आजदेखि अमेरिकी भिसा शुल्क बृद्धि भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले जुन १७ देखि बाट लागु हुनेगरी गैर आप्रवासी र विशेष भिसाको शुल्क बढाएको हो ।
भिजिटर भिसा लगायत ईबाहेक सबै गैर आप्रवासी भिसाका लागि १६० डलर शुल्क लाग्दै आएकोमा त्यसलाई बढाएर १८५ डलर बनाइएको छ । भिजिटर भिसा, विद्यार्थी भिसा, ट्रान्जिट भिसा, मिडिया भिसा लगायतका अधिकांश गैर आप्रवासी भिसाका लागि भिसा शुल्क १६० डलर रहेकोमा बृद्धि गरिएको हो । ब्यापारी, लगानीकर्ता लगायतका लागि प्रदान गरिने ई श्रेणीको भिसा शुल्क २०५ डलरबाट बढाएर ३१५ डलर बनाइएको छ ।
त्यस्तै रोजगारमा आधारित कामदार र गैर आप्रवासी भिसाहरुहरुको शुल्क १९० डलर रहदै आएकोमा २०५ डलर बनाइएको छ । एच, एल, ओ, पी, क्यु, आर लगायतका श्रेणीका यस्ता भिसाको शुल्क बढाइएको हो ।
त्यस्तै २ बर्षसम्म नयाँ भिसा नलिनेगरी जे भिसा लिएकाहरुलाई छुट दिनुपरेको खण्डमा छुट आवेदनका लागि १२० डलर लिइदै आएकोका त्यसमा भने शुल्क बढाइएको छैन । निश्चित प्रकारका जे भिसावाहकहरु अमेरिकाबाट फर्केपछि २ बर्ष अमेरिका जान नपाउने प्रावधान रहेकोमा २ बर्षअगाडि जानुपरेमा छुटको आवेदन दिन आवश्यक हुन्छ ।
नेपालीको भिजिटर भिसा आवेदनबाट मात्र अमेरिकी दूतावासलाई गतबर्ष ४७ करोड आम्दानी
नेपालीको भिजिटर भिसा आवेदनबाटमात्र अमेरिकी दूतावासलाई गत आर्थिक बर्ष २०२२ मा झण्डै ४७ करोड नेपाली रुपैया आम्दानी भएको छ । अमेरिकी सरकारको ब्यूरो अफ कन्सुलर अफ कन्सुलर अफेयर्सले जारी गरेको तथ्यांक अनुशार पछिल्लो विनिमयदरले हिसाव गर्दा आम्दानी झण्डै ४७ करोड नेपाली रुपैया आम्दानी भएको देखिएको हो ।
भिजिटर भिसा आवेदकको संख्यालाई हरेकको १६० डलरको दरले हिसाब गर्दा यो रकम निस्किएको हो । जुन झण्डै ३६ लाख अमेरिकी डलर हुन आउँछ । अमेरिकी दूतावास काठमाडौंले कतिपय सेवाका लागि १ डलर बराबर १३५ नेपाली रुपैया समेत लिने गरेको छ । अमेरिकी विदेश मन्त्रालयको तथ्याक हिसाब गर्दा आर्थिक बर्ष २०२२ मा झण्डै २२ हजार ७ सय २९ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिएका थिए ।
आर्थिक बर्ष २०२१ को तुलनामा २०२२ मा अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिने नेपालीहरुको संख्या दोब्बरभन्दा धेरै रहेको थियो । आर्थिक बर्ष २०२१ मा झण्डै ८ हजार ७ सय ६० जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिएका थिए । तीमध्ये अधिकांश पहिले पनि भिसा लिएका र विना अन्तरवार्ता भिसा नविकरणका लागि आवेदन दिएकाहरु थिए ।
कोरोना महामारीका कारण अमेरिकी दूतावास काठमाडौंले नियमित सेवा संचालन गर्न नसकेका कारण पनि आर्थिक बर्ष २०२१ मा कम नेपालीले अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिएका थिए । गतबर्ष नेपालीका भिजिटर भिसाका आवेदनबाट अमेरिकी दूतावासलाई झण्डै १४ लाख अमेरिकी डलर आम्दानी भएको थियो । fromkhasokhas