पकेटमारबाट युरोपभरि नै पर्यटक हैरान, भ्रमण जानुपुर्व पकेटमारबाट जोगिने होकी, कुन देशमा सबैभन्दा बढी ?

ददि सापकोटा

पेरिस — युरोपेली मुलुकमा भ्रमण गर्न आउने पर्यटकहरू पकेटमारबाट हैरानीमा पर्ने गरेका छन् । त्यसो त पकेटमारहरू जुनसुकै देशमा पनि हुन्छन् । तर युरोपमा जति पकेट मारिन्छ, त्यसबारे भने भ्रमणमा आउने कमैलाई थाहा छ । जसका कारण रमाइलो गर्न पुगेका पर्यटक पकेटमारबाट बिजोग हुने गरेका छन् । युरोपका केही देश पकेटमारीका लागि बदनाम नै छन् ।

युरोपमा प्रत्येक वर्ष हजारौं मानिस विदेशको यात्रा गर्दा बहुमूल्य चीजहरू चोरी भएर अत्यन्त हैरानीको सामना गर्ने गरेका छन् । पर्यटकहरू प्रायः नयाँ ठाउँको परिवेश र वस्तुस्थितिका बारेमा कम सचेत हुने र युरोपमा सुरक्षा छ भन्ने बढी आत्मविश्वासले पनि पकेटमारहरूलाई सहज बनाउने गरेको छ । व्यस्त क्षेत्र र लोकप्रिय पर्यटकीय आकर्षण वरपर यात्रुहरू पकेटमारको सिकार हुनबाट बच्न विशेष रूपमा सतर्क हुनुपर्छ ।

कोटजोन डट यूकेमा पकेट मारिने जोखिमका लागि युरोपेली देशहरूको स्तर निर्धारण रिपोर्ट जारी गरिएको छ । कम्पनीले प्रत्येक देशको पकेट मारिने शीर्ष पाँच पर्यटकीय स्थलको संख्या गणना गर्न पर्यटकहरूबाट सुझाव लिएको थियो । त्यसरी प्राप्त सुझावका आधारमा कोटजोनको युरोपेली पिकपकेट इन्डेक्सले तयार पारेको रिपोर्टअनुसार पकेट मारिने उच्च सम्भावना भएको गन्तव्य इटाली हो ।

इटालीको राजधानी रोमको कोलोसियम, ट्रेभी फाउन्टेन र प्यान्थियोन, मिलानको डुओमो दी मिलानो र फ्लोरेन्सको ग्यालेरी डेगली युफिजीका आगन्तुकहरूले २०२२ मा १ हजार ९ सय ६ अनलाइन यात्रा समीक्षाहरूमा सामानहरू चोरी भएको उल्लेख गरेका छन् । यो इटालीको शीर्ष पर्यटक स्थलहरूमा प्रत्येक एक लाख आगन्तुकमा ४ सय ६३ जनाको पकेट मारिएको बराबर हो । यो संख्या कुनै पनि युरोपेली देशको तुलनामा सबैभन्दा बढी हो । दोस्रो स्थानमा रहेको फ्रान्समा प्रत्येक २८ करोडमा ३० लाख आगन्तुकको पकेट मारिने कोटजोनले जनाएको छ । कोटजोनले अनुगमन गरेका सबै पाँच आकर्षण राजधानी पेरिसमा पर्छन् । त्यस्तै नेदरल्यान्ड पकेटमार सूचकांकमा तेस्रो स्थानमा छ । स्पेनको सहर बार्सिलोना छैटौं स्थानमा परेको छ ।

पकेटमारहरूको सबैभन्दा कम बिगबिगी भएको मुलुकमा आयरल्यान्ड छ । कोटजोनका अनुसार यहाँ प्रति १० लाख आगन्तुकमध्ये ३० जनाको मात्रै पकेट मारिन्छ । पोल्यान्ड युरोपको १८ औं पकेट मारिने मुलुकमा छ ।

कोटजोनका संस्थापक र सीईओ ग्रेग विल्सनका अनुसार चोरी कहीँ पनि हुन सक्छ तर पर्यटकीय स्थलहरू अपराधीहरूका लागि केन्द्र हुन् । उनले ठूलो भीड लाग्ने हुँदा पेरिसको आइफल धरहरा र रोमको ट्रेभी फाउन्टेनजस्ता पर्यटकीय केन्द्रहरूमा पकेटमारको जोखिम बढी रहेको बताए ।

‘छुट्टी मनाउनेहरूले सामान भुइँमा राखेर गफ गर्ने, खाना खाने, झोला कतै राख्ने, सामान भुइँमा छोडेर एकले अर्कोको फोटो खिचिदिने, सामान बेच्न आउनेलाई बढी विश्वास गरेर सामान हेर्न लगाउने आदि काममा व्यस्त हुनाले तिनको बढी चोरी हुन्छ । चोरहरूले अपरिचित व्यक्तिलाई बढी पछ्याउने हुँदा अझ बढी सचेत हुनुपर्छ,’ विल्सनको भनाइ छ । पकेटमारीको जोखिमबाट बच्न महँगो गहनाजस्ता बहुमूल्य वस्तु होटलको सेफमा राख्न, पर्सहरू लुगाभित्र बाँधेर राख्न, अपरिचितलाई क्यामरा र फोन दिएर फोटो खिच्न नलगाउन, बहुमूल्य वस्तु देखिने गरी प्रयोग नगर्न पर्यटकलाई केटजोन यूकेले सल्लाह दिएको छ ।

फोन चोरी भएको खण्डमा अधिकारीहरूले ‘फाइन्ड माइन फोन’ अनुप्राग (एप्स) डाउनलोड गरेर त्यसबाट सबै कागजात र यात्राका फोटो लिन सकिने सुझाव पनि दिएका छन् । बिमा दाबी गर्ने हो भने नजिकको प्रहरीबाट अनिवार्य चोरीको रिपोर्ट लिनैपर्ने भन्दै सचेतसमेत गराएका छन् । युरोपका फ्रान्सलगायत कतिपय मुलुकमा पर्यटक प्रहरीको व्यवस्था भए पनि त्यो अझै पर्याप्त नभएको अधिकारीहरूको भनाइ छ ।

from Ekantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *