परराष्ट्रमन्त्री एनपी साउदले छिट्टै अमेरिका भ्रमण गर्ने भएका छन् । मन्त्री साउदलाई अमेरिकी सरकारले वासिङ्टन डीसीमा स्वागत गर्न लागेको हो । पछिल्लो समय अमेरिकाबाट नेपालमा लगातार भ्रमण भइरहँदा नेपालबाट भने भ्रमण हुन सकेको थिएन । अमेरिकी विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालय दुवैले सहकार्य गरी कात्तिक ७ देखि ९ सम्म वासिङन डीसीको भ्रमण गर्न लागेका हुन्
भ्रमणको तालिका केही दिनमा दुवैतर्फबाट सार्वजनिक हुने स्रोतले जनायो । मन्त्री साउद सन् २०१८ पछि अमेरिका भ्रमण गर्ने नेपालका उच्च पदाधिकारी हुनेछन् । सन् २०१८ मा केपी ओली सरकारका तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यस बेला डिसेम्बर १८ देखि २१ सम्म अमेरिकाको भ्रमण गरेका थिए । त्यस बेला उनले डोनाल्ड ट्रम्प प्रशासनका विदेशमन्त्री माइकल पम्पियोलाई भेटेका थिए । यस पटक साउदले जो बाइडेन प्रशासनका विदेशमन्त्री एन्टोनी ब्लिकेनसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
परराष्ट्रमन्त्री साउदको अमेरिका भ्रमणको तयारीहरू लगभग पूरा हुन लागेको स्रोतले बतायो । ‘नेपालका परराष्ट्रमन्त्रीज्यूले अमेरिकाको भ्रमण गर्ने तय भइसकेको छ । अहिले दुवै देशले मिति टुंगो लगाएर अन्य एजेन्डाका विषयमा कुराकानी गरिरहेका छन् । त्यहीलाई आधार मानेर भ्रमणको गृहकार्य भइरहेको छ,’ कूटनीतिक स्रोतले भन्यो । हमासले गाजा क्षेत्रमा आक्रमण गरेपछि यो भ्रमण सार्ने विषयमा पनि छलफल भएको थियो । तर, दुवै पक्षले यही मितिमा भ्रमण गर्न उपयुक्त हुने भन्दै परराष्ट्रमन्त्री साउदको भ्रमणलाई सारेका छैनन् ।
परराष्ट्रमन्त्री साउद केही समयअघि न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहालसँगै अमेरिका आएका थिए । उक्त समयमा साउदको व्यस्तता नेपाल र अमेरिकाको द्विपक्षीय सम्बन्धभन्दा पनि राष्ट्रसंघको बहुआयामिक कूटनीतिमै केन्द्रित रहेको थियो । तर साउदले त्यस बेला पूर्वविदेशमन्त्री पम्पियोसँग न्युयोर्कमा भेटवार्ता गर्दै द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी गरेका थिए । साथै, प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री साउदले न्युयोर्कमै रहँदा अमेरिकी सहयोग नियोग यूएसएआईडीले न्युयोर्कमा आयोजना गरेको ‘डेमोक्रेसी डेलिभर्स प्रोग्राम’ मा अमेरिकी विदेशमन्त्री ब्लिन्केनको पनि सहभागिता रहेको थियो । उक्त अवसरमा उनीहरूबीच वार्ता भए पनि द्विपक्षीय कुराकानी भएको थिएन ।
परराष्ट्रमन्त्री साउदको अमेरिका भ्रमणका बेलामा भने दुई मुलुकबीचको सम्बन्ध, विकास साझेदारी, नेपालमा कार्यान्वयनमा गएको अमेरिकी ५०० मिलियन डलर अनुदानको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतका विषयमा कुराकानी भएको स्रोतले बतायो । पछिल्लो समय अमेरिकाबाट नेपालमा लगातार रूपमा उच्च भ्रमणहरू भइरहेका छन् । केही दिनअघि मात्र एमसीसीकी एसिल अलब्राइटले नेपालको भ्रमण गरेकी थिइन् । उक्त अवसरमा उनले शीर्ष नेताहरूसहित प्रधानमन्त्री पुष्पकमल दाहालसँग समेत भेटवार्ता गरेकी थिइन् । यसअघि अमेरिकाबाट दाहाल नेतृत्वको सरकार आएपछि राजनीतिक मामिला विदेशमन्त्री भिक्टोरिया नुल्यान्डदेखि यूएसएआईडीकी प्रमुख प्रशासक सामान्था पावरले नेपाल भ्रमण गरिसकेका छन् ।
दाहाल तेस्रो पटक प्रधानमन्त्री भएपछि भारत र चीनको भ्रमण गरिसकेका छन् भने अमेरिकामा राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्न आएका थिए । तर उनले त्यस बेलामा अमेरिकासँग द्विपक्षीय भेटवार्ता गरेनन् । चीन र भारतमा आफैं गएका दाहालले अमेरिकासँगको द्विपक्षीय भ्रमणमा भने परराष्ट्रमन्त्री साउदलाई पठाउन लागेका हुन् ।
अमेरिका र चीनबीचको बढ्दो दूरी, रुस–युक्रेन युद्धले ल्याएको समस्या र विश्वको भूराजनीतिक उतारचढाव नै एसियामा केन्द्रित रहेका बेलामा हुन लागेको परराष्ट्रमन्त्री साउदको भ्रमणलाई महत्त्व दिइएको छ । नेपालका दुई छिमेकी भारत र चीन विश्वमञ्चमा बलियो हुँदै गइरहेको छ । यस अवस्थामा नेपालले विश्वशक्ति अमेरिकासँगको सम्बन्धलाई पनि उत्तिकै महत्त्व दिएको छ । प्रधानमन्त्री दाहालले नेपालले तीनै मुलुकलाई सन्तुलित रूपमा राख्न सफल भएको उल्लेख गरेका थिए ।
प्रधानमन्त्री दाहालको भारत र चीन भ्रमणलाई नजिकबाट हेरेको अमेरिकाले परराष्ट्रमन्त्री साउदको अमेरिका भ्रमणलाई भारत र चीनले पनि नजिकबाट हेर्नेछन् । ‘अक्टोबर अन्तिम साता भ्रमण हुने भए पनि त्यसका एजेन्डाहरूका बारेमा अझै टुंगो लगाउन बाँकी नै छ । एजेन्डाहरूबारे छलफल भइरहेका छन् । तर टुंगो लाग्न बाँकी छ,’ स्रोतले भन्यो, ‘एजेन्डा सम्बन्धमा दुवै देश र दुवै दूतावासले काम गरिरहेका छन् ।’