परदेशमा २२ सय ३८ नेपाली कोरोनाबाट संक्रमित, ४८ को मृत्यु

नेपालमा अहिलेसम्म कोरोना नियन्त्रणमै छ, तर विदेशमा रहेका नेपालीमा संक्रमण देखिने र मृत्यु हुने क्रम बढ्दो छ । शनिबारसम्ममा विभिन्न २२ देशमा रहेका २ हजार २ सय ३८ नेपाली कोरोनाबाट संक्रमित भएका छन् भने ४८ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । सबैभन्दा धेरै अमेरिका र बेलायतमा बस्ने नेपाली संक्रमित भएका छन् ।

एनआरएनएका अध्यक्ष कुमार पन्तका अनुसार बेलायतमा मात्रै ३३ नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै, अमेरिकामा १०, युएईमा दुई तथा आयरल्यान्ड, जापान र टर्कीमा एक/एकजनाको मृत्यु भएको छ ।

अमेरिका र बेलायतमा रहेका एक/एक हजार नेपालीमा संक्रमण देखिएको छ । त्यस्तै, युएईमा ७१, बहराइनमा ४९, पोर्चुगल र आयरल्यान्डमा २२/२२, कुवेतमा २१, अस्ट्रेलियामा ११, स्पेनमा १०, स्विजरल्यान्डमा ५, साउदी अरब, जर्मनी र बेल्जियममा ४/४, मलेसिया र क्यानाडामा ३/३, माल्टा, जापान र हङकङमा २/२, टर्की, म्यानमार र फ्रान्समा १/१ जनामा संक्रमण देखिएको एनआरएनएले जनाएको छ । यो तथ्यांकभन्दा पनि धेरै नेपालीमा संक्रमण भएको अनुमान अध्यक्ष पन्तको छ । ‘विशेषगरी खाडी मुलुकमा धेरै नेपालीमा संक्रमण भएको हुन सक्छ, कतिले लुकाएको समेत अनुमान गरेका छौँ,’ उनले भने ।

खाडी मुलुकमा सबैभन्दा धेरै सेवा क्षेत्रमा काम गर्ने नेपाली कामदार समस्यामा रहेको एनआरएनएले जनाएको छ । विदेशमा रहेका अधिकांश नेपालीले स्वदेश फर्किने इच्छा देखाएको एनआरएनएले गरेको सर्वेक्षणमा देखिएको थियो । २४सै घन्टा सेवा दिने गरी दुई साताअगाडि एनआरएनएले सुरु हेल्पलाइनमा फोन गर्नेमध्येका ७७ प्रतिशतले मातृभूमि फर्किन चाहेको र त्यसका लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेका छन् । रोजगारी र अध्ययनका लागि विदेशमा ५० लाखभन्दा बढी नेपाली रहेको अनुमान छ ।

 

१० को मृत्यु, एक हजारभन्दा धेरै संक्रमित

अमेरिकामा सक्रिय पत्रकार किशोर पन्थीका अनुसार कोरोनाको संक्रमणबाट अमेरिकामा १० नेपालीको मृत्यु भएको छ । न्युयोर्कमा मात्रै एक हजारभन्दा धेरै नेपाली कोरोनाबाट संक्रमित भएका छन् । उपचारपछि उनीहरू क्रमशः घर फर्कने क्रम भने जारी छ ।

धेरै नेपालीमा मार्चको अन्तिम साता कोरोनाको संक्रमण देखिएको हो । अधिकांशको मृत्यु पनि मार्चको अन्तिम र अप्रिलको पहिलो साता भयो । अमेरिकामा कोरोना संक्रमण उत्कर्षमा देखिएको पनि अप्रिलको पहिलो र दोस्रो साता नै हो ।

न्युयोर्कलाई कोरोनाको नयाँ इपिसेन्टर भन्न थालिएको छ । न्यूयोर्कको क्वीन्स इपिसेन्टरभित्रको पनि इपिसेन्टर हो । र, यहीँ नेपालीको बाक्लो बसोबास छ । न्युयोर्कमा मृत्यु हुने सबै नेपाली क्वीन्स क्षेत्रमा बसोबास गर्ने हुन् । न्युयोर्क स्टेट डिपार्टमेन्ट अफ हेल्थका अनुसार क्वीन्समा अहिलेसम्म संक्रमितको संख्या ४६ हजार नाघेको छ । जुन अमेरिकाका अन्य काउन्टी वा सिटीका तुलनामा सबैभन्दा धेरै हो ।

