विशेषश संवाददाता, काठमाडौं, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आठ दिनभित्र आइसक्ने बताएका छन् । मतदान स्थगन भएको ठाउँमा पुन: मतदान गराएर प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको मतपरिणाम जतिसक्दो छिटो दिने गरी तयारी गरिएको उनले बताए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार एउटा क्षेत्रको मतपत्र कम्तीमा चार ठाउँमा गणना हुने व्यवस्था गरिएको छ । प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक, प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकको मतपत्र छुट्टाछुट्टै राखेर एकै पटक गणना गरिने भएको छ । आयोगले प्रत्यक्षको मतगणना पहिला र समानुपातिकको पछि गणना गर्ने तयारी गरेको थियो । आइतबार मतपेटिका कब्जा, आगजनी प्रयासका घटना भएपछि आयोग समानुपातिकको पनि एकै पटक गणना गर्ने निर्णयमा पुगेको हो ।
मतदानस्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी भइरहेको आयोगले जनाएको छ । ‘जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार ७ वटा हिमाली जिल्लाका अति विकट मतदान केन्द्रका मतपेटिका मौसमले साथ दिए नेपाली सेनाको हेलिकोप्टरबाट सोमबार अपराह्न ४ बजेभित्र सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतकोकार्यालयसम्म ढुवानी गर्ने योजना छ,’ थपलियाले भने ।
एउटा सभाको मतपत्र हाल्ने मतपेटिकामा अर्को सभाको मतपेटिकासमेत हालेको गुनासो आएकाले गणनाका क्रममा सदर मतपत्र भए सम्ब्न्धित सभाको मतपत्रमा समावेश गर्न आयोगले निर्देशन दिएको छ ।