काठमाडौं- अनधिकृत रुपमा अनलाइनमा प्रवेश गरी मेडिकल सामग्री खरिदमा देखिएको बदमासीबारे प्रकाशित समाचार हटाउन संलग्नमाथि छानबिन र कारबाही गर्न नेपाल पत्रकार महासंघ र अनलाइन पत्रकार संघ नेपाल (ओजान)ले माग गरेको छ।
खरिद प्रकरणमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानमन्त्रीको सचिवालयका २ सल्लाहकार विष्णु रिमालका परिवार र असगर अलीको संलग्नताबारे ‘काठमाडौं प्रेस डटकम’मा प्रकाशित समाचार बुधबार एकाएक साइटबाट हटाइएको थियो।
काठमाण्डु प्रेस डटकमले जारी गरेको विज्ञप्तिमा भनिएअनुसार सो साइटको डेभलपर सिरान टेक्नोलोजी प्रालिले अनधिकृत रूपमा साइटको सिएमएसमा प्रवेश गरेर समाचार हटाउनुको साथै केही समय समाचार प्रकाशित गर्नै नमिल्ने गरी कब्जा गरेको थियो। सिरान प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अली संलग्न एफवन सफ्ट कम्पनीको भगिनी संस्था हो।
स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततासम्बन्धी समाचार प्रकाशित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापाले समाचार हटाउन दबाब दिएको तथा हटाउन नमानेपछि सेवा प्रदायक संस्थालाई दबाब दिएर उक्त समाचार हटाउन लगाएको बताएको छ।
काठमाडौं प्रेस डटकमका प्रधानसम्पादक कसमस विश्वकर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार बुधबार बिहान साइटको डेभलपमेन्ट र डिजाइनको काम गर्दै आएको सिरान टेक्नोलोजी प्रालिको प्यारेन्ट कम्पनी एफवान सफ्टका अध्यक्ष विश्वास ढकाल र सुवास शर्माले फोन गरेर सो समाचार हटाइ दिनुपर्यो, हामीलाई माथिबाट ठूलो दबाब आयो भनेको तर प्रकाशित समाचार हटाउन नमिल्ने बरु समाचारका विषयमा कसैको केही भन्नु छ खण्डन गर्नु छ भने लिखित रुपमा प्रतिक्रिया पठाउन आग्रह गरेको उल्लेख छ।
बिहान साढे १० बजेतर सिरानका प्रज्वल महर्जनले फोन गरेर समाचार हटाउनै पर्यो भनेको र जवाफमा समाचार हटाउन नमिल्ने जवाफ दिएको २ मिनेटपछि समाचार साइटबाट हटाइदिएर दिउँसो २ बजेदेखि ४ बजेसम्म कुनै समाचार नै अपडेट गर्न नमिल्ने बनाइदिएको विश्वकर्माद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
महासघ र संघले प्रकाशित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए खण्डन गर्ने वा त्यसको कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति हुँदाहुँदै राज्यसत्ताको आडमा प्रकाशित समाचार हटाउन लगाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको उल्लेख गरेका छन्। यसका साथै संविधानविपरीत यो काम भएको उल्लेख गर्दै यस्ता कार्यले संविधानको प्रस्तावनामै उल्लेख पूर्ण प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितता र विश्वव्यापी मूल्य मान्यताको समेत उपहास भएको ठहर गरेको छ।
दुवै संस्थाले राज्यको जिम्मेवार निकायबाट भएको प्रेस स्वतन्त्रता विरोधी यस्तो कार्यको कडा शब्दमा भर्त्सना गर्दछ र घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ।
यसैगरी अनलाइन र दैनिक पत्रिकाका २१ जना सम्पादकहरुले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गरी ‘माथिको आदेश’ भन्दै वेब डेभलपर्सका तर्फबाट समाचार हटाउने कामले प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार असगर अली सिरान टेक्नोलोजिज्को प्यारेन्ट कम्पनी एफवान सफ्टका एक साझेदार हुनुले सरकारलाई गम्भीर सन्देहमा पारेको बताएका छन्।
अन्य कम्पनीको डाटामा अनधिकृत रुपमा प्रवेश गर्नु गम्भीर अपराध हो। यसले वेभसाइटको सिएमएस बनाउने र प्राविधिक समस्या समाधान गर्ने मात्र दायित्वको रहेको सिरान र उसको मुल संस्था एफवानसफ्टको विश्वसनीयता शंकामा परेको छ।
एफवान सफ्टले सरकारी तथा बैंकहरूको वेबसाइट र एप्लिकेससँगै ढकाल र असगरको स्वामित्वमा अनलाइन पेमेन्ट गेटवे इसेवासमेत सञ्चालनमा रहेको छ। काठमाडौं प्रेसको डाटामा अनधिकृत रुपमा प्रवेश गर्ने उनीहरुको हर्कतले एफवान सफ्टको सेवाग्राहीको डाटाको सुरक्षा र दुरुपयोगको जोखिम रहेको देखिन्छ।