न्युयोर्कमा ५० हजार भन्दा बढी नेपालीको बसोबास रहेको अनुमान छ । त्यसमा पनि अधिकांशको बसोबास कोरोनाबाट सबैभन्दा धेरै प्रभावित ज्याक्सनहाइट, उडसाइड, सन्नीसाइड, एल्महस्र्टलगायतका क्षेत्रमा छ । यी क्षेत्रमा मात्र नेपालीका डेढ दजर्न बढी रेष्टुरेण्ट छन् । यस क्षेत्रलाई नेपालीहरूले मिनी नेपालका रुपमा चिन्छन् ।

सार्वजनिक यातायातको प्रयोग, भींडभाडयुक्त रेष्टुरेण्ट, क्याफे, बार र मनोरञ्जन स्थलहरू तथा विश्वभरका पर्यटकहरूको पहिलो गन्तब्य भएका कारण न्यूयोर्कमा छिटो संक्रमण फैलिएको बताइन्छ ।  न्युयोर्क सिटीभित्रको झण्डै २ प्रतिशत जनसंख्यामा कोरोना संक्रमण रहेको पुष्टी भइसकेको छ ।

तीनप्रकारका नेपाली धेरै प्रभावित

कोरोना महामारीका कारण अमेरिकामा मुख्यतः तीन प्रकारका नेपालीहरू सबैभन्दा धेरै प्रभावित भएका छन् । पहिलो, विद्यार्थी भिसामा रहेका नेपालीहरू । सरकारले दिने कुनै पनि राहत प्राप्त नगर्ने तथा निश्चित समयभन्दा धेरै काम समेत गर्न नपाउने भएका कारण ठुलो संख्यामा उनीहरू मारमा परेका छन् । चर्को आर्थिक अभावको सामना पनि गर्नुपरेको छ ।

दोश्रो, अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरू चर्को मारमा परेका छन् । उनीहरू पनि सरकारबाट पाउने आर्थिक सुविधाबाट वञ्चित छन् । सन् २०१५ भन्दा अगाडि अमेरिका आएका कागजपत्रविहिन नेपालीलाई टीपीएसले समेटेको छ तर त्यसपछि कागजपत्रविहिन हुनेहरू आर्थिक मारमा छन् । कागजपत्रविहिनहरूका लागि केही गैर नाफामुलक संस्था र न्युयोर्क, क्यालिफोर्निया जस्ता उदार राज्यमा स्थानीय सरकारले प्याकेजहरू ल्याएपनि त्यती प्रभावकारी छैनन् ।

तेश्रो, विभिन्न भिसामा आएका तर, कोरोनाका कारण फर्कन नसकेका नेपालीहरू समस्यामा परेका छन् । उनीहरूले एकातिर आर्थिक अभाव झेल्नुपरेको छ भने अर्कातर्फ भिसा थपका लागि सरकारले खास व्यवस्था गरेको छैन । उनीहरूले चार सय ५५ डलर  तिरेर नियमित प्रकृयाबाटै भिसा थप्नुपर्ने वा परिवर्तन गर्नुपर्ने हुन्छ ।

युएईमा कोरोना संक्रमित श्रमिकको उद्धार भएन

दोलखाकी २५ वर्षीया सबिना तामाङ वैदेशिक रोजगारीका लागि युएईको आबुधाबी पुगेको सात वर्ष भयो । उनी आबुधाबीको ट्रयाफुक प्mयासिलिटी म्यानेजमेन्ट कम्पनीमा क्लिनरको काम गर्छिन् । उनीसँगै सिन्धुपाल्चोककी २७ वर्षीया सरिता रसाइली र सोनु तामाङ पनि कम्पनीले दिएको होस्टलको एउटै कोठामा बस्छन्

अप्रिलको सुरुवातमै सबिना बिरामी भइन् । खोकी, ज्वरोसँगै शरीर दुख्ने लक्षण देखिएपछि उनी आबुधाबीस्थित निजी हस्पिटल अल आलियामा परीक्षणका लागि गइन् । त्यसको दुई दिनमा सबिनालाई जस्तै सरितामा पनि लक्षणहरू देखियो । उनी पनि सोही हस्पिटलमा गइन् । परीक्षणको सात दिनपछि ९ अप्रिलमा सबिनाको रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखायो । त्यसलगत्तै १२ अप्रिलमा सरिताको रिपोर्ट पनि पोजेटिभ देखायो । त्यसपछि हस्पिटलले आफ्नो कोठामा सुरक्षित रहन सल्लाह दिँदै थप उपचारका लागि सरकारी हस्पिटलमा रिफर गरिदियो । उनीहरूले सरकारी हस्पिटल खलिफामा फोन गरे । हस्पिटलले लिन आउँछु त भन्यो, तर हालसम्म सम्पर्क नगरेको सरिताले फोनमार्फत नयाँ पत्रिकालाई जानकारी दिइन् ।

