काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (मंगलबार) प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै छन् । प्रतिनिधि सभाको आज बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । प्रतिनिधि सभा बैठक बिहान ११ बजे बस्दै छ ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई माओवादीसहित नेकपा एमाले, , राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्त पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीको समर्थन छ ।
तीन स्वतन्त्र सांसदसहित सात पार्टीका १६९ जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए । उनीहरूसहित थप केही सांसदले समेत विश्वासको मत दिने सत्ता पक्षको विश्वास छ ।
संविधानको धारा ७६ (२) बमोजिम गत पुस १० गते प्रधानमन्त्री बनेका दाहालले ११ शपथ ग्रहण गरेका थिए । संविधानको धारा ७६ को उपधारा (४) बमोजिम नियुक्त भएको ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
संसद्मा कुल १३८ सदस्यको समर्थन पुगे प्रधानमन्त्रीलाई संसद्बाट विश्वास प्राप्त हुने छ । संसद्मा कूल २७५ जना सांसद छन् ।
प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन सिंगो संसद् खडा हुने विश्वास व्यकत गरेका छन् । सोमबार संसद् बैठकबाट बाहिरिने क्रममा सन्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनेका थिए, ‘मलाई विश्वासको मत दिन सिंगै संसद खडा हुनेछ।’