पिस कोरमार्फत स्थापित दुई देशका जनताबीचको सम्बन्ध

ट्रोय कफरथ

नेपालमा पिस कोर कार्यक्रम सन् १९६२ मा सुरु भएको हो । र, हरेक वर्ष यसै समयमा पिस कोरले आफ्नो स्थापनाको वर्षगाँठ मनाउँछ । सन् १९६२ मा राष्ट्रपति जोन एफ. केनेडीले पिस कोरको स्थापना गरेलगत्तै सोही वर्ष अगस्ट २४ का दिन नेपाल र संयुक्त राज्य अमेरिकाका सरकारहरूले नेपालमा पिस कोर सञ्चालन गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरे ।

त्यसको केही हप्तापछि सेप्टेम्बर १९६२ मा पिस कोर स्वयंसेवकहरूको पहिलो समूह काठमाडौं आइपुग्यो । त्यसमा ७७ शिक्षक र कृषि विशेषज्ञहरू थिए, जो नेपाली समुदायमा बस्ने र सहकार्य गर्ने गरी आएका थिए । सन् १९६२ यता झन्डै ४ हजार अमेरिकी नागरिकले नेपाल आई दुई–दुई वर्षसम्म स्वयंसेवकका रूपमा सेवा पुर्‍याइसकेका छन् । यी स्वयंसेवकहरूले देशभरिका विभिन्न समुदायमा बसोबास गर्दै बहुमुखी क्षेत्रहरूमा काम गरेका छन् ।

यस वर्षगाँठका अवसरमा हामी हाम्रा स्वयंसेवकहरूले आफूलाई आतिथ्य प्रदान गर्ने समुदाय र नेपाली समकक्षीहरूसँग सहकार्य गर्दै हासिल गरेका उपलब्धिहरूलाई स्मरण गर्न चाहन्छौं ।

कोभिड–१९ महामारीका कारण पिस कोर स्वयंसेवकहरू तीन वर्षसम्म नेपाल आउन पाएका थिएनन् । तर यस वर्ष उनीहरू नेपाल फर्केका छन् । त्यस अर्थमा पनि यस वर्षको वर्षगाँठको विशेष महत्त्व छ । २०८० भदौ ७ गते पिस कोर नेपालको ६१ औं वार्षिकोत्सवका दिन २१ स्वयंसेवकले अंग्र्रेजी शिक्षा र खाद्य सुरक्षाका क्षेत्रमा आफ्नो दुई वर्षको सेवा सुरु गर्नुअघि शपथ ग्रहण गरे । उनीहरू अहिले नेपालका दुई प्रदेशका पाँच जिल्लामा बस्छन् र काम गर्छन् ।

शिक्षातर्फका स्वयंसेवकहरू सरकारी विद्यालयहरूमा कार्यरत छन् । उनीहरू कक्षा ४ देखि ७ सम्मका विद्यार्थीहरूलाई अंग्र्रेजी पढाउँछन् । साथै उनीहरूले ती विद्यालयमा अंग्र्रेजी भाषा पढाउने शिक्षकहरूको क्षमता अभिवृद्धिमा पनि काम गर्छन् । फलतः शिक्षकहरूले नयाँ सीप सिक्छन्, जुन उनीहरूले आफ्नो पेसागत जीवनभरि प्रयोग गर्न सक्छन् । खाद्य सुरक्षातर्फका स्वयंसेवकहरूले त्यस्ता ग्रामीण समुदायहरूमा काम गर्छन् जसको अर्थव्यवस्था जमिनसँग जोडिएको छ । कृषि उत्पादनमा सुधार ल्याउन र स्थानीय घरपरिवारले तयार पार्ने भोजनको पौष्टिकता वृद्धि गर्नुका साथै पारिवारिक आय बढाउन उच्च मूल्य आर्जन गर्ने नगदे बाली उत्पादन गर्न यी स्वयंसेवकहरू त्यहाँका कृषक समूहहरूसँग सहकार्य गर्छन् ।

स्वयंसेवकहरूको यो नयाँ समूहले नेपाली भाषा सिक्ने र आफूलाई तोकिएको आतिथेय समुदायमा एकीकृत हुने गौरवपूर्ण परम्परालाई निरन्तरता दिएको छ । स्वयंसेवकहरूले आफूलाई तोकिएको समुदायका सदस्यहरूसँग सहकार्य गर्दै समुदायले प्राथमिकतामा राखेका विकासका चुनौतीहरूमा प्रगति हासिल गर्न सक्छन् भन्ने पिस कोरको विश्वास छ । तथापि, स्वयंसेवकहरूले पूरा गर्ने प्राविधिक कार्य जति महत्त्वपूर्ण छ, उनीहरूले बनाउने जनस्तरको सम्बन्ध पनि त्यति नै महत्त्वपूर्ण छ । पिस कोर स्वयंसेवकहरू नेपाली समुदायमा, नेपाली आतिथेय परिवारहरूसँग बस्छन् । उनीहरू आफ्ना नेपाली परिवारसँग बिहान चिया पिउँछन् र दालभात खान्छन् । हरेक दिन नेपाली भाषा सिक्दै र बोल्दै उनीहरू नेपाली शिक्षक, किसान र विद्यार्थी बालबालिकासँग सहकार्य गर्छन् । उनीहरूबीचको घनिष्ठताले चिरस्थायी सम्बन्ध निर्माण गर्छ— आपसी सम्मान र समझदारीमा आधारित सम्बन्ध ।

