नेपाली र हिन्दीमा रिलिज ‘प्रेमगीत ३’ कस्तो छ?

नामैले भन्छ- ‘प्रेमगीत ३’ प्रेमकथामा आधारित फिल्म हो।

यसका अघिल्ला दुई शृंखला प्रेमकथामै आधारित थिए। त्यसैले यो शृंखला पनि प्रेम र द्वन्द्वमै आधारित छ भन्नेमा कुनै शंका रहेन।

कौतूहल एउटै थियो- पहिलो शृंखलामा मुस्ताङ र दोस्रोमा नेपालको मुर्गादेखि म्यानमारसम्मको यात्रामा लगेको प्रेमकथाले यसपालि दर्शकलाई कहाँ पुर्‍याउने हो?

नेपाली र हिन्दी दुवै भाषामा रिलिज ‘प्रेमगीत ३’ मा प्रेम त छ तर पहिलेजस्तो रमणीय स्थलको यात्रा छैन। यात्रा त छ तर त्यो यात्राले तपाईंहरूलाई रमणीय स्थलमा होइन, इतिहासतिर लैजान्छ। यो कुनै ऐतिहासिक कालखण्डमा भएको काल्पनिक राज्य खजाकको राजपरिवारको प्रेमकथा हो।

खजाक राज्यमा राजा (शिव श्रेष्ठ) का दुई छोरा छन्- अमन र प्रेम। जेठो छोरा अमन (मनिष राउत) लाई राजगद्दीमा बस्ने उच्च आकांक्षा छ भने कान्छो छोरा प्रेम (प्रदीप खड्का) लाई राजगद्दी होइन, जनताको मनमा बस्नु छ। उनलाई राजगद्दीको कुनै लोभ पनि छैन।

यसैबीच माता (लक्ष्मी बर्देवा) ले जेठो छोराको नभई कान्छो छोराको राजयोग रहेको भविष्यवाणी गरिदिन्छिन्।

खजाक राज्यको दर्गाह दरबारमा दुई युवराज योद्धाका रूपमा हुर्किइरहेका छन्। राजकाज र युद्धकला प्रशिक्षणमा अमनभन्दा प्रेम अगाडि देखिन्छन्। त्यही दरबारमा हरेक वर्ष सात गाउँका मानिस अनाज लिएर आउनुपर्ने हुन्छ। उब्जनी राम्रो नभए पनि उनीहरूले राजाको मागअनुसार भर्पाइ गर्नैपर्ने हुन्छ। यसै क्रममा प्रेमको भेट गीतसँग हुन्छ। उनी पहिलो भेटमै गीततर्फ आकर्षित हुन्छन्।

एकदिन खजाक राज्यभित्र अरू कुनै व्यक्तिले दर्गाह दरबारका नाममा सात गाउँका मान्छेसँग अनाज उठाइरहेको थाहा हुन्छ। यसबारे खोजतलास गर्न प्रेम साधारण व्यक्तिका रूपमा गाउँ जान्छन्। उनको अर्को उद्देश्य गीतले दिएको बाला फिर्ता गर्नु पनि हुन्छ।

खजाक राज्यका राजकुमार र एक साधारण गाउँले युवतीबीचको प्रेम कसरी अगाडि बढ्छ? उनीहरूको प्रेम सफल हुन्छ कि हुँदैन? उनीहरूको प्रेममा के-कस्तो बाधा अड्चन आउँछ?

प्रेमगीतको तेस्रो शृंखला यही विषयवस्तु वरिपरि घुम्छ।

फिल्मको कथा एकदमै सामान्य छ। त्यो सामान्य कथा पनि प्रभावकरी ढंगमा प्रस्तुत हुन सक्थ्यो होला, पटकथा राम्रो भइदिएको भए। तर कमजोर पटकथाले फिल्म झनै कमजोर बनाएको छ।

पटकथा यस्तो छ, जसले दर्शकलाई कुनै नयाँपन महसुस गराउँदैन। फिल्म हेर्दै जाँदा कथा कसरी अगाडि बढ्छ भन्ने दर्शकलाई पहिल्यै अनुमान हुन्छ। फिल्मले कुनै पनि दृश्यमा दर्शकलाई अचम्म पार्दैन, न कौतूहल जगाउँछ।

फिल्ममा बारम्बार सात गाउँको प्रसंग सुनिन्छ। तर यो सात गाउँ संवादमै सीमित छ। एउटा मेला देखाइएको छ, जहाँ सात गाउँका मान्छे भेला हुन्छन् भनिन्छ। तर दृश्यमा यति कम मान्छे देखाइन्छ, ती कुनै पनि कोणबाट सात गाउँका मान्छे जस्तो लाग्दैन। हिमाली भेगमा जनसंख्या नै कम होला भनी मान्ने हो भने पनि भौगालिक रूपमा सात गाउँलाई न्याय गर्ने अनेक उपाय हुन सक्थ्यो। फिल्म यसमा चुकेको छ।

यति मात्र होइन, संवाद सुन्दा खजाक राज्यसँग निकै ठूलो सेना छ जस्तो लाग्छ। तर यहाँ पनि दृश्यले संवादलाई न्याय गर्दैन। पर्दामा सेनाको संख्या निकै कम देखिन्छ।

फिल्ममा एउटा संवाद छ जसमा प्रेम अमनलाई उनको राजगद्दीप्रति मोहले धेरै सेनाले ज्यान गुमाउनुपरेको बताउँछन्। तर पछाडि फर्केर हेर्दा आठ-नौ जना सैनिक मात्र देखिन्छन्।

संवाद यति सामान्य र फिक्का छ, जसले राजपरिवार वरिपरि घुमेको कथालाई नै न्याय गर्दैन। दरबारी भाषामा जस्तो किसिमको शब्दावली प्रयोग हुनुपर्ने अपेक्षा राखिन्छ, त्यस्तो यो फिल्ममा छैन।

हिमाली भेगको अवस्था चित्रण गर्न सामान्य संवाद राखेको लेखकको तर्क हो भने त्यो पनि मिल्दैन। हिमाली राज्य भए पनि राजकुमारहरूको नाम र समयकाल दाँज्दा उनीहरू हिमाली आदिवासी होइनन् भन्ने थाहा हुन्छ।

फिल्ममा तारिफयोग्य काम छायांकन मात्र हो। हिमाली भेगको सुन्दर दृश्य देखाउन छायांकारले निकै मिहिनेत गरेका छन् र उनी त्यसमा सफल पनि छन्।

कलाकारको क्लोज-अप सटमा पनि हिमाली भेगको सुन्दरता झल्किन्छ। तर क्यामराले हिमाली भेगको सुन्दर दृश्य कैद गर्दागर्दै सस्तो भिएफएक्स प्रयोग गरेर नक्कली हिउँ पारिएको छ जसले कहिलेकाहीँ मौलिक सुन्दरता खल्बलिन्छ।

अभिनयको कुरा गर्दा केही समयअगाडि मात्र रिलिज ‘प्रकाश’ मा तारिफ बटुलेका प्रदीप खड्का यो फिल्ममा औसत छन्। उनले खासै तारिफ गर्नुपर्ने काम गरेका छैनन्। यही फिल्मबाट डेब्यू गरेका मनिष राउत र क्रिस्टिना गुरूङको पनि अभिनय पनि सामान्य छ। अन्य कलाकारको पनि औसत छ।

फिल्मले दरबारको कथा देखाउन खोजेको छ तर प्रस्तुतिमा राजसी ठाँट छैन। राजनीतिक षड्यन्त्रभित्र हुर्किरहेको प्रेमकथा देखाउन खोजेको छ तर प्रेममा नयाँपन छैन। दर्शकलाई न प्रेमले प्रेमिल बनाउँछ, न उनीहरूको विछोडमा दु:ख लाग्छ।

फिल्मको इन्डोर सेटिङ पनि निकै कमजोर छ। बाहिरबाट शानदार देखाइएको दरबार भित्रबाट दरबारजस्तै लाग्दैन।

फिल्मको अर्को सुन्दर पक्ष गीत-संगीत हो। ‘हात्ती ढुंगामा’ र ‘हर युग होस्’ दुवै गीत एकदमै कर्णप्रिय छन्। ब्याकग्राउन्डमा सुन्दा पनि गीत उत्तिकै मधुर लाग्छ।

सर्सर्ती हेर्दा यो फिल्ममा सबथोक मिसमास छ तर कमजोर प्रस्तुतिका कारण दर्शकले केही पनि महसुस गर्न सक्दैनन्।

Leave a Reply

Your email address will not be published.