तीन वर्षअघि आबुधाबी पुगेकी सरिता रसाइली जताजतै कोरोनाले मानिसहरू मृत्यु भएको खबर सुन्दा आफूलाई चाहिँ नलागोस् भनेर प्रार्थना गर्थिन् । ‘तर, १२ अप्रिलमा अस्पतालमा कोरोना पोजेटिभ देखिएपछि आजसम्म कहिल्यै राम्ररी सुतेको छैन,’ उनले फोनमा भनिन् । सरिताले घरमा आमाबुबालाई कोरोना पोजेटिभ भएको सुनाएकी छैनन्, तर दिदीहरूलाई भने जानकारी दिइन् । उनी भन्छिन्, ‘कमसेकम नेपालमा बिरामी भए पनि आफ्नो मान्छेको माझमा हुने थिएँ । यो बिरानो ठाउँमै मरिन्छ कि भन्ने चिन्ता लाग्छ ।’ काममा आउँदा–जाँदा प्रयोग गर्ने सार्वजनिक सवारीसाधनबाट कोरोना सरेको हुन सक्ने उनीहरूको आंशका छ ।

कोरोना पोजेटिभ देखिएको १७ दिन भइसक्दा पनि उनीहरूको उपचारका लागि कम्पनी, युएई सरकार तथा नेपाल सरकारले चासो देखाएका छैनन् । कोरोना संक्रमण देखिएपछि उनीहरू काममा गएका छैनन् । संक्रमण नदेखिएकी एक साथी पनि उनीहरूसँगै बस्छिन् । उनीहरूले युएईस्थित नेपाली दूतावासमा पनि खबर गरेका थिए । तर, दूतावासले लिन आउँछु भनेर केही खबर नगरेको सरिताले बताइन् ।

दूतावासले समन्वय गर्ने हो : प्रवक्ता दाहाल

दूतावासले संक्रमित नेपाली श्रमिकका लागि समन्वय मात्रै गर्न सक्ने युएईस्थित नेपाली दूतावासकी प्रवक्ता रीता दाहालले बताइन् । उनका अनुसार संक्रमित भएका कोही श्रमिकको सूचना आएमा दूतावासले सम्बन्धित स्थानको प्रहरी, स्वास्थ्य मन्त्रालय र श्रम मन्त्रालयमा खबर गरी समन्वय गर्ने काम गर्छ । तर, युएई सरकारको व्यवस्थाअनुसार संक्रमण देखिएमा सुरुमा आफैं कोठामा सेल्फ आइसोलेसनमा बस्नुपर्छ । आइसोलेसनमा रहँदा पनि गाह्रो भएमा अस्पताल जानुपर्ने उनले बताइन् ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त भन्छन्–सात लाख नेपाली स्वदेश फर्किनुपर्ने हुन सक्छ

नेपालमा कोरोनाको कहर खासै नदेखिए पनि विदेशमा धेरै गैरआवासीय नेपाली यसको चपेटामा छन् । करिब अढाई हजार नेपाली संक्रमित भइसके । कतिपय संक्रमितले सूचना ग‍ोप्य राख्न चाहेकाले संक्रमितको संख्या अझ बढी छ । ४७ जनाको निधन भइसक्यो । अमेरिकामा धेरै संक्रमित छन् भने बेलायतमा धेरैको निधन भयो । स्पेन, इटाली र खाडी देशमा रहेका नेपाली पनि संक्रमित भइरहेका छन् । गैर आवासिय नेपाली संघको ८४ वटा देशका समन्वय समिति यतिवेला राहत र उद्धारमा सक्रिय छन् ।

