प्रदेश सभाको अन्तिम मतपरिणामले सरकार गठनमा सबैतिर एमालेलाई
झड्का हान्ने अवस्था देखिएको छ । एमाले प्रदेश १, मधेस प्रदेश र लुम्बिनी
प्रदेशमा ठूलो दल त बनेको छ तर सरकार बनाउन बहुमत भने पुग्दैन ।
मंसिर ४ मा सम्पन्न निर्वाचन परिणामअनुसार कांग्रेस बागमती, गण्डकी,
कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो दल बन्न सफल भएको छ । कूल ५३ सिट
रहेको सुदूरपश्चिम प्रदेश सभामा उसले प्रत्यक्षतर्फ १२ र समानुपातिकमा ७ गरी
कुल १९ सिट जितेको छ । यस्तै माओवादी केन्द्रले प्रत्यक्षमा ८ र समानुपातिकमा ३ सहित
११ सिट जितेको छ ।
यता, एमालेले प्रत्यक्षमा ३ र समानुपातिकमा ५ गरी ८ सिट जितेको छ । नागरिक
उन्मुक्ति पार्टीले प्रत्यक्षमा ५ र समानुपातिकमा २ गरी ७ सिट जितेको छ ।
एकीकृत समाजवादीलाई प्रत्यक्षमा ३ र समानुपातिकमा १ गरी ४ सिट हात लागेको छ ।
राप्रपाले समानुपातिकमा १ सिट मात्र जितेको छ । सुदूरपश्चिममा एक जना स्वतन्त्रबाट
विजयी भएका छन् । यो प्रदेशमा गठबन्धनको शक्ति निकै बलियो देखिएको छ
।
४० सिट रहेको कर्णाली प्रदेश सभामा कांग्रेस ९ र ५ सहित जम्मा १४ सिट
जित्दै पहिलो दल बनेको छ । ९ र ४ समेत १३ सिट प्राप्त गरी माओवादी केन्द्र
दोस्रो ठूलो दल बनेको छ । एमालेले ५–५ गरेर १० सिट जितेको छ । यस्तै
एकीकृत समाजवादी र राप्रपाले समानुपातिकतर्फ १–१ सिट ल्याएका छन् । १ जना
स्वतन्त्र उम्मेदवारले पनि जितेका छन् । यसरी यो प्रदेशमा पनि गठवन्धन नै
बलियो पोजिसनमा छ ।
मधेश प्रदेशका १०७ सिटमध्ये एमालेले १५ र ८ गरी २३ सिट जितेको छ ।
कांग्रेसले १३ र ९ गरी २२ सिट पाएको छ । माओवादी केन्द्रले ४ र ४ गरी
जम्मा ८ सिट जितेको छ । मधेशमा जसपाले प्रत्यक्षतर्फ ९ र समानुपातिकको ७ सिट
गरी १६ सिट जितेको छ । एकीकृत समाजवादीले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी ७
सिटमा बाजी मारेको छ । यता लोसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा २ गरी कूल ९
सिटमा जित हासिल गरेको छ । जनमत पार्टीले प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी
कूल १३ सिट जितेको छ । राप्रपा नेपाल, संघीय समाजवादी र नागरिक उन्मुक्ति
पार्टीले समानुपातिकतर्फ १÷१ सिट मात्र प्राप्त गरेका छन् । मधेस प्रदेशमा ६ जना
स्वतन्त्र सांसद विजयी भएका छन् । सत्ता गठवन्धनको सिट जोड्दा यहाँ पनि
गठवन्धन नै बलियो अवस्थामा छ ।
यता ९३ सिट रहेको प्रदेश १ मा एमालेले प्रत्यक्षतर्फ २५ र
समानुपातिकतर्फ १५ गरी ४० सिट जितेको छ । कांग्रेसले प्रत्यक्षमा १७ र
समानुपातिकमा १२ गरी २९ सिट जितेर दोस्रो ठूलो दल भएको छ ।
माओवादी केन्द्रले ९ र ४ सहित १३ सिट जितेको छ । एकीकृत समाजवादीले ३ र १
सहित ४ सिट पाएको छ । राप्रपाले प्रत्यक्षमा २ र समानुपातिकमा ४ गरी ६ सिट जितेको
छ । जसपाले समानुपातिकमा १ सिट पाएको छ । गठवन्धनका लागि तुलनात्मक रूपमा
कमजोर रहेको प्रदेश १ मा गठवन्धन इतरको १ सिट मात्र बढी देखिन्छ । यहाँ पनि
तानतुन गरेर सरकार बन्ने संभावना छ ।
यसैगरी ११० सिट रहेको बागमती प्रदेशसभामा कांग्रेसले २५ र १२ गरी ३७
सिट जितेर पहिलो दल बनेको छ । एमाले २७ सिटसहित दोस्रो पोजिसनमा छ ।
माओवादी केन्द्र २१ सिट पाएर तेस्रो ठूलो दल बनेको छ । राप्रपाले १३ सिट
ल्याएको छ । बागमती प्रदेशमा नेमकिपाको २ सिट छ । बागमतीमा पनि
गठबन्धन नै बलियो अवस्थामा छ । ८७ सिट रहेको लुम्बिनी प्रदेश सभामा पनि सत्ता
गठबन्धनकै पल्लाभारी देखाएको छ । एमालेले २९, कांग्रेसले २७,
माओवादीले ९ सिट जितेका छन् ।
जसपाले नागरिक उन्मुक्ति पार्टी र राप्रपाले २–२ सिट जितेका छन् ।
लोसपाले ३, जनमत पार्टीले २, जनमोर्चाले १ सिट सुरक्षित गर्दा यहाँ ३ जना
स्वतन्त्र सांसद निर्वाचित भएका छन् ।
६० सिट रहेको गण्डकी प्रदेशसभामा कांग्रेसले २७, एमालेले २२,
माओवादीले ७ सिट प्राप्त गरेका छन् । प्रत्यक्षतर्फ नेपाल समाजवादी पार्टीले १ र
स्वतन्त्रले १ सिट जितेका छन् । राप्रपाले समानुपातिकबाट २ सिट प्राप्त गरेको छ ।
यसरी गण्डकीमा पनि गठवन्धन निकै बलियो छ । अघिल्लो निर्वाचनको तुलनामा
ठूला दलको समानुपातिक मत घटेको देखिन्छ ।