र, यी सम्बन्धहरू पुस्तौंपुस्तासम्म रहन्छन् । पिस कोर नेपालको निर्देशकको भूमिकामा रहँदा म अक्सर सबै उमेर र पेसाका नेपालीहरूलाई भेट्छु, जसले मलाई सन् १९६० को दशक वा त्यसपछिका दशकमा पिस कोर स्वयंसेवकसँग बसेको वा काम गरेको वा उनीहरूबाट केही सिकेको अनुभव सुनाउँछन् । उनीहरू त्यस सम्बन्धलाई अनि स्वयंसेवकले उनीहरूको जीवनमा पारेको प्रभावलाई हार्दिकताका साथ सम्झन्छन् । यस्तै एउटा सम्झना मेरी साथी सरिता न्यौपानेले सँगाल्नुभएको छ । मैले सरिताजीलाई धेरै वर्षअघि भेटेको थिएँ, जति बेला हाम्रा छोराछोरी काठमाडौंको एउटै विद्यालयमा पढ्थे । म पिस कोरमा काम गर्छु भन्ने थाहा पाएपछि उहाँले तुरुन्तै मलाई आफू लमजुङ जिल्लाको ग्रामीण क्षेत्रमा हुर्केबढेको र आफ्नो विद्यालयमा पिस कोर स्वयंसेवक शिक्षक भएको सुनाउनुभयो । ती स्वयंसेवकको नाम डेभिड वाकर थियो । सरिताजीका अनुसार, वाकरले उहाँलाई अंग्रेजी भाषा मात्र सिकाउनुभएन, आफ्नो अध्ययनमा अगाडि बढ्नसमेत प्रोत्साहित गर्नुभयो । कालान्तरमा सरिताजीले अमेरिकाबाट विद्यावारिधि गर्नुभयो र पछि युनिसेफका लागि बहुसंख्यक देशमा स्वास्थ्य र पोषणका क्षेत्रमा धेरै वर्ष काम गर्नुभयो । नेपालका वर्तमान परराष्ट्र सचिव भरतराज पौड्याल अर्का उदाहरण हुनुहुन्छ, जो पिस कोरको हालै आयोजित शपथ ग्रहण समारोहमा प्रमुख अतिथिसमेत हुनुहुन्थ्यो । सचिव पौड्यालले आफूलाई पनि युवावस्थामा स्याङ्जा जिल्लामा पिस कोर स्वयंसेवकले पढाएको बताउनुभयो र त्यस अनुभवलाई स्नेहपूर्ण रूपमा सम्झिनुभयो ।

यी अनुभवहरू अद्वितीय नभए पनि पिस कोर स्वयंसेवकहरूले हाम्रा दुई देशका नागरिकहरूबीच चिरस्थायी सम्बन्ध कसरी निर्माण गर्छन् भन्ने कुराका सशक्त उदाहरण हुन् ।

तर यस्ता अनुभवहरू नेपालमा मात्र सुनाइँदैनन् । पिस कोरका स्वयंसेवकहरूले आफ्नो गृह मुलुक अमेरिका फर्कंदा आफूसँगै ‘संसारलाई घरमा पुर्‍याउने’ पिस कोरको महत्त्वपूर्ण लक्ष्य पूरा गर्छन् । नेपालमा काम गरेका पूर्वस्वयंसेवकहरूले आफ्ना अमेरिकी साथीसंगी र परिवारलाई नेपालबारे बताउँछन्, आफ्ना अमेरिकी परिवारका लागि दालभात पकाउँछन् र अमेरिकीहरूका लागि नेपाललाई टाढाको नभई जानपहिचानको थलो बनाउँछन् ।

यी ६ दशकमा अमेरिका र नेपालबीचको मित्रता अटल बनेको छ । त्यसैगरी नेपाली नागरिक र अमेरिकी स्वयंसेवकहरूबीचसमेत बलियो व्यक्तिगत मित्रता स्थापित भएको छ । यस मित्रताका लागि नेपाल सरकारप्रति र सन् १९६२ देखि स्वयंसेवकहरूलाई आतिथ्य प्रदान गर्ने समुदायहरूप्रति पिस कोर आभार व्यक्त गर्न चाहन्छ । हामी हाम्रो साझेदारीलाई निरन्तरता दिन उत्सुक छौं । भावी पुस्ताहरूले पनि आफ्नो समुदायमा काम गर्न आएका पिस कोर स्वयंसेवकहरूका बारेमा आफ्नै अनुभवहरू बाँड्न सकून् भन्ने हाम्रो चाहना छ ।

कफरथ पिस कोर नेपालका निर्देशक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *