काठमाडौँ — मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो । मतदानका लागि मतदाता बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगिसकेका छन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन् । आइतबार बिहान ७ बजे लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी केन्द्रबाट उनले मतदान गरेका हुन् ।
सुरुमा फरक क्षमता भएका दीपेन्द्र गिरीले मत दिएपछि थपलियाले मतदान गरेका हुन् । बेलुका मतदान सकिनेबित्तिकै सबै मतदानकेन्द्रहरूबाट मतपेटिका संकलन गरिने उनले बताए । आइतबार बेलुका ८ बजेतिरबाट मतगणना सुरु हुने बताए । त्यस्तै अबको ८ दिनभित्र प्रत्यक्षतर्फको सबै मतगणना सक्ने बताए ।
मुलुक हाँक्ने प्रतिनिधि छनोट गर्ने प्रदेश तथा प्रतिनिधिसभाको चुनाव आइतबार बिहान ७ बजेदेखि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ ।
देशभर १० हजार ८ सय ९२ मतदानस्थलका २२ हजार २ सय २७ मतदान केन्द्रमा मतदान भइरहेको छ भने १४१ स्थानमा अस्थायी मतदानस्थल तोकिएको छ ।