काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन् ।
नयाँ मन्त्रीहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्यननमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्यमा भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त भएका छन् ।
तत्कालीन नेकपा र पछि एमालेमा विधिभन्दा व्यक्ति प्रधान भएको भन्दै माधव नेपाल समूहका नेताहरुले निरन्तर प्रश्न उठाए । उक्त प्रश्नमाथि नेतृत्वले सुनुवाइ नगर्दा गत वर्ष एमालेबाट नेपालको समूहले विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेको थियो । गठन भएको १० महिनामै यो पार्टीभित्र पनि विधिप्रधान कि व्यक्ति भन्ने विवाद झांगिएको छ । शुक्रबार भएको मन्त्री परिवर्तन प्रकरणले पार्टीभित्र कलहको बीउ रोपेको छ ।

हुन त, गत असोजमा नियुक्त हुँदा नै ६-६ महिनामा मन्त्री परिवर्तन गर्ने भन्ने पार्टीभित्रको सहमति थियो । तर त्यो सहमतिअनुसार अघि बढ्ने कि राष्ट्रिय आवश्यकताअनुसार मन्त्रीबारे निर्णय गर्ने भन्ने अन्तरविरोधले झण्डै तीन साता नेकपा एस आन्तरिक विवादमा रुमलियो ।जुन विवादको प्रारम्भिक पटाक्षेप आइतबार मन्त्री फेरबदलसँगै भएको छ । तर पार्टीभित्र असन्तुष्टि ग्राफ भने घटेको छैन, उचाई लिँदैछ ।
यो प्रकरणमा सुरुमा मन्त्रीहरुलाई समेत जानकारी नदिई अध्यक्ष लगायतका नेताले फेरबदल हुने सूचना बाहिर ल्याए । जसलाई बहालवाला मन्त्रीहरुले ‘पार्टीले अपराधी’ शैलीमा हटाउन खोजेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसमक्ष हारगुहार गर्न पुगे । एउटा पार्टीका मन्त्रीहरु अर्को पार्टीका नेताहरुसँग आफ्नो पद बचाउनका लागि हारगुहार गर्नु पुग्ने घटनाले नेकपा एसभित्र कुन विधि र पद्धति अवलम्बन भइरहेको छ भन्ने देखायो ।
गत वैशाखमा भएको स्थानीय तह चुनावमा पार्टीको कमजोर प्रदर्शनपछि कतिपयले त्यसको भविष्यमाथि प्रश्न गरिरहेका छन् । यही समयमा मन्त्री परिवर्तनको विषय ठूलो रडाको बन्यो । त्यसले देशभर संगठन विस्तार गर्न नसकेको सो पार्टीलाई कुन आयतनको क्षति पुर्याउँछ आगामी दिनमा देखिनेछ । किनकि अहिले बहिर्गमित मन्त्रीहरुले आफ्नो बहिर्गमनलाई आफूमाथिको अन्याय ठानिरहेका छन् ।
गत असोजमा प्रधानमन्त्री शेरबहादुर देउवाको गठबन्धन सरकारमा सहभागी हुँदै आकांक्षीहरुको व्यवस्थापनलाई ६-६ महिनाको साटफेर गर्ने सुत्र निकालेर समाधान खोजिएको थियो । त्यसको आधारमा विरोध खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री सहरी विकास, प्रेम आले पर्यटन, कृष्णकुमार श्रेष्ठ श्रममन्त्री बनेका थिए । त्यसैगरी खतिवडाले नेतृत्व गरेको स्वास्थ्य मन्त्रालयमा भवानीप्रसाद खापुङले राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेका थिए । राष्ट्रिय आवश्यकता र विशिष्ठ काम जिम्मेवारीको आधारमा मन्त्री हुने र फेरिनेभन्दा पनि पार्टीभित्रको आकांक्षीको व्यवस्थापनका लागि निकालिएको सुत्र आफैंमा आलोचित थियो । यस्तो सुत्रलाई कतिपयले अराजनीतिक पनि ठानेका थिए । आलोपालो मन्त्री बनाउएर भाग पुर्याउन शैली राजनीतिकभन्दा बढी व्यक्ति रिझाउनेतर्फ नै केन्द्रित थियो ।
मन्त्री परिवर्तनको विषयमा निर्णय गर्दा समयलाई पर्याप्त मात्रामा ध्यान दिएको देखिएन । यसले पनि असन्तुष्टि निम्त्यायो । संसद्मा बजेट प्रस्तुत गर्नेबित्तिकै र मन्त्रीहरुले जवाफ समेत नदिएको अवस्थामा परिवर्तन गर्न निर्णय गर्नुमा नेतृत्वको कच्चापन देखिएको थियो । बजेटपछि राजीनामा दिने मन्त्रीहरुको भनाइतर्क संगत थियो । तर पार्टी नेतृत्वको जोडबल तत्कालै हटाउने भन्ने मात्र निरन्तर रह्यो ।
यसबीचमा सरकारमा सहभागी भएका मन्त्रीले पार्टी निर्णयलाई अवज्ञा गर्दै पदावधि बढाउने अनेकौं तिकडम गरे । जसले एकीकृत समाजवादीभित्रको सकंट र सांगठनिक अव्यवस्थालाई छताछुल्ल पार्यो । मन्त्री परिवर्तन नगर्नका लागि नेतृत्वलाई दबाब दिनेदेखि छाड्दा आफूले सिफारिस गरेको व्यक्तिलाई मन्त्री बनाउनेसम्मका मागहरु अघि सारे ।
यसबीचमा मन्त्रीहरुको कोटेश्वरमा पुगेर धम्क्याउने र खुमलटारदेखि बालुवाटारसम्म चक्कर लगाउने क्रम चलिरह्यो । चार मन्त्रीसहित १० जना सांसदहरुले मन्त्रीहरुको सिफारिस गरिएको नाम समावेशी नभएको भन्दै त्यस विषयमा छलफल गर्नका लागि संसदीय दलको बैठकसमेत मागे । तर आफ्नो जोडबल केही नचलेपछि मन्त्रीहरु आइतबार बिदा भए । मन्त्रीहरुका लागि पद छाड्न कति असहज थियो भन्ने बिदाइका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमै सहरी विकासमन्त्री झाँक्रीको भावभङ्गीबाट स्पष्ट भयो ।
यो बीचमा नेकपा एसका केन्द्रीय कमिटीसम्मका बैठक बसे । यो बैठकमा पनि मन्त्री चयनका विषय बढ्ता चर्चा भयो । एकीकृत समाजवादीले अघि सारेको ६-६ महिनामा मन्त्री परिवर्तन गर्ने कदमले पार्टीको आन्तरिक जीवनमा कस्तो प्रभाव पार्ला ? यसका बाछिटा कहाँ पुग्लान् ? आगामी दिनमा नेताहरुले प्रदर्शन गर्ने भूमिकाले निर्धारण गर्छ ।