अमेरिकाको न्युयोर्कमा अस्पतालमा बेड नभएर घरमै उपचार गर्नुपर्ने अवस्था आयो । संघले त्यस्तो परिवारमा औषधि पुर्‍याइदिने, अत्यावश्यक सामग्री जुटाइदिने गरेको छ । संक्रमितको संख्या अत्यधिक नभएका ठाउँमा उपचारमा धेरै समस्या छैन, त्यहाँको नागरिकसरह गैरआवासीय नेपालीले उपचार पाएको जानकारी पाएको छु । अवैध रूपमा रहेकाले पनि उपचार पाएका छन् । संघको स्वास्थ्य समितिले तथ्यांक संकलनका साथै उपचार, राहत, उद्धारमा समन्वय गरिरहेको छ ।

कोरोना महामारीका कारण धेरै नेपालीले रोजगारी गुमाउने अवस्था छ, खासगरी खाडी देशमा । रोजगारी गुमाउनेले स्वदेश फर्कनुपर्नेछ । युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडामा स्थायी बसोवास गरिरहेका फर्किंदैनन् । तर, विद्यार्थीहरू फर्किनुपर्ने हुन सक्छ । विद्यार्थी भए पनि काम गरेर पढ्ने खर्च जुटाउन पर्नेका लागि सजिलो हुनेछैन । करिब सात लाख नेपाली स्वदेश फर्किनुपर्ने हुन सक्छ । माल्टाजस्तो सानो टापुमा सात हजार नेपाली छन्, ती धेरै स्वदेश फर्किनुपर्ने अवस्था छ । पर्यटन व्यवसायमा रहेकाका नेपालीका लागि पनि अबको एक वर्ष चुनौतीपूर्ण छ ।

बेलायतमा पनि हजार नेपाली संक्रमित

बेलायतमा कार्यरत इन्जिनियर रामराज शर्माका अनुसार युरोपमा सबैभन्दा धेरै नेपाली बेलायतमा छन् । कोरोनाबाट संक्रमित र मृत्यु हुनेको संख्या पनि यहाँ धेरै छ । शनिबारसम्म ३३ जनाको मृत्यु भएको छ भने एक हजार नेपालीमा संक्रमण देखिएको छ ।

कोरोना संक्रमणको आशंका लागे बेलायतमा फोनबाट डाक्टरसँग सल्लाह गर्ने गरिन्छ । सास फेर्न गाह्रो नहुने वेलासम्म अस्पताल लगिँदैन, घरमै आइसोलेसनमा बस्नुपर्छ । यस्ता बिरामीको आँकडा सरकारी तथ्यांकमा आउँदैन । त्यसैले बिरामी संख्या कम देखिएको अनुमान गरिएको छ । रेडिङ, प्लम्स्टिड, मेड्स्टोन, आसफोर्डलगायत क्षेत्रमा बसोवास गर्ने नेपाली संक्रमित रहेको, तर सरकारी तथ्यांकमा देखिएका छैनन् ।

संक्रमित व्यक्तिमा श्वास–प्रश्वासको समस्या देखिएपछि मात्रै एम्बुलेन्सले अस्पताल लैजाने गर्छ । त्यसपछिको उपचार भने निकै राम्रो छ । तर, घरमै बस्नुपर्ने हुनाले कतिपयलाई निकै सकस परेको छ । खास गरेर एकल व्यक्ति, बुढाबुढी र विद्यार्थी यस्तो समस्यामा परेका छन् । संक्रमित नेपालीमध्ये अधिकांश ज्येष्ठ नागरिक, लन्डनमा सार्वजानिक यातायात प्रयोग गर्ने, स्वास्थ्य सेवा र केयरहोममा काम गर्नेछन् । मृत्‍यु हुनेहरूमा एकजना ३२ वर्षकी युवती र एकजना ४५ वर्षका पुरुष छन्, बाँकी सबै ५५ वर्षभन्दा माथिका छन् ।

मृतक धेरैजसोको सरकारी तवरबाट नै अन्त्येष्टि गरिएको छ, केहीको मात्रै दुई–तीनजना आफन्तले लास बुझेर अन्तिम संस्कार गरेका छन् । परिवारको एकजनाको मृत्‍यु हुँदा अरू सबै आइसोलेसनमा बस्नुपर्ने नियमले गर्दा दाहसंस्कारमा समस्या देखिएको छ ।

बेलायतमा अहिलेसम्म करिब २० हजारजतिको अस्पतालमै मृत्‍यु भएको छ । त्यस्तै, रेसिडेन्सियल होम र केयरहोममा मृत्‍यु हुनेको संख्या एक हजार पाँच सय रहेको छ ।

from Nayapatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *