काठमाडौँ – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेको छ । १४औं महाधिवेशनपछि निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा विधानअनुसार सदस्यहरू मनोनीत गरेर सभापति शेरबहादुर देउवाले समिति गठनको तयारी गरेका हुन् । यसका लागि पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति देउवालाई भेटेरै दबाब दिइसकेका छन् । उनीहरूले देउवालाई पार्टीलाई विधानसम्मत् ढंगले अघि बढाउन केन्द्रीय कार्यसम्पादन समिति तत्काल गठन गर्न सुझाव दिएका हुन् ।
केन्द्रीय कार्यसम्पादन समितिमा केन्द्रीय कार्यसमितिका १४ पदाधिकारीहरू स्वतः पदेन सदस्य हुन्छन् । सभापतिले ३१ केन्द्रीय सदस्यहरूलाई कार्यसम्पादन समितिमा अनुमोदन गर्न पाउँछन् । जसमा समावेशी सिद्धान्तलाई अनिवार्य गरिएको छ । कांग्रेसको १४ औं महाधिवेशनपछि कोषाध्यक्ष र पार्टी प्रवक्ता अझै मनोनीत गरिएको छैन । कार्यसम्पादन समितिमा ४५ सदस्य हुने व्यवस्था छ । यो समितिको बैठक हरेक महिना एक पटक अनिवार्य बस्नुपर्ने कांग्रेसको विधानमा उल्लेख छ । विधानले केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा एकपटक अनिवार्य गरेको छ । मंसिर अन्तिम हप्ता सम्पन्न कांग्रेस महाधिवेशनपछि अहिलेसम्म केन्द्रीय कार्यसमितिको बैठक जम्मा दुई पटकमात्र बसेको छ । केन्द्रीय कार्यसम्पादन समिति गठनका लागि भोलि शुक्रबार केन्द्रीय समितिको बैठक बस्ने भनिएको छ । महामन्त्री विश्वप्रकाश शर्माका अनुसार आगामी केन्द्रीय समितिको बैठकमा यस विषयमा छलफल हुनेछ ।
केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार ३ बजे भर्चुअल रुपमा बस्ने कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । समितिले केन्द्रीय कार्यसमितिको एउटा बैठक र अर्को बैठकको बीचमा कार्यसमितिले गर्नुपर्ने काम गर्ने व्यवस्था विधानमा छ । कार्यसम्पादन समितिले पार्टीका विभागको कामको समीक्षा पनि गर्ने छ । त्यस्तै समितिले आफ्नो निर्णय केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरी अनुमोदनका लागि प्रस्तुत गर्नेछ । समय–समयमा संसदीय दलको कार्यसमिति, संसदीय दलका विषय समितिका संयोजकसँग संयुक्त रूपमा विषयगत छलफलको आयोजना गर्ने काम कार्यसम्पादन समितिले गर्ने छ ।
कांग्रेस विधानको धारा २३ मा केन्द्रीय कार्यसम्पादन समितिको गठबारे स्पष्ट उल्लेख गरिएको छ । विधानमा सभापतिले कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्त समेतलाई ध्यानमा राखी केन्द्रीय कार्यसम्पादन समितिका लागि ३१ सदस्य कार्यसमितिको बैठकमा प्रस्ताव पेस गर्ने र उक्त प्रस्तावलाई कार्यसमितिको बहुमतले अनुमोदन गर्नुपर्ने भनिएको छ । संसदीय दलको नेता केन्द्रीय कार्यसम्पादन समितिको पदेन सदस्य हुनेछ । कांग्रेसका सभापति देउवा आफैँ अहिले संसदीय दलको नेता पनि हुन् ।