प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट पुगे

काठमाडौँ — एमसीसीबारे सत्ता गठबन्धनमा सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुगेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न उनी राति आठ बजे त्यहाँ गएका हुन् ।

 

 

बिहीबार बसेको गठबन्धनको बैठकको सुरुमै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबल गरेर संसद्‍मै छलफल गर्न प्रस्ताव गरेका थिए । तर, नेताहरूले त्यसलाई अस्वीकार गरेका थिए । जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले बैठकमा एमसीसीबारे छलफल भएपनि सबैले आ–आफ्नै अडान दोहोर्‍याएको बताए ।

बैठकमा प्रधानमन्त्री देउवाले संसद्‍मा टेबल गर्दैमा पास गर्ने वा फेल गर्नेबारे निर्णयमा पुग्नु नपर्ने भनेका थिए । ‘पहिले संसद्‍मा पेस गरौँ । त्यसपछि यसमाथि छलफल गरेर पास फेलबारे निर्णयमा पुगौँला, भोलि पेस गरौँ, त्यही छलफल गरौँ,’ प्रधानमन्त्री देउवाको प्रस्ताव थियो ।

 

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूले भने अहिलेकै अवस्थामा एमसीसी संसद्‍मा टेबल गर्नै नमिल्ने अडान लिएका थिए । ‘टेबल गरेपछि यथार्थ के हो ? जनतालाई पनि थाहा हुन्छ, त्यसैले यसलाई टेबल गर्नै नमिल्ने केही पनि छैन, सरकारलाई टेबल गर्न दिऔँ,’ बैठकमा नेता भट्टराईले भनेको सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *