शारदा खत्री
नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन्। मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले आगामी पाँच बर्षका लागि अधिकारीलाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो।
उर्जामन्त्री वर्षमान पुनले गभर्नरमा अधिकारीलाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिए। अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिले आगामी गभर्नरका लागि सोमबार नै तीन जनाको नाम सिफारिस गरेको थियो। सिफारिसमा बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, अधिकारी र पुर्व सचिव केशव भट्टराई परेका थिए।
अधिकारी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत थिए। उनले प्रधानन्यायाधिस चोलेन्द्र शम्शेर राणासँग सपथ लिएर कार्यभार सम्हाल्ने छन्।
अधिकारी यसअघि पनि गभर्नरमा सिफारिसमा परेका थिए। उनीसँगै डा. चिरञ्जिबी नेपाल र गोपाल काफ्ले गभर्नरमा सिफारिस भएका थिए। तर नेपाललाई सरकारले गभर्नर बनाएको थियो।
नेपाल पाँच बर्षे कार्यकाल पुरा गरेर गत ५ गते अवकाश भइसकेका छन्। सरकारले गभर्नर नियुक्त गर्न सकिरहेको थिएन।
१८ गते अर्थमन्त्री डा. युवराज खतिवडाको समितिमा पुर्व गभर्नरका तर्फबाट विजयनाथ भट्टराई र पूर्व सचिव कृष्णहरि बाँस्कोटालाई राखेर गभर्नर सिफारिस समिति बनाएको थियो।
अधिकारीले ‘बिजिनेस एड्मिनिस्ट्रेसन’ मा सन् १९८९ मा स्नातक गरेका छन् भने भारतबाट १९९३ मा चार्टर्ड एकाउन्टेन्टको डिग्री लिएका छन्।
अधिकारी सन् २०१० को डिसेम्बरमा डेपुटी गभर्नर नियुक्त भएका थिए। त्यहाँ पाँच बर्ष काम गरेर अवकाश भएपछि लगानी बोर्डको कार्यकारी अधिकृतमा नियुक्त भएका थिए।
यसै बीच सरकारले वैशाख ३ गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले दुई हप्तादेखि जारी लकडाउनको अवधि लम्ब्याएको हो ।
सरकारले संघीय संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिससमेत गरेको छ । कोरोनाको जोखिम बढेपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक स्थगित हुँदै आएका छन्।