आफै बन्द भएका वा स्थानीय प्रशासनले बन्द गराएका व्यापार, व्यवसाय, कार्यालय आदी विस्तारै खोल्ने तर्फ उनले प्रेरित गर्दै आएका छन्।
कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि झण्डै दुई महिनादेखि सुस्ताएको आर्थिक गतिविधिहरुलाई पुनः सुचारु गर्नु पर्नेमा ट्रम्पको जोड छ। लामो समयसम्म बन्द गर्दा सबैतिरको आर्थिक पक्षमा समेत नराम्रोसँग असर पर्ने भएकाले बन्द गरेर मात्रै बस्न नहुने उनको भनाई छ।
राष्ट्रपति ट्रम्पको निर्देशनपछि देशको रोग नियन्त्रण तथा न्युनिकरण केन्द्रले नयाँ निर्देशिका पनि जारी गरेको छ। निर्देशिकामा न्युन संख्यामा उपस्थित हुनु पर्ने, सामाजिक दुरी कायम गर्नु पर्ने, उच्च स्वास्थ्य सतर्कता अपनाउनु पर्ने, मास्क, सेनिटाइजर, पञ्जा आदि प्रयोग गर्नु पर्ने लगायतका सर्तहरु पनि उल्लेख गरिएको छ।

स्वास्थ्य अधिकारीहरुले सामन्यतया सार्वजनिक स्थलहरुमा दश जनाभन्दा बढी मानिसको भिडभाड हुन नदिन पनि सुझाव दिएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीलाई उद्दृत गर्दै राष्ट्रिय समाचार समितिले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *