बजेट अधिवेशनमा संसद छिर्न पिसिआर रिपोर्ट चाहिने

 

राम डंगोल

शुक्रबारबाट शुरु हुने संसदको बजेट अधिवेशनका लागि विहीबार संघीय संसदका सांसदहरूको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ । कोरोना महामारीकाबीच शुरु हुने यो अधिवेशनका लागि विभिन्न जिल्लाबाट सांसदहरु आएपछि सिंगो संसदको सुरक्षाका लागि परीक्षण गरिएको हो ।
संघीय संसद भवनको ल्होत्से हलमा बिहीबार बिहान साढे १० बजे शुरुमा राष्ट्रिय सभाका सांसदहरु र त्यस लगत्तै प्रतिनिधि सभाका सांसदहरुको पालै पालो स्वाव संकलन गरिएको थियो । शुक्रबार शुरु हुने बजेट अधिवेशनमा विभिन्न जिल्लामा रहेका सांसदहरु समेत काठमाडौं आएकाले पीसीआर परीक्षण जरुरी रहेको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बताउनुभयो ।
बजेट अधिवेशनमा विभिन्न जिल्लामा रहेका सांसदहरु समेत काठमाडौं आएकाले पीसीआर परीक्षण जरुरी रहेको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बताउनुभयो ।
उहांले कतिपय सांसदले पीसीआर परीक्षण गर्न नपर्ने भन्दै पन्छिन खोजेको समेत बताउनुभयो ।
यता पीसीआर टेष्टमा सहभागी हुनु भएका गृहमन्त्री रामबहादुर थापाले सिंगों संसदको सुरक्षाका लागि पनि कोरोना परीक्षण आवश्यक रहेको प्रतिक्रिया दिनुभयो ।
नेपाली काँग्रेसका सांसद गगन थापालाई आफनो परीक्षण नतिजालाई लिएर चिन्ता व्यक्त गर्नुभयो ।
सांसद र कर्मचारी समेत गरि पाँच सय जनाको आज पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको हो ।
यता पीसीआर रिपोर्ट नआएसम्म संसद बैठकमा सहभागी हुन नपाउने भएका छन् । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा विहीबार बसेको कार्य व्यवस्था समितिको बैठकले कारोना संक्रमण नभएको रिपोर्ट देखाएपछि मात्र सांसदहरुलाई हलभित्र प्रवेश गर्न दिने निर्णय गरेको हो । कुनै सांसदमा कोरोना संक्रमण पाइएमा हलमा छिर्न पाउने छैनन् । संघीय संसदको बजेट अधिवेशनको पूर्वसन्ध्यामा बिहिबार सांसद र कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । पीसीआर परीक्षण रिपोर्ट शुक्रबार बिहानसम्म आइसक्ने जनाइएको छ । उक्त रिपोर्ट देखाएर मात्र सांसदहरुलाई बैठकमा प्रवेश गर्न दिइने समितिले निर्णय गरेको हो । कोरोना परीक्षण नभएका सांसदहरु भने भोली बस्ने बैठकमा सहभागि हुन पाउने छैनन् । स्वाब संकलन गर्न बाँकी रहेका सांसदको कोरोना परीक्षण शुक्रबार बिहान गरिने छ । यस्तै, समितिले संसद अधिवेशन शुरु भइसकेपछि कुनै पनि सांसदलाई काठमाडौ छाडेर निर्वाचन क्षेत्र जान नदिने निर्णय समेत गरेको छ ।
यसैबीच सरकारको नीति तथा कार्यक्रम जेठ २ गते प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा जेठ २ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । समय अभावका कारण यसपटक संसदमा नीति तथा कार्यक्रम प्रस्तुत हुनअघि अर्थात बैशाख २८ गतेदेखि प्रि–बजेट छलफल हुने भएको छ । विगतमा नीति तथा कार्यक्रमपछि प्रि–बजेट छलफल गर्ने परम्परा थियो । प्रतिनिधिसभामा ३ दिन र राष्ट्रियसभामा २ दिन प्रि–बजेट छलफल गर्ने तयारी छ । यस्तै, सरकारले आर्थिक सर्वेक्षण जेठ १३ गते पेश गर्नेछ । संघीय संसदको बजेट अधिवेशनको लागि संघीय संसद सचिवालयले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर तयारी गरेको छ ।

थप परीक्षणलाई सेना परिचालन

कोरोना संक्रमणको हटस्पट मानिएका उदयपुर, वीरगञ्ज र नेपालगञ्जमा थप व्यक्तिहरुको स्वास्थ्य परीक्षणका लागि नेपाली सेनालाई खटाईएको छ । जसका लागि उदपुरमा ५ सय, नेपालगंज र विरगंजमा १–१ हजार स्थानीयको स्वास्थ्य परिक्षण गर्न सेना परिचालन गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा गर्ने प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जोखिम देखिएका ती जिल्लामा थप परीक्षणलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनालाई खट्टाईएको बताउनुभयो ।
यस्तै हालसम्म १४ हजार ५ सय ९ जनाको पीसीआर र ५४ हजार ९३ मा आरडिटी परीक्षण गरिएको पनि उहाँले जानकारी दिनुभयो । जसमा सुदुरपश्चिम र वाग्मती प्रदेशमा सबै भन्दा बढी आरडिटी परीक्षण गरिएको छ । हाल ७७ जना कोरोना संक्रमितको भने विभिन्न अस्पतालहरुमा उपचार हुदैछ ।
हाल देशभर १ सय ३३ जना आइसोलेसन कक्षमा रहेका छन् भने १७ हजार ३ सय ७२ जना क्वारेन्टाइनमा रहेका छन् । अमेरिका नेपाल मेडिकल फाउन्डेसनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङलाई आइसियु कक्ष स्थापना गर्न ६८ लाख २४ हजार २ सय रुपैयाँ उपलब्ध गराएको पनि प्रवक्ता डा. देवकोटाले जानकारी दिनुभयो ।

काठमाडौँ प्रवेश गर्नेमाथि थप कडाई

लकडाउनको समयमा पनि काठमाडौँ प्रवेश गर्नेहरुमाथि थप निगरानी आवश्यक रहेकोमा जनप्रतिनिधिहरुले जोड दिएका छन् । काठमाडौं क्षेत्र नं १० का सांसद राजेन्द्र केसी, काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्कीलगायतका जनप्रतिनिधिको टोलीले आज नागढुङ्गा नाकाको स्थलगत अवलोकन तथा निरीक्षण गरी नाकामा थप कडाई आवश्यक रहेकोमा जोड दिएका हुन् । उनीहरुले बाहिरबाट काठमाडौं प्रवेश गर्नेहरुका कारण कोरोना सङ्क्रमण फैलिन सक्ने भएकाले मुख्य नाकाबाट हुने असुरक्षित प्रवेशमा कडाइ गर्नु पर्ने बताएका छन । सांसद केसीले नागढुंगाबाट हल्ला भएजस्तो ठूलो संख्यामा मानिसहरु नभित्रिएको भन्दै नाकामा सुरक्षााकर्मी,स्वंयसवेक निरन्तर खटिरहेकोबताउनुभयो।
काठमाडौं महानगरपालिकाका उपमेयर खड्कीले सरकारी सवारी साधनबाट समेत मानिसहरु काठमाडौं आउने गरेको भन्दै यो क्रम रोकिनु पर्ने बताउनुभयो ।
थानकोट प्रहरीका अनुसार हिजो मात्र अनधिकृत रुपमा काठमाडौं प्रवेश गर्न खोज्ने १ सय तीन वटा सवारी साधनलाई फर्काएको छ । लकडाउनका क्रममा पनि लुकीछिपी प्रवेश गर्नेको संख्या बढेपछि काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाकाहरुमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *