पत्रकार महासंघ अध्यक्षमा पोखरेल प्यानल विजयी : कसको मत कति ?

काठमाडौं : नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी भएका छन् । चैत २५ गते भएको मतदानको औपचारिक घोषणा निर्वाचन समितिले शनिबार साँझ गरेको हो ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा विजयी पोखरेलले ६ हजार ९४२ मत पाए । उनकी निकटतम प्रतिद्वन्द्वी निर्मला शर्माले ३ हजार ९१५ मत ल्याएकी छन् । अध्यक्ष पदमा पोखरेल र शर्माको मतअन्तर ३ हजार २७ रहेको छ ।

महासंघ चुनावमा प्रेस युनियन, प्रेस संगठन र माधव नेपाल समूह निकट प्रेस चौतारीसहितले पोखरेल नेतृत्वको गठबन्धनले प्यानल नै जितेको हो ।

अध्यक्ष प्रत्याशी शर्माले लोकतान्त्रिक प्रक्रियाबाट आएको परिणामलाई स्वीकार गर्दै अध्यक्ष निर्वाचित पोखरेललाई बधाई दिएकी छन् । निर्वाचन समितिले औपचारिक घोषणा गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत् शर्माले पोखरेल नेतृत्वको टिमलाई बधाई दिएकी हुन् ।

‘लोकतन्त्रमा चुनावी प्रक्रियामा सहभागी भएपछि परिणामलाई स्वीकार गर्नुपर्छ’, शर्माले भनेकी छन्, ‘म विपुलजीसहित नेपाल पत्रकार महासंघको नेतृत्वमा निर्वाचित सबै साथीहरूलाई बधाई दिन्छु  ।’

महासंघको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीमा भएको हो । चुनावमा १३ हजार बढी मतदाता थिए । उपाध्यक्षमा रमेश विष्ट विजयी भएका छन् । विष्ट ६ हजार ७४१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माधव नेपालले ३ हजार ७८१ मत पाए ।  महिला उपाध्यक्षमा बाला अधिकारी विजयी भएकी छन् । बाला ७ हजार २२६ मत ल्याएर विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी दाना केसीले ३ हजार ५२८ मत ल्याएकी छन् ।

समावेसी उपाध्यक्षमा उदय जीएम निर्वाचित भएका छन् । जिएम ६ हजार ११७ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी अवधेश झाले ३ हजार ५६१ मत ल्याए ।

महासंघको महासचिवमा  रोशन पुरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी बालकृष्ण बस्नेतले ३ हजार ८६० मत पाए । महासचिव पदमा पुरी र बस्नेतको मत अन्तर दुई हजार ३८२ छ ।

महासंघको खुला सचिवमा गोविन्दप्रसाद चौलागाई विजयी बनेका छन् । उनले ६ हजार ७१ मत पाएका छन् । उनका प्रतिस्पर्धी रामकृष्ण ज्ञवालीले ३ हजार २१ मत ल्याए ।

महिला सचिवमा सिर्जना अर्याल निर्वाचित भएकी छन् । अर्यालले ६ हजार ५८० मत ल्याएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी निमा काफ्लेले चार हजार ८९ मत पाएकी छन् । आदिवासी जनजाती सचिवमा नारायण सुन्दर किलम्बु विजयी भएका छन् । उनले ६ हजार तीन सय मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी शाहीमान राईले ३ हजार २८९ मत पाए।

मधेसी सचिवमा दीपेन्द्र चौहान विजयी हुँदा दलित सचिव हेमकर्ण विक बनेका छन् । चौहानले ५ हजार ६९६ मत पाएका छन् भने विकले ५ हजार ९५८ मत पाएका छन् ।  एशोसिएट सचिव पवन आचार्य ५ हजार ७३५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी रामेश्वर कार्कीले २८ सय मत पाएका छन् ।

कोषाध्यक्षमा कलेन्द्र सेजुवाल ५ हजार ६७८ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी कृष्ण गिरीले तीन हजार २७८ मत ल्याएका छन् । लेखनाथ न्यौपाने लेखा समिति संयोजकमा ५ हजार ६८८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी द्ववारिकाप्रसाद काफ्लेले ३ हजार १९१ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *